काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीका लागि भएको निर्वाचनमा २ जना पूर्वमाओवादी र ३ जना १० बुँदे पक्षधर निर्वाचित भएका छन् । भृकुटीमण्डपमा आज सम्पन्न मतगणनाअनुसार पूर्वमाओवादीबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका रामबहादुर थापा ‘बादल’ र उपमहासचिवमा लेखराज भट्ट विजयी भएका हुन् ।
दुवै पूर्वमाओवादी नेताहरू केपी शर्मा ओली प्यानलबाट उम्मेदवार बनेका थिए । थापाले उपाध्यक्षमा १५१६ मत ल्यए भने उपमहासचिवमा भट्टले १४५२ मत ल्याएर विजयी बनेका हुन् । एमाले र नेकपा (माओवादी)विच एकता भएर बनेको नेकपा विभाजन हुँदा उनी माओवादीमा नगई एमालेमा बसेका थिए ।
निर्वाचित भएपछि भट्टले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘हिजो माओवादी थियौं । एकतामा आएर नेकपा बन्यो । त्यसपछि नेकपा पनि टुट्यो, हामी एमाले भयौं । अहिले हाम्रो मूल प्रवाह एमाले नै हो । म एमाले नै हुँ ।’
त्यस्तै, नेकपा विभाजनको वेला ओलीसँग असन्तुष्ट बनेकाहरु पार्टीभित्र १० बुँदे सहमति गरी पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका ३ जना नेताहरु ११औं महाधिवेशनमा पदाधिकारीमा निर्वाचित भएका छन् । १० बुँदे समझदारी गरी पार्टीमा सक्रिय बनेका गोकर्ण बिष्ट १३६८ मतका साथ उपाध्यक्षमा विजयी भए भने अर्का उपाध्यक्ष रघुजी पन्त १२५८ मतका साथ विजयी भएका हुन् । साथै उपमहासचिवमा योगेश भट्टराई १३४८ मत ल्याएर विजयी भए ।
एमालेभित्र देखिएको आन्तरिक विवादका क्रममा चर्चामा आएको ‘१० बुँदे समूह’ पार्टी फुट हुन नदिन गरिएको १० बुँदे सहमतिलाई समर्थन गर्ने १० जना नेताहरूको समूह हो।
२०७७–०७८ सालमा तत्कालीन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच गहिरो मतभेद बढेपछि एमाले विभाजनको संघारमा पुगेको थियो। यही अवस्थामा पार्टी एकता जोगाउने उद्देश्यसहित २०७८ असारमा दुबै पक्षबीच दस बुँदे सहमति भएको थियो । उक्त सहमतिमा पार्टीलाई २०७५ को जेठ २ गतेको अवस्थाबाट सञ्चालन गर्ने, कारबाही र निष्कासनका निर्णय फिर्ता लिने, संगठनात्मक संरचना पुनःस्थापना गर्ने तथा सहकार्यलाई निरन्तरता दिने विषय समेटिएका थिए ।
यस सहमतिलाई स्वीकार गर्दै पार्टीभित्रै रहने निर्णय गरेका नेताहरूलाई अनौपचारिक रूपमा ‘१० बुँदे समूह’ का रुपमा चिनिएको थियो तर यो महाधिवेशनसम्म आइपुग्दा उक्त समूह छिन्नभिन्न भइसकेको छ ।





























प्रतिक्रिया