काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल भक्तपुरस्थित सल्लाघारी चोक शनिबार बिहानैदेखि झकिझकाउ, भव्य र व्यवस्थित देखिन्थ्यो । यद्यपि सल्लाघारी चोक शुक्रबारदेखि नै सजिसजाउ भइसकेको थियो । शनिबार बिहानैदेखि चौरमा एमालेका कार्यकर्ताहरू जम्मा हुन थालिसकेका थिए ।
महाविधेशनका लागि भव्य, सुन्दर र कलात्मक मञ्च तयार गरिएको थियो। लिच्छविकालमा राजा हरिदत्तका पालामा स्थापना गरिएको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरूप राखी मञ्च निर्माण गरिएको थियो। साथै मञ्च बनाउँदा उपत्यकाका विभिन्न र ऐतिहासिक मन्दिर एकै ठाउँ देखाउने गरी सजावट तथा निर्माण गरिएको थियो। महाधिवेशनमा सहभागी भएकाहरूले मञ्च बनाउने शैलीप्रति प्रशंसा गरेका थिए र धेरैले मञ्चलाई पृष्ठभूमि राखेर फोटो खिचाएका थिए ।
मञ्चअगाडि नेता, भिआइपी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूलगायत विभिन्न महत्त्वपूर्ण व्यक्तिका लागि कुर्सी राखिएका थिए। यस्तो कुर्सी २५ हजार रहेको दाबी गरिएको छ। ती सबै कुर्सी भरिभराउ थिए। कार्यक्रममा सहभागी भएका सबै व्यक्तिले नेताले बोलेको भाषण सुनून भन्ने उद्देश्यबाट ठाउँठाउँमा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएका थिए । यस्ता साउन्ड सिस्टम सय भन्दा बढी भएको दाबी गरिएको छ । यस्ता साउन्डबाट चौरको टाढाटाढा बसेकाहरूलाई सुन्न सजिलो भएको थियो । साथै मञ्चका दायाँबायाँ अग्ला दुई वटा एलइडी स्क्रिन राखिएका थिए। त्यस स्क्रिनबाट टाढैबाट पनि नेताहरूलाई हेर्न सकिन्थ्यो। कार्यक्रम सुरु हुनुअघि उपत्यकाका विभिन्न ठाउँबाट नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित ¥याली मञ्चमा पुगेको थियो ।
महाधिवेशन स्थलमा पाँच सयभन्दा बढी स्वयंसेवक ड्रेसकोडमा तथा १० हजार अन्य स्वयं सेवक परिचालन गरिएको आयोजक पक्षको भनाइ छ।
अझै महाधिवेशनको रौनक बढाउनको लागि सांस्कृतिक झाँकी, न्याउली बाजादेखि जङ्कुसम्मले थप उत्साहित बनायो । एमालेको महाधिवेशनमा समावेश गरिएका विभिन्न जातजाति, वेशभूषा एवं कला र संस्कृति झल्कने बाजागाजा, झाँकी एवं नृत्यदेखि नेवार समुदायमा ज्येष्ठ नागरिकले मनाउने जङ्कुसमेतको प्रदर्शनले महाधिवेशनको उद्घाटनसत्रलाई रौनकता थपेको देखिन्थ्यो । भक्तपुरका चारवटै पालिकाबाट आएका बाजागाजासहितको ¥यालीमा धिमेबाजा, बैण्डबाजा, बाँसुरी बाजा, न्याउली बाजासहित नेवार समुदायका महिलाले लगाउने पहिरन हाकुपटासीमा नृत्य, मगर, लामालगायत विभिन्न जातजातिको सांस्कृतिक झल्कोसहितको नृत्य, झाँक्री नृत्यलगायतको प्रदर्शनले उद्घाटनस्थललाई रोमञ्चित बनाएको थियो ।
त्यसैगरी, विभिन्न जिल्लाबाट आएका सहभागी सम्मिलित स्थानीय बाजा तथा सांस्कृतिक नाचसहितको र्याली हेर्नलायक देखिन्थ्यो । सहभागीहरू स्वःस्फूर्त रूपमा नाचगान गर्दै रमाइरहेका देखिन्थे। सल्लाघारीस्थित चौरमा कोही भाषण सुन्नमै मस्त थिए भने केही चौरमा विभिन्न जातजातिको पहिचान बोकेको नृत्यमाण्डलीसँगै मिसिएर नाचगान गर्न तल्लिन देखिन्थे।
कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीया हजुरआमालाई जङ्कुको भेषमा सिँगारिएको रथमा राखी ६ छोरा नातिले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो। यस किसिमको जीवन्त संस्कृति र पहिचानलाई ७७ जिल्लाकै सहभागीले देख्ने, जान्ने मौका पाए। कार्यक्रम सम्पन्न हुने बेलासम्म पनि विभिन्न झाँकी एवं नाच प्रदर्शन भइरहेका थिए भने उद्घाटनसत्रको स्टेजमा समेत कार्यक्रमका बिचबिचमा विभिन्न गीत, नृत्य एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
