काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट अलग्गिएकी नेतृ रामकुमारी झाँक्रीले तत्कालिन पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि गरेकाे कारबाहीप्रति कटाक्ष गरेकी छन् ।
झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, “आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र?”
उनले माधव नेपालले १९ वर्ष पार्टी प्रमुखको ज़िम्मेदारी सम्हालेको र बाँकी समय पनि पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने भूमिकामा बसेको स्मरण गराएकी छिन्।
‘तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।’ उनले भनेकी छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताकै दिन ६ जना नेतालाई कारबाही गरेका थिए । जसमा घनश्याम भूसाल, रामकुमारी झाक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला, कृष्ण कुमार श्रेष्ठ (किसान)लाई पार्टी सदस्य पनि नरहने गरी कारबाही गरेका हुन् । उनीहरु एकतामा सामेल थिएनन् ।





























प्रतिक्रिया