समानुपातिक सूचीबाट ५० जनाले लिए नाम फिर्ता, रास्वपाबाट सबैभन्दा बढी

समानुपातिक सूचीबाट ५० जनाले लिए नाम फिर्ता, रास्वपाबाट सबैभन्दा बढी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्द सूचीबाट ५० जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले पुस २८ गते अर्थात आज दिउँसो २ बजेसम्मको समयसीमाभित्र यी उम्मेदवारहरूले लिखित निवेदन दिएर नाम फिर्ता लिएको पुष्टि गरेको हो ।

आयोगले नाम फिर्ता लिन चाहने उम्मेदवारलाई बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको थियो । उम्मेदवार स्वयं उपस्थित हुन नसके वारेसमार्फत पनि निवेदन दिन सकिने व्यवस्था थियो । अनुसूची–१८ को ढाँचामा निवेदन दिनुपर्ने प्रावधानअनुसार ५० जनाले यो अवसर उपयोग गरेका हुन् ।

समानुपातिक बन्द सूची पुस १३ र १४ गते ६४ दलले बुझाएका थिए, जसमा कुल ३४ सय २४ उम्मेदवार समावेश थिए । सूची सार्वजनिक भएलगत्तै समावेशी सिद्धान्त विपरीत अर्थात पहुँच, प्रभाव र व्यक्तिगत स्वार्थका आधारमा नाम राखिएको भन्दै चौतर्फी विरोध र आलोचना भएको थियो ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सूचीमा कलाकार, पूर्वमिस नेपाल, पूर्वउपनिर्वाचनका उम्मेदवारहरू मिलन लिम्बू, आसिफ साह, सुगारिका केसी, त्रिशला गुरुङ, टासी शेर्पा, रामजी राम, सचिन ढकाल, मोहना अन्सारीलगायतले नाम फिर्ता लिने घोषणा गरेका हुन् । रास्वपामा मात्रै १६ जनाले नाम फिर्ता लिने घोषणा गरेका थिए, जसमध्ये केहीले औपचारिक निवेदन नै दिएका थिए ।

यसबाहेक अन्य दलहरूमा पनि असन्तुष्टि देखिएको थियो । उज्यालो नेपाल पार्टीसँगको एकता टुटेपछि रास्वपाले सूची अद्यावधिक गर्नुपर्यो, जसले नाम फिर्ताको संख्यालाई थप बढायो ।

नाम फिर्ता भएपछि सम्बन्धित क्लस्टर (समावेशी समूह) बाट दलले नयाँ उम्मेदवार थप्न पाउने व्यवस्था छ । फागुन २१ सम्मको निर्वाचन तालिकामा यो अन्तिम चरणको सुधार हो । यसपछि सूची अन्तिम तयार हुन्छ ।

Skip This
Skip This
Logo