काडमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले विशेष महाधिवेशनबारे तत्कालिन सभापति शेरबहादुर देउवाले हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो तर्क भएको बताएका छन् । विशेष महाधिवेशन पश्चात शेरबहादुर देउवाले दिएको तर्क आँफैमा हाँस्यादपद समेत भएको उनले जिकिर गरेका छन् । निर्वाचन आयोग पुगेर तत्कालिन कार्यवाहक सभापति पुर्णबहादुर खड्काले विशेष महाधिवेशन गर्दै गर्दा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको बताएका थिए।
महामन्त्री घिमिरेले विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेकामध्ये जम्मा २९ जनाले मात्रै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएका छन्।
खड्काको भनाईलाई लक्षित गर्दै घिमिरेले आज सामाजिक सञ्जालमा भनेका छन्, ‘विशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधिमध्ये जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र फिर्ता लिएको अभिलेख सचिवालयमा छ ।’
महामन्त्री घिमिरेले सामाजिक सञ्जालमार्फ विभिन्न सात बुँदामा ध्यानाकर्षण समेत गराएका छन् ।
यी हुन् घिमिरेका ७ बुँदा:
१. नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठन समेत भइसकेर आवश्यक सम्पूर्ण दस्तावेजहरू निर्वाचन आयोगमा पुगिसकेको पृष्ठभूमिमा केही महाधिवेशन प्रतिनिधिको संख्याको फिर्ताको प्रसंग तर्कहिन छ ।
२. महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रूपमा नेतृत्व चयन समेत भइसकेपछि यो विषय उठाउनु केबल “राजनीतिक प्रपोगाण्डा“मात्र हो।
३. तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर विशेष महाधिवेशनको मागलाई ३ महिनासम्म छलफलको विषय नबनाउने र विशेष महाधिवेशन नै औचित्यपूर्ण छैन भनि तत्कालीन कार्यसम्पादन समितिले निर्णय गर्ने, नियमित महाधिवेशनको कार्यतालिकाको पालना नगर्ने, क्रियाशील नवीकरण, वितरणको कार्य सम्पन्न समेत नगरिकन बिना सूचना वडा अधिवेशन रोक्ने, त्यसको दुई दिनपछि तत्कालीन कार्यसम्पादन समितिको बैठक राखेर ४ महिना पछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु विधिसम्मत देखिँदैन। तत्कालीन केन्द्रीय समिति आफै तत्कालिन कार्यतालिकाको उल्लंघनकर्ता हो।
४. तत्कालीन केन्द्रीय समितिले आफ्नो म्याद माघ मसान्तसम्म मात्र बढाएको तर कार्यसम्पादन समितिले म्याद गुज्रिएको ३ महिना पछिको मिति राखेर नियमित महाधिवेशनको मिति तोक्नु सरासर अवैधानिक कार्य हो।
५. विशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधिमध्ये जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र फिर्ता लिएको अभिलेख सचिवालयमा छ ।
६.आफै उपस्थित भएर विशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यवाहक सभापतिले विशेष महाधिवेशनबारे हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो देखिन्छ ।
७. विशेष महाधिवेशनको माग गर्दा २४८८ जना महाधिवेशन सदस्यको संख्या रहेको जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५८ प्रतिशत रहेकोमा महाधिवेशनमा सहभागी संख्या २६५२ अर्थात् ५७.२१ रहेको जानकारी गराइन्छ ।































प्रतिक्रिया