मोरङ । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
पथरीमा आयोजित एक कार्यक्रममा डा. शर्माले पार्टीभित्रको शुद्धीकरण अभियानबारे बोल्दै नेतृत्व तहमा रहेका खराब पात्रहरूलाई बिदा गरिएको दाबी गरे । “हामीले पार्टीलाई नयाँ ढंगले युवाहरूको नेतृत्वमा ल्यायौं। मेजोरिटी खराब मान्छेहरूलाई हामीले खेदायौं । सिधा भन्दा, भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेतृत्व तहमा भएका बदमाशहरूलाई हामीले खेदायौं । केही असल मान्छेहरू परेको होलान्, केही खराबहरू परेको होलान् ।” उनले भने।
डा. शर्माले पथरी क्षेत्रका हरेक वडामा खानेपानी पुर्याउने प्रतिबद्धता पूरा भइरहेको जानकारी दिए । पथरीमा खानेपानीका लागि मात्रै ३५ करोड रुपैयाँ विनियोजन भएको र बोक्रे चोक लगायतका स्थानमा ट्याङ्की निर्माणको काम सुरु भइसकेको उनले बताए ।
साथै २५-३० वर्षदेखि बल्झिएको सुकुम्बासी समस्यालाई आफूले ३२ महिनाको छोटो कार्यकालमै निकास दिएको डा. शर्माको दाबी छ। “सुकुम्बासीहरूको नापी गरेर निस्सा वितरणको काम सकिएको छ। यो पहिलो चरणको सफलता हो। अहिले निर्वाचनका कारण केही प्रक्रिया रोकिएको भए पनि अब तुरुन्तै दोस्रो चरणको काम सुरु भई धनीपूर्जा वितरण गरिनेछ।”
गत निर्वाचनमा २३ हजारभन्दा बढी मतान्तरले विजयी भएको स्मरण गर्दै डा. शर्माले यसपटक पनि जनताले आफ्नो कामको मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे । उनले भने, “मैले ५-७ हजारको मतान्तर सोचेको थिएँ, तर तपाईंहरूले अकल्पनीय माया दिनुभयो। सदनमा मैले सधैं जनताको पक्षमा सशक्त आवाज उठाएको छु।”





























प्रतिक्रिया