काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले भदौ २३ र २४ गतेको घटनाको राज खुल्दै गएको बताएका छन् ।
एमाले वाग्मती प्रदेश कमिटीले प्रदेश अन्तर्गतका १ सय १९ पालिका इञ्चार्जसँग आयोजना गरेको जुम बैठकलाई आइतबार साँझ सम्बोधन गर्दै भट्टराईले सो घटना बाह्य शक्तिको कारण भएको तथ्य खुल्दै गएको बताए । ‘सत्य धेरै समय लुक्दैन, वास्तविकता बाहिर आउँदैछ’, उनले भने ।
भट्टराईले सरकारको व्यवहार र सुरक्षा व्यवस्थाको कारण तोकिएको समयमा निर्वाचन हुन नसक्ने उनले बताए । यस्तो प्रतिकूल र चुनावको वातावरण भइनसकेको अवस्थामा चुनाव हुन्छ भनेर कुरेर बस्नुको अर्थ अहिलेको सरकारको म्याद थप्ने र थप अस्थिरता बढाउने कुरा मात्र हुने उनको धारणा छ । त्यसैले संसद् पुनस्र्थापना गरी संविधान संशोधन गरेर संविधानसम्मत रूपमा सरकार गठन गरेर अघि बढ्नु पर्ने उनको राय छ ।
‘निर्वाचन २०८४ मै हुनुपर्छ भन्ने होइन तर संविधानलाई ठिक बाटोमा ल्याउन संसद् पुनर्स्थापना गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, भट्टराईले भने ।
त्यस्तै, कार्यक्रममा बोल्दै वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले अहिलेको सरकार वैधानिक सरकार नभएको बताए । त्यसैले यो सरकारलाई हटाउन नेकपा एमालेले सडक सङ्घर्ष सुरु गरेको उनले जानकारी दिए । यो सरकारलाई हटाएर संसद् पुनर्स्थापना गरी संसद् र संविधान भित्रैबाट सरकार बन्नु पर्नेमा ढुङ्गेलले जोड दिए ।
ढुङ्गेलले एमालेले गाउँदेखि सहरसम्म योजनाबद्ध विरोध र जनपरिचालनका कार्यक्रम घोषणा गरेको जानकारी दिए । सो अभियानमा सक्रिय सहभागिता जनाउन उनले पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
उनले अहिले राज्यको मुख्य प्रशासनिक भवन, संसद् भवन तथा न्यायपालिकाका साथै राजनीतिक दल र व्यक्तिका घर समेत ध्वस्त बनाइएको बताए । यो कालो इतिहास लेख्ने कामको एमालेले भत्र्सना गर्ने ढुङ्गेलले बताएका छन् ।
उनले अहिलेको सरकार दुईचार जनाले अँध्यारो कोठामा बसेर बनाएको सरकार भएकोे बताए । लाखौँ भोट लाएको प्रधानमन्त्रीलाई हटाएर अँध्यारो कोठा भित्रबाट बनाइएको सरकार हटाउन एमालेले जनपरिचालनको कार्यक्रम ल्याएको ढुङ्गेलले स्पष्ट पारे ।





























प्रतिक्रिया