हेटौँडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय पाँच महिनायता प्रशासनिक अस्थिरताको अखडा बनेको छ । मन्त्री–सचिव टकराव र नीतिगत स्वार्थको द्वन्द्वका कारण मन्त्रालयमा सचिवहरू टिक्न नसक्ने अवस्था देखिएको छ ।
एमाले–कांग्रेस गठबन्धन सरकार बनेयता मन्त्रालयमा चार जना सचिव फेरिएका छन्। ट्याक्सी मापदण्ड र ट्रायल सेन्टरको टेन्डर विवाद सचिव सरुवाको मुख्य कारण बनेको छ ।
मन्त्री जयराम थापाले जिम्मेवारी सम्हालेपछि सचिव सरुवाको शृङ्खला सुरु भएको देखिन्छ। मन्त्रीको निर्देशन र सचिवहरूको अडान नजुध्दा मन्त्रालय ‘म्युजिकल चियर’मा परिणत भएको टिप्पणी हुन थालेको छ ।
ट्रायल सेन्टर खरिद प्रक्रिया रोक्न मन्त्रीको निर्देशन नमान्दा अन्तिम सचिव रामबाबु पुरी समेत सरुवा भएका छन्। सो प्रकरणमा सर्वोच्च अदालत र अख्तियारसमेत प्रवेश गरिसकेको छ ।
नयाँ सचिव हेमराज भुसाल भित्रिए पनि मन्त्रालयको अस्थिरता अन्त्य हुन्छ कि फेरि अर्को सरुवा दोहोरिन्छ भन्ने प्रश्न खुलै छ ।





























प्रतिक्रिया