काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का दुई प्रभावशाली नेताले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र सचिव भानुभक्त ढकाल रहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका व्यक्तिलाई मनोमानी रूपमा टिकट वितरण गरेको आरोप लागिरहेको बेला आफू निकटका दुई नेतालाई सुरक्षित निर्वाचन क्षेत्रमा सारेको टिप्पणी हुन थालेको छ। रूपन्देहीलाई असुरक्षित ठानेर उपाध्यक्ष पौडेल चुनाव लड्न पाल्पा पुगेका हुन्। यद्यपि, रूपन्देही क्षेत्र नं. २ बाट पौडेलको एकल नाम सिफारिस गरिएको थियो। शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई रूपन्देही छोडेर पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
पौडेलले लगातार पाँचवटा निर्वाचनमा रूपन्देहीबाट निर्वाचन लडेका थिए। तीमध्ये २०५६ सालको निर्वाचनमा तत्कालीन रूपन्देही क्षेत्र नं. ३ बाट ६ सय मत अन्तरले पराजित भएका उनी त्यसयता २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नं. २ बाट लगातार विजयी भएका थिए।
२०७९ को निर्वाचनमा भने उनी गणेश पौडेललाई जम्मा १ हजार ६६ मत अन्तरले पराजित गर्न सफल भएका थिए। अघिल्लो निर्वाचनको मत परिणाम र पछिल्लो समयका परिवर्तित राजनीतिक घटनाक्रमका कारण रूपन्देही असुरक्षित ठानी पौडेलले पाल्पा रोजेको हुनसक्ने मतदाताहरूको आकलन छ।
विष्णु पौडेलजस्तै २०७४ को निर्वाचनमा मोरङ–३ रोजेका सचिव भानुभक्त ढकाल मुस्किलले चुनाव जित्न सफल भएका थिए र केपी ओलीको नेतृत्वमा चारवटा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए। तर एमालेका लागि पूर्वी नेपालकै सबैभन्दा सुरक्षित मानिएको मोरङ–३ मा उनी २०७९ को निर्वाचनमा दोब्बर मतान्तरले पराजित भए।
नेपाली कांग्रेसका सुनिल शर्माले ४८ हजार ६ सय ३१ मत ल्याउँदा ढकालले जम्मा २५ हजार ८ सय ९५ मत मात्र प्राप्त गरेका थिए। शर्मा सँग २२ हजार ७ सय ३६ मतको फराकिलो अन्तरले पराजित भएका ढकाल यसपटक उक्त क्षेत्र छोडेर तेह्रथुम जाने भएका छन्। अघिल्लो निर्वाचनमा तेह्रथुममा एमालेका विजय सुव्वा नेपाली कांग्रेसकी सिता गुरुङसँग पराजित भएका थिए।































प्रतिक्रिया