पार्टी आदेश तोडेर बागी उठेका दाहाल भन्छन् : ‘आन्दोलनलाई मूल बाटोमा फर्काउँछु’

पार्टी आदेश तोडेर बागी उठेका दाहाल भन्छन् : ‘आन्दोलनलाई मूल बाटोमा फर्काउँछु’

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिन्धुली–२ मा बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका प्रेस सेन्टरका संस्थापक मध्यका एक,स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले पार्टी नेतृत्वविरुद्ध खुलेर विद्रोहको घोषणा गरेका छन्। पार्टीको निर्देशन अस्वीकार गर्दै उम्मेदवारी कायम राखेका दाहालले आफूलाई ‘गद्दार’ भनिए पनि कम्युनिस्ट आदर्श नछोड्ने दाबी गरेका छन्।

शुक्रबार सार्वजनिक अपिलमार्फत दाहालले सिन्धुलीको कम्युनिस्ट आन्दोलनको इतिहास स्मरण गराउँदै भनेका छन्, “कम्युनिस्ट इतिहासको साक्षी जिल्ला सिन्धुलीमा बागी भएर उठ्दा गद्दार भनिएला, तर पथभ्रष्ट नेतृत्वको पछि लागेर आदर्श गुमाउन सक्दिनँ।”

उनले सिन्धुलीलाई नेपालको वामराजनीतिक आन्दोलनको केन्द्रका रूपमा चित्रण गर्दै एसबी राईदेखि ऋषिदेवकोटा ‘आजाद’, दुर्गा सुवेदी, सीपी गजुरेल, हरिबोल गजुरेल, राम कार्की लगायतका अग्रज नेताहरूले यहाँ कम्युनिस्ट आन्दोलनलाई जोगाएर अघि बढाएको उल्लेख गरेका छन्। दाहालले सिन्धुली कुनै सत्ता–सम्झौताबाट नभएर त्याग, संघर्ष र बलिदानबाट बनेको राजनीतिक भूमि भएको जिकिर गरेका छन् ।

दाहालले आफ्नो उम्मेदवारी कुनै बार्गेनिङ, पद वा कुर्सीका लागि नभई “पद्धतिविहीन, चरित्रहीन र दिशाहीन नेतृत्वविरुद्धको राजनीतिक बगावत” भएको स्पष्ट पारेका छन्। उनले वर्तमान नेतृत्वले कम्युनिस्ट आन्दोलनलाई मूल्यविहीन र मुद्दाविहीन बनाएको आरोप लगाएका छन्।

उनले सिन्धुलीको भौगोलिक, आर्थिक र सांस्कृतिक वैभव उल्लेख गर्दै मरिण, कमला, चदाहा र सुनकोशी क्षेत्रका किसान, मजदुर र उत्पीडित जनताको प्रतिनिधित्व गर्ने आन्दोलन पुनः स्थापित गर्न आफू मैदानमा उत्रिएको बताएका छन्। यो विद्रोह कम्युनिस्ट आन्दोलनलाई मजदुर, किसान र उत्पीडित जनताको मूल बाटोमा फर्काउने प्रयास भएको दाहालको दाबी छ ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी फिर्ता गर्न निर्देशन दिए पनि महेश्वर दाहालले त्यसलाई अस्वीकार गर्दै उम्मेदवारी कायम रहने स्पष्ट पारेका छन्। पार्टी नेतृत्वको आदेशलाई चुनौती दिँदै उनले निर्वाचनमार्फत नै कम्युनिस्ट आन्दोलनको दिशा सच्याउने दाबी गरेका छन्।

Logo