काठमाडौं। झापा–५ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक तापक्रम उच्च बन्दै गएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङले चुनावलाई देशको भाग्य र भविष्यसँग जोड्दै कडा र आक्रामक अभिव्यक्ति दिएका छन्।
सामाजिक सञ्जाल मार्फत तामाङले यो चुनाव सामान्य सत्ता परिवर्तनको विषय नभई देशको दिशा तय गर्ने निर्णायक लडाइँ भएको स्पष्ट पारे। उनले विगतमा ३६ अर्ब रुपैयाँ बराबरको विनाश निम्त्याउनेहरू नै आज विकासको सपना बाँड्दै मतदाताको घरदैलोमा पुगेको आरोप लगाए। देशलाई संकटमा धकेल्ने शक्तिहरू फेरि पनि नयाँ नारा र रंगीन आश्वासनसहित जनतालाई झुक्याउन खोजिरहेको भन्दै उनले मतदातालाई सजग रहन आग्रह गरे।
फेरि पनि ती शक्तिसँग झुक्किनु देश र जनतामाथि अर्को धोका हुने तामाङको दाबी थियो। अहिलेको चुनावलाई उनले अतिवाद र जनताको बीचको सीधा लडाइँका रूपमा व्याख्या गर्दै यो संघर्ष कुर्सी, सत्ता वा व्यक्तिको नभई देश बचाउने कि बर्बाद पार्ने भन्ने सवालसँग जोडिएको बताए ।
जनता यस बेला जिम्मेवार नबने देश थप संकटग्रस्त बन्ने चेतावनी दिँदै तामाङले भने, आजको एउटा गलत निर्णयले भोलिको पुस्तालाई भारी मूल्य चुकाउन बाध्य बनाउनेछ । झापा–५ मा उनको आक्रामक र वैचारिक प्रस्तुतिसँगै चुनावी बहस थप चर्किएको छ भने यो क्षेत्र राष्ट्रिय राजनीतिका लागि निर्णायक रुपमा हेरिएको छ ।
































प्रतिक्रिया