भद्रपुर। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा चुनावी गतिविधि तीव्र बन्दै गएका छन्। निवर्तमान सभामुख र उपसभामुख, पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा युवा अभियन्तासम्म उम्मेदवार बनेपछि यस क्षेत्रको राजनीतिक प्रतिस्पर्धा थप चर्किएको छ।
यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना चुनावी मैदानमा छन्। नेकपा (एमाले) बाट निवर्तमान सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल, जनमत पार्टीबाट रमेशकुमार राजवंशी, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु, मङ्गोल नेसनल अगनाइजेसनबाट अकलबहादुर तामाङ, नेपाल जनमुक्ति पार्टीबाट मानबहादुर पुलामी मगर तथा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट श्रीप्रसाद सिटौला प्रतिस्पर्धामा छन्।
यसैगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती, श्रम संस्कृति पार्टीबाट केशवकुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अर्जुनकुमार पाण्डे, उज्यालो नेपाल पार्टीबाट चुडाकर्ण बेघा, जनता समाजवादी पार्टी नेपालबाट तिलबहादुर राई तथा स्वतन्त्र उम्मेदवारका रूपमा पुण्यप्रसाद आचार्य, रमेशकुमार कार्की र डा युवराज सङ्ग्रौला मैदानमा छन्।
यस निर्वाचन क्षेत्रमा अर्जुनधारा नगरपालिका, कन्काई नगरपालिका–८ र ९, बुद्धशान्ति गाउँपालिकाका वडा नं १, २ र ३ तथा बिर्तामोड नगरपालिकाका वडा नं १ देखि ९ सम्म पर्दछन्। निर्वाचन आयोगका अनुसार यहाँ एक लाख ४७ हजार ५२२ मतदाता छन् भने ४९ मतदानस्थलमा १६५ मतदान केन्द्र तोकिएका छन्।
गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका घिमिरे २८ हजार ७१६ मतसहित विजयी भएका थिए। स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल २६ हजार ४५५ मतसहित उपविजेता बनेका थिए। तत्कालीन नेकपा (माओवादी केन्द्र) का हरिकुमार राना मगरले १३ हजार ९३० र रास्वपाका रुद्रप्रसाद गिरीले आठ हजार ७८१ मत पाएका थिए। यसपटक उपविजेता नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुनः उम्मेदवार बनेका छन्।
समानुपातिकतर्फ २०७९ मा एमालेले २६ हजार ४९०, रास्वपाले २२ हजार ५१७, कांग्रेसले १५ हजार ४९८, राप्रपाले सात हजार ८८०, माओवादी केन्द्रले तीन हजार ३८६ र नेकपा (एकीकृत समाजवादी) ले एक हजार १६९ मत प्राप्त गरेका थिए।
गत निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल थियो भने माओवादी केन्द्रका उम्मेदवारलाई कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका थिए।
निर्वाचन इतिहास हेर्दा २०७४ मा एमालेकी पवित्रा खरेल निर्वाचित भएकी थिइन्। दोस्रो संविधानसभा निर्वाचन २०७० मा एमालेका प्रेम गिरी र पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका धर्मशिला चापागाईं विजयी भएका थिए। २०४७ पछि २०६४ अघिसम्मका निर्वाचनमा पनि एमालेले जित हासिल गर्दै आएको देखिन्छ।
एमाले उम्मेदवार घिमिरेले छोटो कार्यकालमा सुरु गरिएका विकास आयोजना पूरा गर्न पुनः जनसमर्थन आवश्यक रहेको बताएका छन्। हात्ती प्रभावित क्षेत्रमा देउनिया खोलामा फेन्सिङ, मुख्य चोकहरूमा सडक विस्तार र भद्रपुर–बिर्तामोड चार लेन सडक अन्तिम चरणमा पुगेको उनको दाबी छ।
रास्वपा उम्मेदवार राना मगरले यसै क्षेत्रमा जन्मिएको र सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई आधार बनाएर उम्मेदवारी दिएको बताएकी छन्। उनले संविधान निर्माणका बाँकी काम पूरा गर्ने र सामाजिक न्याय तथा समावेशिता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार चापागाईंले बिर्तामोडलाई उपमहानगर र स्मार्ट सिटी बनाउने योजना अघि सारेकी छन्। महिला अस्थायी आवास गृह, पर्यटन सडक सञ्जाल र धार्मिक पर्यटन प्रवद्र्धन उनका प्रमुख एजेन्डा हुन्।
नेपाली कांग्रेसकी उम्मेदवार प्रसाईंले नेतृत्व अब युवा पुस्ताले लिनुपर्ने बताउँदै युवामैत्री कानुन, कृषि क्षेत्रमा महिला र युवाको सहभागिता र आत्मनिर्भरता आफ्नो प्राथमिकता भएको बताएकी छन्।
स्वतन्त्र उम्मेदवार डा सङ्ग्रौलाले कानुनी सुधार र संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै संसद्मा पुगेर सुधारका मुद्दा उठाउने बताएका छन्। राप्रपा उम्मेदवार नेपालले हिन्दू राज्य र सनातन धर्मको संरक्षण आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्।
स्थानीय मतदाताले भने नयाँ प्रतिनिधिले कृषि, ऊर्जा र उद्योगमा लगानीको वातावरण बनाउनेमा जोड दिनुपर्ने बताएका छन्। अर्जुनधारा–८ का मेहर मगरले कृषि, शिक्षा, स्वास्थ्य र साना उद्योगलाई प्राथमिकतामा राख्ने सांसद आवश्यक रहेको बताए। बिर्तामोड–४ का कृष्ण चुडालले मेडिकल हब, शैक्षिक विकास र औद्योगिक पार्क स्थापना गर्न सक्ने दूरदर्शी नेतृत्वको आवश्यकता औँल्याए।
बहुआयामिक विकासका योजना, चर्चित उम्मेदवार र स्थानीयको उच्च अपेक्षाले झापा–२ को निर्वाचनलाई चासोको केन्द्र बनाएको छ।





























प्रतिक्रिया