विराटनगर। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा विराटनगरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। शनिबार पाञ्चालीस्थित पार्टी कार्यालयमा मतदान भइरहेको अवस्थामा संस्थापन पक्षका नेता परशुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेपछि झडप भएको हो। विवादका कारण केहीबेर मतदान रोकिएको थियो, जुन पछि पुनः सुरु भएको छ ।
एमाले स्रोतका अनुसार, वडा नम्बर १२ का वडाध्यक्ष भानुभक्त पाठकले एक व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद सुरु भएको थियो। संस्थापन पक्षले ’एकै व्यक्तिले पटक–पटक अशक्त वा अपाङ्ग व्यक्तिहरूको नाममा वारिस बनेर फर्जी मतदान गर्न खोजेको’ भन्दै कडा आपत्ति जनाएपछि तनाव चर्किएको थियो। यसै क्रममा विनोद ढकाल समूहका कार्यकर्ताहरूले बस्नेतमाथि हातपात गरेको प्रहरीले जनाएको छ । सार्वजनिक भएको भिडियो फुटेजमा बस्नेत निकै आक्रोशित देखिएका छन्, जहाँ उनले ’तपाईं अभिभावक होइन?’ भन्दै प्रश्न गरेको देखिन्छ। यो घटना एमालेको आन्तरिक गुटबन्दीको परिणामस्वरूप भएको बताइएको छ ।
विराटनगर महानगरमा संस्थापन पक्ष र विनोद ढकाल पक्षबीच लामो समयदेखि प्रतिस्पर्धा चलिरहेको छ। गत फागुनमा मोरङ जिल्ला अधिवेशनमा ढकाल पक्षले संस्थापनलाई धक्का दिएको थियो भने महानगर अधिवेशनमा पनि ढकाल निकट बलराम गिरीको प्यानलले जित हात पारेको थियो। परशुराम बस्नेतलाई विवादित नेताका रूपमा चिनिन्छ, जसले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन्।
प्रहरीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारेको छ भने पार्टीले आन्तरिक छलफलमार्फत विवाद समाधान गर्ने जनाएको छ। एमाले केन्द्रीय समितिले मङ्सिर २७–२९ मा काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोटलाई सर्वसम्मत प्राथमिकता दिने नीति लिए पनि स्थानीय तहमा यस्ता घटनाहरू बढ्दै गएका छन्। यसअघि धनुषा र धरानमा पनि प्रतिनिधि छनोटमा धाँधली र कुटपिटका आरोप लागेका थिए।
नेता बस्नेतले सामाजिक सञ्जालमार्फत घटनाको भत्र्सना गर्दै ’लोकतान्त्रिक प्रक्रियालाई हिंसाले रोक्न नसकिने’ बताएका छन्। पार्टीभित्रैबाट यस घटनाप्रति आलोचना हुँदैछ भने केन्द्रीय नेतृत्वले छानबिनको घोषणा गरेको छ।































प्रतिक्रिया