काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको धर्मपत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको बताएका छन् ।
मंगलबार मन्त्रालयमा सुरेशको परिवारहरुसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजक लाई सरकारले रोजगारी दिएर थोरै भएपनि सान्तवना दिन खोजेको बताए ।
उनले भने, ‘चैत्र १५ गतेको घटनामा सुरेशले जसरी काम गरिरहेका थिए, त्यो सबैले देखेकै हो । सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयलाई पनि लागेको थियो । त्यसकारण अहिले तत्कालको लागि सुरेशकी धर्मपत्नी सुजनको सन्दर्भमा एउटा रोजगारीको सुरुवात गर्न पाइयो भने थोरै भएपनि सान्तवना दिन सकिन्छ कि भनेर उहाँलाई सञ्चार मन्त्रालय अन्तरगत निकायहरुमा राखिएको हो । सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ ।’
साथै, उनले सुजनले पढ्ने चाहना राख्ने हो भने पनि त्यसको लागि पनि मन्त्रालयले सम्भव भएसम्म छात्रवृत्ति नभए केही छुट भएपनि उपलब्ध गराउने इच्छा रहेको पनि बताए । यस्तै, उनले देशका सच्चा सपुतहरुले बेला बेलामा बलिदानी दिनुपर्ने अवस्था दुखद भएको भन्दै सुरेशप्रति श्रद्धाञ्जली पनि प्रकट गरेका छन् ।
पत्रकारहरु आफ्नो जीवनलाई जोखिममा राखेर देश र जनताको लागि काम गरिरहेको अवस्थामा पत्रकारलाई कसले हेर्ने त भन्ने चुनौतीपूर्ण प्रश्न पनि सबैको सामु रहेको पनि उनको भनाई छ ।





























प्रतिक्रिया