लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सातौं हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्ने छ । पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी सूचना पढेर सुनाउने छन् । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र पनि सभामा सुनाइने छ । त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने क्रम सुरु हुने छ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

थप विधेयकहरु प्रदेशसभामा पेश गर्नका लागि मन्त्रिपरिषद बैठकले स्वीकृति पनि दिइसकेको छ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न मन्त्रिपरिषद बैठकले स्वीकृत दिएको हो ।

त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनीमा गत ३१ भदौमा वर्षे अधिवेशन अन्त्य भएको थियो । एउटा अधिवेशन र अर्को अधिवेशनबीच ६ महिनाभन्दा बढी ग्याप हुन नहुने कानुनी व्यवस्था छ ।

Skip This
Skip This
Logo