काठमाडौं । तीन वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्रको गठबन्धन थियो । दुई पटक संसद विघटन गरेको आरोप खेपेको नेकपा एमाले तराईबाहेकका जिल्लामा एक्लै लडेको थियो ।
कांग्रेसबाट शेरबहादुर देउवा, एमालेबाट केपी शर्मा ओली र माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा प्रमुख पार्टीहरू चुनावी मैदानमा थिए । भर्खरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि चुनावी मैदानमा होमिएको थियो । देउवाको नेतृत्वमा चुनाव भएका कारण पनि स्वभाविकरूपमा उनी नै प्रधानमन्त्रीको दाबेदार थिए । देउवासँग चुनावी प्रतिस्पर्धा गर्न युवा उम्मेदवार सागर ढकाल डडेल्धुरा पुगेका थिए । तत्कालिन माओवादीसँग गठबन्धन गरेका भावी प्रधानमन्त्रीका दाबेदार रहेका देउवालाई ढकालले च्यालेन्ज गरेका कारण पनि सुदूरपश्चिममा चुनावी माहौल व्यापक देखिएको थियो । सुदूरपश्चिम राजनीतिक रूपमा केन्द्रमा थियो । डडेल्धुरा केन्द्रबिन्दु बनेको थियो ।
सुदूरपश्चिम क्षेत्रमा रमेश लेखक, वीरबहादुर बलायरजस्ता सिनियर नेताहरू चुनावी मैदानमा थिए । देउवाको राजनीतिक प्रभाव र संगठनात्मक पकडका कारण सुदूरपश्चिममा कांग्रेसको वर्चस्व कायम रह्यो ।
चितवनमा रास्वपा सभापति रवि लामिछाने प्रतिस्पर्धी रहेका कारण केही चर्चा चितवन २ को भए पनि सुदूरपूर्व बढी चर्चामा रहेको थियो । माओवादी अध्यक्ष दाहालकी बुहारी बिना मगरदेखि नागरिक उन्मुक्ति पार्टीको वर्चश्वका कारण सुदूरपश्चिम चुनावी चर्चाको शिखरमा थियो । भीम रावललाई एमालेले टिकट नदिएका कारण अर्को चर्चा स्वभाविक थियो ।
देउवा २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल वैशाख २९ गते पहिलो पटक डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यसयता उनी सात पटक प्रतिनिधिसभा सदस्य, दुई पटक संविधानसभा सदस्य र पाँच पटक प्रधानमन्त्री बने । कांग्रेस विभाजन, शाही हस्तक्षेप, पदच्युत र पुनर्बहालीजस्ता अनेक राजनीतिक उतारचढावबीच पनि देउवा राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा रहँदै आएका थिए ।
तर अहिले चुनावको मुखमा भएको विशेष महाधिवेशनले कांग्रेसको नेतृत्वमा गगन थापालाई ल्याएपछि देउवालाई उम्मेदवार हुनबाट मात्र रोकिएको छैन, उनको समूहलाई खुम्च्याइएको छ । यससँगै २०४८ सालदेखि निरन्तर संसदीय राजनीतिमा सक्रिय देउवाको ३४ वर्ष लामो अविरल संसदीय यात्रामा विराम लागेको छ ।
देउवाले उम्मेदवारी नदिएसँगै सुदूरपश्चिमको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको छ । कांग्रेसभित्र नेतृत्व परिवर्तन भएसँगै सुदूरपश्चिममा देउवा पक्ष टिकट वितरणमा खुम्चिएको छ । प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले पाँच क्षेत्रमा मात्रै टिकट पाएको छ । पूर्वगृहमन्त्री रमेश लेखक कञ्चनपुर–३ बाट टिकटबाट वञ्चित भएका छन् । कैलाली–५ बाट सिफारिस भएकी डा. आरजु राणा देउवालाई पनि टिकट दिइएन । डडेल्धुरामा देउवाको स्थानमा नैनसिंह महरलाई उम्मेदवार बनाइएको छ ।
देउवाको निर्वाचनबाट अलग रहने निर्णयसँगै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य वैकल्पिक शक्तिहरूले सुदूरपश्चिममा आफ्नो प्रभाव विस्तार गर्ने सम्भावना देखिएको छ । कुनै समय देउवाको व्यक्तित्व हेरेर मत दिने मतदाता बिस्तारै अन्य राजनीतिक विकल्पतर्फ आकर्षित हुँदै गएको देखिन्छ ।
अर्कोतिर तीन वर्षमा चुनावी वायु सुदूरपश्चिमबाट सुदूरपूर्वतर्फ सरेको छ । विशेषतः काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) झापा–५ पुगेपछि पूर्वी नेपाल राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आएको छ । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेन शाहबीचको सम्भावित प्रतिस्पर्धाले राष्ट्रिय राजनीति तताएको छ । बालेनले काठमाडौंको सुरक्षित क्षेत्र छोडेर ओलीको किल्ला मानिने झापा–५ रोज्नुलाई राजनीतिक रूपमा ठूलो सन्देशका रूपमा हेरिएको छ । बालेनले स्थापित राजनीतिक नेतृत्वविरुद्ध सीधा चुनौती दिएका छन् ।
झापा–५ मात्र होइन, बालेनको उपस्थितिले झापामात्र होइन पूर्वी क्षेत्र नै तरंगित छ । झापा–२ मा पनि रोचक प्रतिस्पर्धा देखिएको छ । निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानाबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई विशेष चासोको विषय बनाएको छ । एमालेका घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी राना एउटै कार्यकालमा संसद् सञ्चालनमा सहकार्य गरेका पात्र हुन् । अब उनीहरू चुनावी मैदानमा आमनेसामने भएका छन् ।
२०८२ को निर्वाचनलाई अनुभव र संगठनमा आधारित पुरानो राजनीति र असन्तोष तथा डिजिटल प्रभावमा आधारित नयाँ राजनीतिक धारबीचको निर्णायक प्रतिस्पर्धा छ । सुदूरपश्चिममा देउवाको चुनावी अवकाशसँगै एक युगको अन्त्यको संकेत देखिएको छ भने सुदूरपूर्वमा बालेनको प्रवेशसँगै नयाँ सुरुआतको बहस चलेको छ ।
तीन वर्षअघि डडेल्धुरा केन्द्रमा थियो, आज झापा केन्द्रमा छ । २०८२ को निर्वाचनले यो वायु स्थायी परिवर्तन बन्छ कि अस्थायी लहर मात्रै हुन्छ भन्ने निर्णय गर्नेछ ।































प्रतिक्रिया