पर्वत । गण्डकी प्रदेशअन्तर्गत पर्वत जिल्लाको प्रतिनिधिसभा निर्वाचनमा यसपटक १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नयाँ पुराना र वैकल्पिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको सहभागिताले पर्वतको निर्वाचनलाई रोचक बनाएको छ ।
प्रमुख दलतर्फ नेकपा (एमाले) बाट पदम गिरी (सूर्य) र नेपाली कांग्रेसबाट अर्जुनप्रसाद जोशी (रुख) मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। यस्तै नेकपाबाट मनहरि शर्मा (पाँचकुने तारा) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसाल (घण्टी) पनि बलियो दाबेदारका रूपमा देखिएका छन्।
राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गा बहादुर मल्ल (हलो) उम्मेदवार छन् भने वाम धारको नेकपा (माओवादी)बाट कृष्ण बहादुर विक (गोलो घेराभित्र दुई पात भएको गुलाव) चुनावी दौडमा छन्।
अन्य दलहरूतर्फ नेपाल मजदुर किसान पार्टीबाट ऐलिना सुवाल (मादल), राष्ट्रिय जनमोर्चाबाट भिमलाल न्यौपाने (गिलास), मंगोल नेशनल अर्गनाइजेसनबाट लालकुमारी थापा राना (कुखुराको भाले), नेशनल रिपब्लिक नेपालबाट वीर बहादुर गुरुङ (उडिरहेको माहुरी) उम्मेदवार छन्।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट माया पाइजा पुन फकामी मगर (हात मिलाएको), उज्यालो नेपाल पार्टीबाट यम बहादुर चोचाङ्गी पुन (बलिरहेको बिजुलीको चिम) तथा आम जनता पार्टीबाट पवित्रा मल्ल (मोबाइल) चुनावी मैदानमा छन्।
पर्वतमा अन्य चार जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारमा गंगालाल रिमाल (क्यामरा), मिना पौडेल शर्मा (आरी), सीता देवी शर्मा (मुढा) र सावित्री शर्मा (आँप) रहेका छन्।
यहाँ यसपालीको निर्वाचनमा राजनीतिक इतिहास र नयाँ अवसरबीचको टक्कर हुँदैछ । तीन पटक सांसद बनेका नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी र नेकपा एमालेका पदम गिरीबीच फागुन २१ मा तेस्रो पटक प्रत्यक्ष भिडन्त हुने छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका मनहरी तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सागर भुसाल पनि चुनावी मैदानमा रहेका छन् । यस्तै अन्य उम्मेदवारहरुले पनि आफ्नो मनोनयन दर्ता गराएर चुनावी अभियानमा लागिपरेका छन् ।
पर्वतमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या बढ्यो, दुई नयाँ मतदानस्थल थप
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो अद्यावधिकमा यो संख्या निश्चित गरिएको हो।
महिला मतदाता ६२ हजार ८६५ र पुरुष मतदाता ६२ हजार ६०० रहेका छन् भने अन्य मतदाता एक जना रहेको छ। २०७९ सालको निर्वाचनमा पर्वतमा कुल मतदाता संख्या एक लाख २२ हजार ६४९ थियो। यसअघिको निर्वाचनको तुलनामा यस पटक दुई हजार ८१७ मतदाता बढेका छन्।
जिल्लामा मतदानका लागि ७६ मतदानस्थल र १५१ मतदान केन्द्र निर्धारण गरिएको छ। नयाँ मतदानस्थल दुईवटा थपिएका छन्ः मोदी गाउँपालिका वडा नं. ६, तिलाहारको तुलोदय मावि र जलजला गाउँपालिका वडा नं. ८, फर्से शिव मावि। यससँगै तीन मतदान केन्द्र पनि थपिएका छन्।
