स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

केन्द्रबिन्दु
42
Shares

वालिङ । स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशील घोषणा गरेको हो ।

जिल्लाका मतदानस्थललाई सुरक्षाका आधारमा तीन वर्गमा विभाजन गरी केन्द्रमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । स्याङ्जाका कुल १९९ मतदानस्थलमध्ये ७२ वटा सामान्य, ७१ वटा संवेदनशील र ५६ वटा अति संवेदनशील रहेका छन् ।

सडक तथा यातायातको पहुँच, सुरक्षा अवस्था, भौगोलिक बनावट, सूचना तथा सञ्चारको पहुँच र विगतका निर्वाचनमा भएका गतिविधिलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको उनले बताए । मतदानस्थलको संवेदनशीलताका आधारमा सुरक्षा योजना तयार गरिने जनाइएको छ ।

निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका दुवै निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रतिबद्धता जनाएको जानकारी दिइएको छ । मतदानस्थलको संवेदनशीलताको आधारमा आवश्यक सुरक्षा योजना बनाउन जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समिति र निर्वाचन अधिकृतको संयुक्त टोलीले स्थलगत अध्ययन तथा अनुगमन गरिरहेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र रहेका छन् । अघिल्लो निर्वाचनमा ३२० मतदान केन्द्र रहेका थिए भने यसपटक दुई मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका २ लाख ४८ हजार ८१६ मतदाताले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउनेछन् । स्याङ्जामा पुरुषभन्दा महिला मतदाताको संख्या ३ हजार ८८७ ले बढी रहेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८८६ मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख १७ हजार ९३० मतदाता रहेका छन् ।

Skip This
Skip This
Logo