काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
शुक्रबार आयोगले मंसिर १ देखि ७ गतेभित्र दल दर्ता गरिसक्न सूचना जारी गरेको हो । राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरिएको हो । राष्ट्रिय सभाका रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते रप्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय भएको छ।
दल दर्ताका लागि निवेदन पेश गर्दा संविधानको धारा २७१ को उपधारा (२) बमोजिम शर्तहरू पूरा गरेको हुनुपर्ने आयोगले प्रष्ट पारेको छ।
दल दर्ताका लागि निवेदन दिँदा निवेदनमा देहायका विवरण खुलाउनुपर्नेछ ।
(क) दल सम्बन्धी विवरण : राजनीतिक दलको पूरा र सङ्क्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइट :
(ख) दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला स्तरको समितिका पदाधिकारी तथा सदस्यहरूको सङ्ख्या :
(ग) आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति :
(घ) दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको निर्वाचन भएको छ भने पछिल्लो निर्वाचन भएको मिति :
(ङ)भाग लिन चाहेको निर्वाचनको नाम :
(च) यसभन्दा अघिको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्न उल्लेख गर्ने :
(छ) यसभन्दा अघिको निर्वाचनमा निर्वाचन चिह्न प्राप्त नगरेको दलले वा निर्वाचन चिह्न प्राप्त गरेको भए तापनि अन्य निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेको तीन वटा निर्वाचन चिह्न उल्लेख गर्ने (प्राथमिकता क्रम अनुसार)
(ज) राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा २ भन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।
संलग्न गर्नुपर्ने कागजातहरू :
(क) दलको विधान, नियमावली तथा घोषणा पत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति,
(ख) प्रतिनिधि सभा सदस्य निर्वाचन – २०८२, प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि,
(ग)आ.व. २०८० / २०८१ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, तर,
(१) आर्थिक वर्ष २०८०/०८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनु पूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदन,
(२) आर्थिक वर्ष २०८१/०८२ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन |
(घ) दलको प्रमुख पदाधिकारी बाहेक अधिकार प्राप्त व्यक्तिले दल दर्ताको निवेदन दिएको भए त्यस्तो निवेदन दिन पाउने प्रमुख पदाधिकारीले दिएको अधिकार पत्र ।
(ङ) उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने गरी पदाधिकारी तोकिएको केन्द्रीय समितिको निर्णय सहित तोकिएको ढाँचामा त्यसरी तोकिएको पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सहितको दस्तखत नमुना ।
(च) दल दर्ताका लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरू पूरा गरेको र यी शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न हुनुपर्नेछ ।





























प्रतिक्रिया