कुश्मा नगरपालिकामा ३२ हजार ९४९, फलेवास २४ हजार १६१, जलजला १६ हजार ७५०, पैंयू ११ हजार ६६७, महाशिला ८ हजार ४७९, मोदी २० हजार ३०१ र विहादी ११ हजार १५९ मतदाता रहेका छन्।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र शर्माका अनुसार अहिले निर्वाचन सामग्री रुजु गर्ने र अपुग सामग्री खरिद गर्ने काम भइरहेको छ। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ र कार्यालयका नियमित तयारीहरू पनि जारी छन्।
यस्तो छ मुख्य नेताहरुको राजनीतिक पृष्ठभुमि
पर्वतमा यसपालीको चुनावमा पुराना नेताहरूको अनुभव र युवा पुस्ताको राजनीतिबीचको सन्तुलन परीक्षण हुने देखिएको छ ।
कांग्रेस नेता जोशीले २०५६, २०६४ र २०७० को निर्वाचनमा आफ्नो प्रभाव जमाइसकेका थिए । उनको राजनीतिक यात्रा बुबा अमृत जोशीको विरासतबाट सुरु भएको हो । कांग्रेसभित्र लामो समय सक्रिय भएर स्थापित भएका नेता हुन जोशी । पार्टीभित्र आँफूले बनाएको पकड र निर्वाचन क्षेत्र र जनतामा पारेको प्रभाव र अनुभव उनको निर्वाचन प्रतिस्पर्धाको बल मानिन्छ । जेन जी आन्दोलन पछी सिर्जित राजनैतिक वृतमा नेपाली काँग्रेसको विशेष महाधिवेशन पछी पुनः काँग्रेसको केन्द्रीय सदस्यमा विजयी जोशी पार्टीले अपनाएको नीतिअनुरुप अगाडी बढ्ने प्रतिवद्धता सहित चुनावी मैदानमा होमिएका छन् ।
एमालेका पदम गिरी विद्यार्थी राजनीतिबाट उठेका र छोटो समयमै संसदीय राजनीतिमा प्रभाव जमाएका ‘सेल्फ मेड’ नेता हुन्। उनी २०६२ मा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बनेका थिए र त्यसपछि द्रुत गतिमा संसदीय राजनीतिमा उत्रेका नेता हुन्। २०७४ र २०७९ को निर्वाचनमा गिरीले जोशीलाई पराजित गरेका थिए । पहिलो निर्वाचनमा भन्दा गिरीको दोस्रो निर्वाचनमा मतान्तर घट्दै गएको तथ्यले आगामी चुनाव अझ नजिक र प्रतिस्पर्धात्मक बन्ने निश्चित छ । यसभन्दा अगाडी गिरीले राष्ट्रिय सरकारमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री (२०७९) र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री (२०८०) मा मन्त्री बन्ने अवसर समेत प्राप्त गरे ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीले लामो समयको पत्रकारिता संगै माओवादी जनयुद्धमा होमिएका वैचारिक एवं वौद्धिक राजनैतिक अनुभव भएका युवा मनहरि तिमिल्सिनालाई उम्मेदवार बनाएको छ । तिमिल्सिना जनयुद्धमा माओवादीको पूर्णकालीन कार्यकर्ता रहेर स्क्वायड दलको सहायक कमाण्डर र गाउँ जनसरकार सदस्यका रूपमा काम गरिसकेका छन्। २०५४ सालमा अखिल (क्रान्तिकारी) को मूल इकाइ सदस्य बनेर उनले औपचारिक राजनीतिक यात्रा सुरु गरे। दुई वर्षमै इकाइ अध्यक्ष बनेर नेतृत्वदायी भूमिकामा प्रवेश गरेका उनी २०५७ सालमा नेकपा (माओवादी) का पार्टी सदस्य बनेपछि पूर्णकालीन कार्यकर्ताका रूपमा भूमिगत जीवनमा प्रवेश गरे। त्यो समय व्यक्तिगत सुरक्षा, परिवारसँग खुला सम्पर्क र भविष्य सबै अनिश्चित थिए । तर उनले आफ्नो जीवन आन्दोलन र जनताको पक्षमा समर्पण गरेका नेता मानिन्छन् ।
२०५८ सालमा गाउँ जनसरकारको सदस्य निर्वाचित हुँदै उनले विद्रोही आन्दोलनलाई संगठित गर्ने जिम्मेवारी पाए । सोही वर्ष अखिल (क्रान्तिकारी) जिल्ला समिति सदस्य बनेर स्वायर्ड दलमा सहायक कमाण्डरको भूमिकासमेत निर्वाह गरे। तर संघर्षको यही क्रममा २०५८ पुसदेखि २०५९ माघसम्म उनी नेपाली सेनाद्वारा हिरासतमा राखिए । हिरासतको यातना, पीडा र अन्यायका बाबजुद उनले आफ्नो वैचारिक प्रतिबद्धता गुमाएनन् ।
