एमाले उपमहासचिवमा हारेका विष्णु रिमालले भने- ‘यो न अस्वभाविक हो, न चिन्ताको विषय’

एमाले उपमहासचिवमा हारेका विष्णु रिमालले भने- ‘यो न अस्वभाविक हो, न चिन्ताको विषय’

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिवमा पराजित भएका विष्णु रिमालले चुनावी परिणामलाई स्विकार्दै यसलाई लोकतान्त्रिक प्रतिस्पर्धाको एक स्वभाविक प्रक्रिया भएकाे टिप्पणी गरेका छन् ।

आफ्नो पराजयपछि प्रतिक्रिया दिँदै रिमालले सामाजिक सञ्जालमार्फत यो परिणाम चिन्ताको विषय नभएको बताएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित प्यानलमा रहे पनि उपमहासचिव पदमा निर्वाचित हुन नसकेका रिमालले परिणामलाई ‘स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा’ को संज्ञा दिएका छन् ।

उनले भनेका छन्, ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्।’

उनले ११ औँ महाधिवेशन गरिमा र उत्साहका साथ सम्पन्न भएको उल्लेख गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाएको दाबी गरेका छन् ।

अध्यक्षको टीम र परिणाम महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्ताव गरेको टीमका अधिकांश सदस्यहरू भारी मतले विजयी भएका थिए। यद्यपि, पदाधिकारीमा रिमाल र एक उपाध्यक्ष पदमा बाहेक अन्य सबै सदस्यहरू निर्वाचित भएका छन्। यसलाई रिमालले पार्टीभित्रको ‘जनताको बहुदलीय लोकतन्त्र’ (जबज) को मूल भावनाका रूपमा व्याख्या गरेका छन् ।

उनले भनेका छन्, “हामी पहलकदमी लिने, प्रतिस्पर्धालाई आत्मसात गर्ने र आफ्नो श्रेष्ठता स्थापित गर्ने बाटोमा छौँ। यही भावनामा हामी सबैले परिणामलाई आत्मविश्वास र संयमका साथ स्वीकार गरेका छौँ।”

भूमिका बदलिए पनि आफ्नो साझा संकल्प र कमरेड्ली भावनामा कुनै परिवर्तन नआउने पनि रिमालले प्रस्ट पारेका छन् ।

Logo