काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अर्जुनप्रसाद जोशीले युवाहरुको रुपान्तरण र परिवर्तनको चाहनालाई संवोधन सँगै आत्मासाथ गर्दै युवा नेतृत्व र सहभागिता लाई जोड दिने बताएका छन् । केन्द्रविन्दुको विशेष संवादमा नेता जोशीले भने “ म युवाहरु र जेन जेड को भावनाअनुसार अगाडी बढ्ने संकल्प लिएको छु । अव मेरो प्रथामिकतामा युवाहरुनै हुनेछन् । गाउँ, समाज र राष्ट्रका खातिर जस्तोसुकै मुल्य चुकाउन तयार छु, पार्टीको सवै तहमा युवाको सहभागिता र नेतृत्व लाई केन्द्रमा राखेर अगाडी बढ्ने छु।”
राजनीतिबाट अलग रहन नसक्ने भन्दै जोशीले अरुलाई अगाडि ल्याउँदा पनि आफ्नो विकल्पमा जनताले अरु नदेखेको बताए ।
उनले आफू भ्रष्टाचारको कुनै दाग नलागेको स्वच्छ छविको नेता भएको दाबी गर्दै उमेरका कारण मात्रै अयोग्य नहुने तर्क गरे। जोशीले अगाडी भने “जेन जी आन्दोलनले युवा नेतृत्व होइन, सुशासन खोजेको हो , भ्रष्टाचार अन्त्य खोजेको हो, विकास निर्माण खोजेको हो, शान्ती समृद्धी खोजेको हो, रोजगार खोजेको हो, म यसैको लडाईँ बर्षौँदेखि लडिरहेको छु, म कुनै भ्रष्टाचारको मुद्दामा मुछिएको छैन, युवाहरुलाई हरेक तह तप्कामा अग्रसर गराउन लडिरहेको छु लडिरहने छु । ”
१६ वर्षसम्म कांग्रेसको केन्द्रीय सदस्य भइसकेका जोशीले अब केन्द्रीय सदस्य मात्रै नबस्ने र पदाधिकारीमा उम्मेदवारी दिने बताए । “म पहिल्यै सहमहामन्त्रीको आकांक्षी थिएँ, आगामी (१५औँ) महाधिवेशनमा पदाधिकारीमै लड्छु,” उनले प्रष्ट भने।
पार्टी नेतृत्व परिवर्तनको पक्षमा आफू रहेको र नेताहरूको सुझावका आधारमा अघि बढ्ने भन्दै उनले आफू उभिने समूह नै कांग्रेसको संस्थापन पक्ष हुने दाबी समेत गरे। आफ्नो गृहजिल्ला नेतृत्वमा देखिएको विभाजनका कारण कांग्रेसले पछिल्ला निर्वाचनमा हार व्यहोर्नु परेको स्मरण गर्दै जोशीले अब सहमतिको वातावरण बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
साथै सामाजिक सञ्जालमा आफ्नो निरन्तर सक्रियता रहेको र युवा पुस्ताले खोजेजस्तो ‘डेलिभरी’ दिन आफू सक्षम रहेको जोशीको जिकिर छ ।पर्वतको राजनीतिमा अभिभावक भएर अगाडी बढ्न चाहेपनी जनताहरुले संघको निर्वाचनमा आफ्नो विकल्प नदेखेको उनको ठहर छ ।
जिल्लाको समग्र विकासमा आफ्नो योगदानको मुल्याङ्कन जनताले बुझिसकेको उनले बताए । हल्लाको भरमा मत परिवर्तन गरेर निर्वाचनको हार भोगायौँ, हामी चिन्न सकेनछौँ भन्दै सयौँ युवाहरु आत्मालोचना गर्न आँफुसँग आएको जोशीको भनाई छ ।
जोशीले हिजो शनिवार कुस्मामा पत्रकार सम्मेलन गरेर आफ्नो राजनीतिक यात्रा बारेको धारणा सँगै पार्टी र नेतृत्वको बारेमा जानकाारी गराएका थिए ।































प्रतिक्रिया