भूमिगत जीवनपछि मनहरि तिमिल्सिनाले पत्रकारितालाई संघर्षको अर्को सशक्त माध्यम बनाए ।
पत्रकारितासँगै मनहरि तिमिल्सिना एक सशक्त लेखक र विचारकका रूपमा पनि स्थापित छन्। उनका ‘जनताको जनवादका आधारहरू’ (२०७६), ‘कम्युनिस्ट स्कुल’ (२०७७), ‘समाजवादी क्रान्तिको कार्यदिशा’ (२०७८), ‘समाजवाद ः सिद्धान्त र प्रयोग’ (२०७९) र ‘पार्टी स्कुल’ (२०८२) जस्ता पुस्तकहरूले नेपाली वामपन्थी बौद्धिक जगतमा महत्वपूर्ण योगदान दिएका छन्। त्यसैगरी कम्युनिस्ट ज्ञानकोश, विश्वप्रसिद्ध पुस्तकहरूको सारसंक्षेप, गणतन्त्र अगाडि र पछाडिको नेपाल तथा ‘क्वान्टम सिद्धान्त’ (सम्पादन) जस्ता कार्यमार्फत उनले ज्ञान प्रसारमा उल्लेखनीय भूमिका खेलेका छन्।
सागर भुसाल वैदेशिक रोजगारी पछि नेपाल फर्केर वैकल्पिक राजनीतिमा आएका वैकल्पिक युवा नेतृत्व हुन् । उनी रास्वपाका जिल्ला सचिव हुन्। पुराना राजनैतिक दल तथा नेताहरुको विकल्पमा आँफूलाई चुनावी मैदानमा उभाएका भुसाल स्वच्छ राजनैतिक छविका नेत्तृत्वकर्ता मानिन्छन् ।
विगतमा भएको निर्वाचन २०७४ मा पदमले १२,४५६ मतान्तरले जोशीलाई हराएका थिए भने २०७९ मा यो घटेर २,२६३ मा सीमित भयो। यसमा नयाँ गठबन्धन, वैकल्पिक दलको प्रभाव र मतदाता मनोविज्ञानमा आएको परिवर्तनले भूमिका खेलेको थियो । यस्तै अहिलेको निर्वाचनमा पनि मतदाताको मनोविज्ञान निर्णायक हुने राजनैतिक विश्लेषकहरु बताउँछन् ।
विश्लेषकहरूको भनाइ अनुसार पर्वतमा कांग्रेस र एमालेबीचको प्रत्यक्ष प्रतिस्पर्धा मुख्य रहने देखिन्छ । जोशी आफ्नो लामो अनुभव, पार्टीभित्रको पकड र स्थानीय समुदायसँगको सम्बन्धको आधारमा बलियो मानिन्छन्। गिरीले युवा शक्ति र नेत्तृत्वको छवीलाई लिएर मतदातालाई आकर्षित गर्न सक्छन्।
अघिल्ला निर्वाचनमा जोशीले राजनीतिक जीवनमा ‘लिगेसी’ संगै विकास निर्माणमा आँफूले खेलेको भूमिका संगै पुराना मतदाता र पार्टीभित्रको स्थायित्वको आधार शैली अपनाएका थिए भने पदमले युवा मतदाता, महिला र व्यवसायी वर्गलाई लक्षित गर्दै आफ्नो अभियान अघि बढाएका थिए । यसपाली कुन रणनीतिले पासो पल्टिने हो त्यो उम्मेदवारमा भरपर्ने कुरा रहेको छ ।
यस्तै बल्ल पहिलोपटक चुनावमा होमिएका नयाँ उम्मेदवार मनहरि र सागरले पनि मतदातालाई आकर्षित गर्ने भरपुर प्रयास गर्नेछन् । तिमिल्सिनाको जनयुद्धको अनुभव र राजनीतिक साहसले स्थायित्व र अनुशासनको भाव जगाउँने देखिन्छ। उनी उम्मेदवार मध्येका सवैभन्दा कान्छा उम्मेदवार भएको कारण जेन जीहरुको समर्थन तिमिल्सिनालाई हुने प्रत्यक्ष रुपमा देखिन्छ । यस्तै भूसालको वैदेशिक अनुभव वैदेशिक भोगाई र नयाँ दलको रणनीतिका रुपमा अगाडि आउने निश्चित छ ।
पर्वत निर्वाचनको मतदाता संरचना पनि निर्णायक छ । स्थानीय तहको चुनाव, गाउँ–बस्तीमा रहेका मतदाता, युवा र महिला मतदाता समूह सबैले चुनावको नतिजामा प्रभाव पार्ने क्षमता राख्छन्। निर्वाचनका लागि विगतमा जस्तो दलिय गठवन्धन यसपाली छैन तर प्रभावको आधारमा यस पटकको चुनाव अझ प्रतिस्पर्धात्मक र नतिजा भने अस्थिर देखिन्छ ।
मुख्य पार्टीहरुमा कति छन क्रियाशिल सदस्य ?
