महाधिवेशनको मितिमै अल्मलिएको कांग्रेस

महाधिवेशनको मितिमै अल्मलिएको कांग्रेस


काठमाडौं । नेपालको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका केही नेताहरुले विशेष महाधिवेशन गर्न पार्टी नेतृत्वमाथि दवाव बढाएका छन् । विवादको चुरो कुरा निर्वाचन भन्दा अगाडि महाधिवेशन गर्ने वा निर्वाचन पछि भन्ने मै रहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको पक्षले महाधिवेशन नियमित हुनुपर्छ भनेका छन् भने, महामन्त्री गगन थापासहितका नेताहरुले विशेष महाधिवेशनलाई प्राथमिकतामा राखेका छन् । महामनत्री थापाले जेनजी आन्दोलनमा भएको विद्रोहलाई नियाल्दै उनले अब देश परिवर्तन चाहिन्छ भनेर विशेष महाधिवेशनलाई जोड दिएको देखिन्छ । पार्टीको आन्तरिक एकता र आगामी चुनावी तयारीको सन्दर्भमा विशेष महाधिवेशनलाई एक महत्त्वपूर्ण कदम मानिएको छ ।

विशेष महाधिवेशनले पार्टीको आन्तरिक निर्णय प्रक्रियामा पारदर्शिता ल्याउने, नेताहरुको विचारमा सहमति बनाउने र पार्टीको आगामी चुनावी अभियानको खाका तयार गर्न मौका दिने, आगामी चुनावको तयारीका लागि पार्टीको एकता र निर्देशन अत्यन्त महत्त्वपूर्ण भएकाले विशेष महाधिवेशनले त्यसलाई सुनिश्चित गर्न मद्दत पुर्याउने विशेष महाधिवेशन गर्न पर्ने गगन पक्षका नेताहरुले तर्क गर्दै आएका छन् । यसअघि पनि कांग्रेसमा महाधिवेशनबारे चर्चा हुने गरेको थियो तर आजसम्म नियमित महाधिवेशन बाहेक अरु विकल्प भएन । तर अहिले जेनजी आन्देलन पछि कांग्रेसका केहि नेताहरुमा अव परिवर्तन हुनै पर्ने सोच आएको देखिन्छ र विशेष महाधिवेशनमा पार्टीको संगठनात्मक संरचनामा केही सुधार र समायोजन गर्न छलफल हुने अपेक्षा गरेका छन् ।

नेपालको राजनीतिक परिप्रेक्ष्यमा कांग्रेस पार्टीको भूमिका निकै महत्वपूर्ण छ, र अहिलेको समयमा पार्टीका प्रमुख नेताहरु चुनावी तयारीका लागि नियमित महाधिवेशनलाई नै जोड दिएर नयाँ रणनीति निर्माण गर्ने तयारीमा पनि रहेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य महाधिवेशनबारे ठूलो समस्या नरहेको बताउँछन् । कांग्रेसभित्र महाधिवेशनको वहस पेचिलो बनिरहेको छ । तर उनले जेनजी आन्दोलनपछि नयाँ आशा पलाएको बताउँदै नीति, नेता, र कार्यक्रमका हिसाबले पनि नयाँ कांग्रेस आगामी चुनावमा लिएर जान चाहेकाले पनि महाधिवेशन जरुरी रहेको बताए । उनले अहिले नियमित महाधिवेशन गर्न समयका हिसाबले सम्भव नभएका कारण हाल बिशेष महाधिवेशनको तयारी गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

महाधिवेशनका कारण निर्वाचनलाई केहिपनि असर नगर्ने भन्दै विशेष महाधिवेशनको तयारी निर्वाचनकै लागि गरेको समेत उल्लेख गरे ।

तर, विशेष महाधिवेशनका कारण कांग्रेसको आन्तरिक विभाजनलाई थप चर्काउन सक्छ भन्ने डर देउवाका पक्षधर अर्थात नियमित महाधिवेशन चाहनेहरुमा छ । पार्टीमा विभिन्न गुट र प्रवृत्तिहरु सक्रिय छन् र उनीहरुको आन्तरिक असहमतिहरु प्रकट भएका छन् यस्तो अवस्थामा विशेष महाधिवेशनले पार्टीको एकतालाई खतरा पुर्याउन सक्छ भन्ने चिन्ताले विशेष महाधिवेशन गर्न नहुने उनीहरुको भनाई छ ।

त्यस्तै, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य अनिल भोजुले विशेष महाधिवेशनले कुनै पनि हालतमा नयाँ पुस्तालाई समेट्न नसक्ने बताए । उनले जेनजीहरुलाई समेटेर अब १५औं महाधिवेशन हुनुपर्नेमा जोड दिए । उनले नयाँ पुस्ता र पुराना दुवै पुस्ता अहिलेको आवश्यकता रहेको बताए ।

महासमिति सदस्य नविन राई पनि हालको परिवर्तन सँगसँगै पार्टीको अधिवेशन र संगठनात्मक संरचनाका कुराहरूलाई पूर्णता दिनका तत्काल काम गर्नुपर्ने मत राख्छन् । उनले केही नेताहरुले विशेष महाधिवेशन गर्नुपर्छ भनेतापनि नियमित महाधिवेशनमा नै जानपर्ने आफ्नो माग रहेको बताए । उनले नियमित महाधिवेशनका कारण वडादेखि केन्द्रसम्म नयाँ व्यक्तिहरु जोडिने भएकाले जेनजीको भावना समेत जोडिने बताएका छन् ।

यसरी केही नेताहरु भने महाधिवेशनको विकल्पको रूपमा निर्वाचनको तयारीलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइरहेका छन् भने केही नेता महाधिवेशन बिना कुनै कार्य नहुने बताउँछन् ।

यसरी आन्तरिक किचलो बढ्दै जाँदा कांग्रेसले महिना दिनदेखि महाधिवेशनको टुंगो लगाउन सकेको छैन । नेताहरु बारम्बार वार्ता गरिरहेका छन् । यही टुंगो लगाउन नसकेको विषयलाई लिएर यतिबेला कार्यवाहक सभापति पूर्णबहादुर खड्का दबाबमा परेका छन् । यही आन्तरिक किचलोबीच कांग्रेस निर्वाचनमा गए ठूलो क्षति व्यहोर्ने नेताहरु बताउँछन् ।

Logo