बाग्लुङका मतदाता भन्छन्- नागरिकका समस्या बुझ्ने नेतालाई भोट दिन्छौं

बाग्लुङका मतदाता भन्छन्- नागरिकका समस्या बुझ्ने नेतालाई भोट दिन्छौं

केन्द्रबिन्दु
15
Shares

ढोरपाटन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा सक्रिय छन्। घरदैलोमा पुगेका नेतासँग मतदाताले विकास, सुशासन र रोजगारी सिर्जनालाई मुख्य मागका रूपमा राखेका छन्। हरेक चुनावमा आश्वासन दिने तर चुनाव जितेपछि जनतासँग नफर्किने प्रवृत्ति दोहोरिएको उनीहरूको गुनासो छ।

बागलुङ क्षेत्र नं १ अन्तर्गत काठेखोला गाउँपालिका–२ का प्रीतम थापाले स्पष्ट एजेन्डा लिएर आउने उम्मेदवारलाई यसपालि भोट दिने बताएका छन्। तीनपटक मतदान गरिसकेको अनुभव सुनाउँदै उनले चुनाव जिताएका प्रतिनिधिले जनताको अपेक्षाअनुसार काम नगरेको गुनासो गरे।

दूरदराजका बस्तीमा अझै शिक्षा, स्वास्थ्य, खानेपानी र यातायातको सुविधा नपुगेको भन्दै त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने थापाको भनाइ छ। उनका अनुसार चुनाव राम्रो प्रतिनिधि छान्ने अवसर भएकाले लहलहैमा लागेर होइन, सोचविचार गरेर मत दिनु जरुरी छ। भुइँमान्छेका समस्या बुझ्ने र नागरिकको आवाज सदनमा उठाउन सक्ने उम्मेदवारलाई मात्रै मत दिनुपर्ने उनी बताउँछन्।

गलकोट नगरपालिका–८ का तुलबहादुर खत्रीले पुराना र नयाँ दुवै पार्टीले जनताको हितमा अपेक्षित काम गर्न नसकेको टिप्पणी गरे। उनका अनुसार विकास र सुशासनको सवालमा सबै पार्टीको धारणा स्पष्ट र व्यवहारमा देखिनुपर्छ। विकट गाउँबस्तीका नागरिक अझै आधारभूत सेवाबाट वञ्चित रहेको भन्दै चुनाव जितेपछि ती समस्या समाधान गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनले बताए।

धेरै चुनावमा सहभागी भएको अनुभव सुनाउँदै खत्रीले चुनाव जितेकाले केही काम गरे पनि पर्याप्त नभएको बताए। अब आउने नेतृत्वले पार्टीका मान्छेलाई मात्रै होइन, सबै नागरिकलाई समान दृष्टिले हेर्नुपर्ने उनको भनाइ छ। निःस्वार्थ भावनाले काम गर्ने र विभेद नगर्ने नेतालाई जिताउनुपर्नेमा उनले जोड दिए।

ढोरपाटन नगरपालिका–९ का ७४ वर्षीय कुलबहादुर सुनारले सही उम्मेदवार छान्न नसक्दा जनताले दुःख पाएको बताए। २०४८ सालपछिका सबै निर्वाचनमा मतदान गर्दै आएको उल्लेख गर्दै उनले भोट दिएको नेता चुनावपछि एकपटक पनि गाउँ नफर्किएको आरोप लगाए। अब आफ्ना लागि मात्र होइन, जनताका समस्यालाई प्राथमिकतामा राख्ने उम्मेदवारलाई मत दिने सोच बनाएको उनले बताए।

Logo