पर्वतमा नेकपा एमालेका ७ हजार ८ सय ८६ जना क्रियाशिल रहेका छन् । यस्तै नेपाली कांग्रेसको १४औँ महाधिवेशनको समयमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार १० हजार क्रियाशिल रहेका छन् । यस्तै तत्कालिन नेकपा माओवादीका ४७ सय र नेकपा समाजवादी लगायतका दलहरु मिलेपछाडी ७ हजार ७५ क्रियाशिल नेकपाका पुगेका छन् ।रास्वपाले परम्परागत शैलीको ’क्रियाशील सदस्य’ भन्दा पनि ’साधारण सदस्य’ बनाउने नीति लिएको छ । पर्वतमा रास्वपाका एप मार्फत जोडिएका सदस्यहरूको संख्या एक हजार माथी रहेका छन् तर यसको आधिकारिक जिल्लागत तथ्याङ्क सार्वजनिक भइसकेको छैन।
दलका क्रियाशील र संगठित सदस्यहरूको ठ्याक्कै संख्या समय–समयमा हुने पार्टी अधिवेशन र नवीकरण अनुसार परिवर्तन भइरहन्छ ।
निर्वाचनको समयमा मतदान गर्ने ’मतदाता’ र पार्टीका ’क्रियाशील सदस्य’ बीच ठूलो अन्तर हुन्छ । उदाहरणका लागि, पर्वतमा करिब १ लाख २५ हजार मतदाता भए पनि सबै दलका गरी सक्रिय राजनीतिक कार्यकर्ता (सदस्य) को संख्या करिब ३० हजारको हाराहारीमा देखिन्छ ।
यस्तो छ २०७९ सालको मुख्य उम्मेदवारको मतपरिणाम
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका पदम गिरीले (नेकपा २९,८७२ मत ४६.८८% मत प्राप्त गरेर विजयी बनेका थिए । यस्तै उनका निकटतम प्रतिन्द्धी नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशीले २७,६०९ मत प्राप्त गरी दोस्रो भएका थिए । जोशी र गिरी विचका मतान्तरः २,२६३ मत रहेको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन ४,१७३ मत
सहित तेस्रो भएका थिए । अन्य उम्मेदवारहरूले कम मत प्राप्त गरेका थिए ।
प्रतिनिधि सभासंगै प्रदेश सभाका दुवै क्षेत्रमा पनि एमालेका उम्मेदवार नै विजयी भएका थिए । क्षेत्र नम्वर १ मा भक्त कुवँर र क्षेत्र नम्वर २ मा मित्रलाल बस्याल । यसले पनि नेकपा एमालेको वर्चस्व अन्य दलभन्दा रहेको देखाउँछ ।
स्थानिय मतदाता तथा विश्लेषकहरुका अनुसार पर्वत निर्वाचनले पुराना नेताहरूको अनुभव, पार्टी पकड र नीतिगत प्रतिबद्धता, साथै नयाँ उम्मेदवार र वैकल्पिक दलको प्रभावबीचको सन्तुलन परीक्षण अवश्य गर्नेछ । गिरी र जोशी दुबै टेष्टेड नेताहरू हुन्,अन्य उम्मेदवारलाई एकपटक हेरौँ न त भन्ने मतदाताको मनोविज्ञान एकातिर अडिक भएर उभिएको छ ।
तर मतदाताको भरोसा कसको पक्षमा जानेछ भन्ने कुरा अझै खुला छ । यसपालीको चुनावले पर्वतको राजनीतिक समीकरणलाई नयाँ ढाँचामा ढाल्ने क्षमता प्रत्यक्ष रुपमा राख्नेछ छ । बाजी कस्ले मार्छ त्यो भने हेर्न बाँकी नै छ ।





























प्रतिक्रिया