म्याग्दी चुनावी रणभूमिमा टक्कर दिने अनुहार

म्याग्दी चुनावी रणभूमिमा टक्कर दिने अनुहार

केन्द्रबिन्दु
30
Shares

म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुख्यौली थलोमा चुनाव लड्न आएका पुनको सक्रियताले यहाँको राजनीतिमा तरङ्ग ल्याएको छ । राष्ट्रिय राजनीतिमा सिर्जना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिको उदय, प्रतिस्पर्धी उम्मेदवारको प्रभाव तथा राजनीतिक दल र उम्मेदवारहरूको रणनीतिले म्याग्दीको चुनावी परिणामप्रति चासो बढेको बेनीका धनञ्जयकुमार श्रेष्ठले बताए ।

उनका अनुसार विगतका चुनावमा राष्ट्रियस्तरमा ओझेलमा पर्ने म्याग्दीको चुनावलाई यसपालि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको उम्मेदवारीले चर्चामा ल्याएको छ । राजनीतिक दलहरूको सङ्गठनात्मक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण यसपालि म्याग्दीको चुनाव रोचक बनेको उनले बताए ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (ध्रुव)लाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा पनि उम्मेदवार छन् ।

सार्वजनिक रूपमा स्वतन्त्र उम्मेदवार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उम्मेदवारी कायमै छ । एमालेका श्रेष्ठ दोस्रोपटक उम्मेदवार बनेका छन् भने बाँकी सबै पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । २०७४ पछि यसपटक दलहरूबीच गठबन्धन नगरी एक्लाएक्लै प्रतिस्पर्धा हुन लागेको छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी भएका थिए । प्रदेशसभा १ (१) र (२) मा गठबन्धनबाट माओवादीका हरि भण्डारी र रेशम जुग्जाली (सुविन) निर्वाचित भएका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका भूपेन्द्र थापा तत्कालीन वाम गठबन्धनबाट विजयी हुँदा प्रदेशसभा १ (१) मा माओवादीका विनोद केसी र (२) मा एमालेका नरदेवी पुन विजयी भएका थिए । २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका हालका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा विजयी भएका थिए ।

२०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल, २०५६ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेका निल पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, नेकपा (माओवादी केन्द्र)ले नौ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ५७९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २५३ र नेकपा एकीकृत समाजवादीले २८५ मत पाएका थिए ।

२०७९ मा माओवादी, एकीकृत समाजवादी, जनमोर्चासहितका दलहरूको समर्थन पाएका नेपाली कांग्रेसका गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले २० हजार १८९ मत पाएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता छन् । जिल्लामा ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिएका छन् ।

उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो कार्यक्रमका लागि गाउँ पसेका छन् । राजनीतिक गतिविधिले ग्रामीण क्षेत्रमा चहलपहल बढाएको छ । धवलागिरि गाउँपालिका–७ धारापानीका कर्णबहादुर थापाले सबै दल र उम्मेदवारका कुरा सुनेर निर्णय लिने बताए ।

उनका अनुसार भोट माग्न आउने सबै उम्मेदवारलाई स्वागत गर्ने र उनीहरूको योजना सुन्ने गरिएको छ । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका खगवीर पाइजाले पनि सबै उम्मेदवारका विचार र योजना सुनेर निर्णय लिने बताए ।

म्याग्दीका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने तथा कानुन, बजेट र योजनामा जिल्लावासीको आवश्यकता समेट्ने प्रतिबद्धता जनाएका छन् ।

Logo