काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको परम्परागत गढ झापा क्षेत्र नम्बर ५ बाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा चुनावमा होमिने तयारी गरेका छन् । जनताको मन जितेर स्वतन्त्र उम्मेदवारका रूपमा मेयर बनेका बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिएर झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा चुनावमा होमिने तयारी गरेका हुन् । फागुन २१ मा हुने उपनिर्वाचनमा बालेनको प्रवेशले मात्र होइन, उनको राजीनामा र देशव्यापी अभियानले पनि ठूलो चर्चा पाएको छ ।

एक दक्ष इन्जिनियर र ¥यापरका रूपमा चर्चित बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका थिए । उनको अभियान ‘नयाँ सोच, नयाँ नेतृत्व’ मा आधारित थियो, जसले युवा जेनजी पुस्तालाई आकर्षित ग¥यो । सेप्टेम्बर ८–९ को जेनजी आन्दोलनपछि बालेनको राजनीतिक महत्व झनै बढेको छ । हालै रास्वपाका अध्यक्ष रवि लामिछानेसँगको गठबन्धनपछि बालेनलाई पार्टीको वरिष्ठ नेताका साथै भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा पनि प्रस्तुत गरिएको छ ।

बालेनको यो कदम अप्रत्याशित भने पक्कै होइन । पुष ८ गतेकै दिन प्रकाशित समाचारहरूका अनुसार, बालेनले ओलीविरुद्ध झापा–५ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । रास्वपाले बालेनलाई यो क्षेत्रबाट उठ्न दबाब दिएको छ, जसलाई पार्टीका स्थानीय नेताहरूले पनि समर्थन गरेका छन् । झापा रास्वपाका कार्यवाहक सभापति प्रकाश पाठकसँगको भेटमा बालेनले क्षेत्रको वस्तुस्थिति र सर्वेक्षणबारे छलफल गरेका थिए । सर्वेक्षणमा १ हजार जनाको नमूनामा ५७८ जनाले रास्वपाको ‘घन्टी’ चिह्नलाई समर्थन गरेको पाइएको थियो । यो बालेनको नामबिनाको सर्वे थियो, जसले रास्वपाको लोकप्रियतालाई प्रष्ट देखाएको छ ।

यसैगरी बालेनले माघ ४ गतेका दिन मेयर पदबाट राजीनामा दिने योजना पनि बनाएका छन् । बालेनले काठमाडौंबाट मेयर पदबाट राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले जिम्मेवारी सम्हाल्नेछिन् । बालेनका सचिवालय सदस्यहरूका अनुसार, उनी माघ २ वा ४ मा राजीनामा दिएर झापाबाट प्रचार सुरु गर्नेछन् र सकभर १६५ वटै निर्वाचन क्षेत्र घुम्ने लक्ष्य उनले लिएका छन्।
बालेनको अभियान सुदूरपश्चिमबाट सुरु हुने सम्भावना देखिन्छ, जसमा कैलालीको थारु बस्तीबाट शुरू गर्ने योजना छ । पार्टी निकटहरू सुरेन्द्र चौधरी, लक्ष्मण थारु आदिसँगको छलफलमा बालेनले यो कुरा व्यक्त गरेका थिए । सामाजिक सञ्जालमा पनि बालेनले गत राती अर्थात आइतबार साझँ १० बजे ‘शुभकामना सबैलाई !! हामी आउँदै छौं !!’ लेखेर यसबारे संकेत दिइसकेका छन्, जसलाई चुनावी अभियानको पूर्वसंकेत मानिएको छ ।

झापाका रास्वपा नेताहरूसँग ललितपुरको ज्वागलमा भएको डेढ घण्टाको छलफल पनि निर्णयात्मक थियो । झापा जिल्ला सभापति प्रकाश पाठक, सचिव शम्भु सुस्केरा आदिले बालेनलाई झापा–५ बाटै लड्न आग्रह गरेका थिए । बालेनको कोर टिमका रोहन कार्कीले फेसबुकमा ‘यसपाल झापा ५ । हामी आउँनेछौँ प्रमको उम्मेदवार लिएर तयार रहनुस् है’ लेखेका छन् ।

झापा–५ ओलीको बलियो क्षेत्र हो, जहाँ उनी २०६४ बाहेक लगातार चुनाव जित्दै आएका छन् । विकास निर्माणका ठूला कामहरू र बलियो संगठनले यो क्षेत्रलाई एमालेको किल्ला बनाएको छ । तर रास्वपाका स्थानीय नेताहरू ‘बालेन आफैं जानु पनि पर्दैन, हामीले स्वतन्त्र उम्मेदवार उठाए पनि ओलीलाई हराउन सक्छौं’ भन्दै ढुक्क छन् । सर्वेक्षणहरूले पनि यो क्षेत्रमा ‘घन्टी’ चिह्नको क्रेज देखाएका छन्, जसमा बालेन र रविको एकताले थप बल दिनेछ ।

बालेनको चाहना कोशी प्रदेशभरि सकारात्मक प्रभाव पार्ने रहेको देखिन्छ । ‘झापा मात्र होइन, मोरङ, सुनसरी, इलाम, पाँचथर लगायतमा पनि मेरो उपस्थितिको प्रभाव हुनुपर्छ,’ बालेनले स्थानीय नेताहरूसँगको भेटमा भनेका छन् । यसले बालेनलाई राष्ट्रिय स्तरको नेता बनाउने रणनीति देखाउँछ । तर, केही स्रोतहरूले बालेनले काठमाडौं–२ वा महोत्तरीबाट पनि लड्न सक्ने भनेका छन्, जसले उनको विकल्पहरू खुला राखेको छ ।

बालेनको यो कदमले नेपाली राजनीतिमा पुराना र नयाँ शक्तिबीचको टकरावलाई उजागर गरेको छ । तर बालेनसँग जोखिम पनि छन् । झापा–५ मा ओलीको बलियो आधार र पार्टी एकताको मजबुट पकड रहेको छ । तर, बालेनको लोकप्रियताले यो चुनौतीलाई रोमाञ्चक बनाएको छ । बालेन शाहको झापा–५ प्रवेश नेपाली राजनीतिमा एउटा टर्निङ प्वाइन्ट हुन सक्छ ।

मेयर पद त्यागेर देशव्यापी अभियानमा होमिने उनको निर्णयले युवा पुस्तालाई प्रेरित गर्नेछ, तर सफलता सर्वेक्षण र अभियानको प्रभावकारितामा निर्भर छ । यदि बालेनको यो योजना सफल भयो भने, यो चुनावी जित मात्र नभएर पुराना नेतृत्वको अन्त्यको संकेत पनि हुनेछ ।





























प्रतिक्रिया