काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमा सामेल विभिन्न दलहरुमा आवद्ध रहेका विधार्थी संगठनहरुविच सांगठनिक एकताको पहल शुरु भएको छ ।
दलहरुबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले विद्यार्थी संगठनबीचको एकतालाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यसहित कार्यदल गठन गरेको हो।
क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यलय बैठकले एकताको प्रक्रिया लाई अगाडी बढाएको हो । संगठनहरुविचको एकतालाई टुङ्ग्याउन दुईवटा कार्यदल समेत बनाएको छ। एकता समन्वयका लागि उमेश कडेल, मदन ढकाल, दीपा जैसी र कृष्ण सुनार सम्मिलित कार्यदल गठन गरेको हो।
त्यस्तै संगठनात्मक पक्ष सुदृढ गर्न अटल आचार्य, विराज थापा, ममता अधिकारी र अभिमन्यू यादव सम्मिलित अर्को कार्यदल बनाएको क्रान्तिकारीले जनाएको छ ।
बैठकले आगामी कार्यक्रमहरू तय गर्दै कात्तिक २९ गते पेरिसडाँडामा पदाधिकारी बैठक र कात्तिक ३० गते आरआर क्याम्पसमा उपत्यकास्तरीय भेला गर्ने निर्णय समेत गरेको छ।
बैठकमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले भने ,“यो केवल कार्यदल होइन, यो त वाम विद्यार्थी आन्दोलनको नयाँ युगको सुरुवात हो, अब छिट्टै सबै वाम संगठनहरू एकै झण्डामुनि उभिने दिन आउँदैछ।” त्यस्तै उनले बामपन्थी एकता अहिलेको आवश्यकता भएको भन्दै सवैलाई नयाँ नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएर हातेमालो गर्दै अगाडी बढ्न आग्रह गरे ।
यस्तै उनले एकता प्रक्रिया लाई छिट्टै टुंगाउन विभिन्न संगठनहरुसँग छलफल भईरहेको भन्दै उनले सबै बाम एकै ठाम हुनुको विकल्प नभएको जिकिर गरे । सापकोटाले विधार्थीहरुको हकहितका लागि बाम संगठनले मात्र काम गर्ने दावी समेत गरे।
सम्पन्न बैठकमा तत्कालीन पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेत, फ्र्याक्सन इन्चार्ज हिमाल शर्मा र सहइन्चार्ज पञ्चा सिंहको उपस्थिति रहेको थियो।





























प्रतिक्रिया