एमालेको १०औँ महाधिवेशनका क्रममा चितवनमा सडक अवरुद्ध भई जनजीवन अस्तव्यस्त भएको पाठबाट सिकी यसपटक एमाले भक्तपुर जिल्ला कमिटीले सम्बद्ध सुरक्षा निकायका पदाधिकारीसँग समन्वय गरी तयार गरेको रुटमा ¥याली निकाल्दा कुनै पनि सडकमा कुनै पनि बाधाव्यवधान हुन पाएन। उल्लेखनीय जनसहभागिता रहे पनि काठमाडौंबाट भक्तपुर हुँदै काभ्रे जाने मुख्य सडक अरनिको राजमार्ग दिनभर सञ्चालनमा रह्यो ।
धेरैले र्याली अव्यवस्थित भई सडक अवरुद्ध हुने आकलन गरिरहेको अवस्थामा गठ्ठाघर र जगातिबाट आएको र्याली ६ लेन सडकको ‘सर्भिस ट्रयाक’मात्र प्रयोग गरेको देखिन्थ्यो। दिनभर नै सवारीसाधन कुदिरहेका देखिन्थे ।
जुजु धौ बिक्रेतादेखि साना व्यापारी खुसी
एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नेवारी खाजासम्मका परिकारले सहभागीलाई सहज मात्र बनाएन विशेषगरी साना व्यापारी लाभान्वित भए। चौरको पश्चिम कुनामा राखिएको खाजाका केही कक्षमध्ये ‘जय शम्भो जुजुधौ सेन्टर’ले विभिन्न जिल्लाबाट आएका सहभागीलाई देशभर प्रख्यात भक्तपुरको उत्कृष्ट जुजुधौ खुवाउन पाएकामा खुसी व्यक्त गरेको छ । नजिकै मःमः व्यापारीले पनि राम्रो व्यापार देखि बदाम, सुन्तलादेखि विभिन्न परिकार बिक्री राम्रो भई रहेको थियो ।
महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेको थियो । दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागीले एक सय आठ रोपनी क्षेत्रफल भरिएको थियो । महाधिवेशन उद्घाटनका अवसरमा भरिएको चौरमा कतिपय आउने र फर्कनेक्रम जारी रहेकाले सहभागी संख्या एकिन गर्न कठिन भएको थियो ।
महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधन तोकिएको क्षेत्रमा पार्किङ गरिएकाले कुनै समस्या झेल्नु भने परेन । थानकोट हुँदै विभिन्न जिल्लाबाट आएका सवारीसाधनलाई नागरिक उड्डयन प्राधिकरण गठ्ठाघरको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातिस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएकाले सवारी व्यवस्थापनमा सहज भएको थियो ।
महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधि एवं कार्यकर्ता कार्यक्रमस्थलबाट भक्तपुर नगरपालिकाभित्रका सम्पदाको अवलोकन गर्न पुगेका देखिन्थ्यो। कतिपय कार्यक्रम सकिनु अगाडि नै र कतिपय कार्यक्रम सकिएपछि भक्तपुर दरबार स्क्वायरमा रहेको ५५ झ्याले दरबार, पाँचतले मन्दिरलगायतका सम्पदा अवलोकनका लागि त्यसतर्फ लामबद्ध देखिन्थ्यो। महाधिवेशन उद्घाटनस्थलको सरसफाइ र व्यवस्थापन शनिबार साँझदेखि नै सुरु भएको थियो ।
पार्टीको ११औं महाधिवेशन भएकाले समारोह स्थलमा पार्टीका ११ वटा झन्डा राखिएका थिए। उपत्यकाको पश्चिमी जिल्लाबाट आउने एमालेका कार्यकर्ताहरू चढेको बस भक्तपुर सिटिइभिटी अगाडिको चौरमा पार्किङ गरिएको थियो। पूर्वबाट आउने गाडी सल्लाघारी अगाडि जगातीमा राखिएका थिए। गट्ठाघर तथा जगातेमा गाडी पार्किङ गरेपछि एमालेका कार्यकर्ताहरू हिँडेरै महाधिवेशन स्थल पुगेका थिए।
शुक्रबार रातिदेखि नै महाधिवेशन स्थल सल्लाघारी चौरमा विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूको भिड लाग्न सुरु गरिसकेको थियो। महाधिवेशन यही मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ ।































प्रतिक्रिया