सिरहामा चुनावी भिडन्तः कतै ‘ह्याट्रिक’ गर्ने दाउ, कतै विरासत जोगाउने सकस !

सिरहामा चुनावी भिडन्तः कतै ‘ह्याट्रिक’ गर्ने दाउ, कतै विरासत जोगाउने सकस !

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सिरहा जिल्लाको चुनावी माहोल अहिले निकै तातिएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका कारण सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राजनीतिक सरगर्मी उच्च छ ।

मधेस प्रदेशमा यसपटक ‘जेनजी’ आन्दोलन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव उल्लेख्य बढेको छ । युवा मतदाताहरू पुराना दलको विकल्प खोजिरहेका छन्, जसले गर्दा लहान र गोलबजार जस्ता सहरी क्षेत्रमा नयाँ उम्मेदवारहरूप्रति आकर्षण बढेको देखिन्छ। यस पटक सिरहामा पुराना शक्ति र नयाँ लहरबीच कडा टक्कर देखिन्छ ।

टिकट वितरण र आन्तरिक कलहका कारण नेताहरूले पार्टी छोड्ने क्रम पनि बढेको छ। उदाहरणका लागि, डा. वीरेन्द्र महतो जसपा छोडेर जनमत पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्। यसले चुनावी गणितलाई फेरबदल गरिदिएको छ ।

निर्वाचनलाई भयरहित बनाउन सिरहामा २,३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । माघ २१ गतेदेखि नै नेपाली सेनाको विशेष टोलीले जिल्लाको सुरक्षा निगरानी बढाइसकेको छ । यस पटकको चुनावमा मधेसका पुराना मुद्दाहरू नागरिकता, सिँचाइ, मधेस पहिचान सँगै सुशासन र भ्रष्टाचार नियन्त्रणका एजेन्डाहरू पनि हावी भएका छन्।

सिरहा -१

निर्वाचन आयोगले तालिका सार्वजनिक गरेसँगै उम्मेदवारहरू घरदैलो र प्रचारप्रसारमा व्यस्त छन्। यस पटकको निर्वाचनमा यस क्षेत्रमा १४ दलका र १८ स्वतन्त्र गरी कुल ३२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

नेपाली काँग्रेसले यसपटक पुराना नेता रामसुन्दर चौधरीलाई टिकट दिएको छ । लामो समय यस क्षेत्रको नेतृत्व गरेका पद्मनारायण चौधरीको सट्टा नयाँ अनुहार ल्याएर कांग्रेसले आफ्नो विरासत जोगाउने प्रयास गरेको छ । २०७९ को निर्वाचनमा एमालेबाट विजयी भएका राम शंकर यादव पुनः चुनावी मैदानमा छन् । उनी आफ्नो कार्यकालमा भएका काम र बलियो सङ्गठनको भरमा जित दोहोर्याउने दाउमा छन् ।

रास्वपाबाट युवा उम्मेदवार बब्लु गुप्ताले र परिवर्तन चाहने मतदाताहरूलाई आकर्षित गरिरहेका छन्। स्थानीय अस्पतालको स्तरोन्नति र जग्गा व्यवस्थापनमा आफ्नो भूमिका रहेको भन्दै उनी प्रचारमा छन्। रास्वपा र अन्य नयाँ शक्तिहरूले पहिलोपटक मतदान गर्न लागेका युवाहरूलाई आकर्षित गरिरहेका छन्, जसले परम्परागत ‘भोट बैंक’ मा हलचल ल्याउन सक्छ।

जसपा नेपालले युवा नेता सत्यनारायण यादवले मधेस आन्दोलनको मुद्दा र युवा छविका साथ प्रतिस्पर्धा गरिरहेका छन्। लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नति, ठाडी–लहान सडक विस्तार र व्यवस्थित ढल निकास,खुटी नहर सञ्चालन र बलान नदीको कटान नियन्त्रण आदि जस्ता चुनाबी अजेण्डाहरु लिएर उम्मेदवार हरु घर दैलो कार्यक्रममा व्यस्त छन्

यस निर्वाचन क्षेत्रमा कुल १,१५,७६० मतदाता (६२,६५२ पुरुष र ५३,१०६ महिला) रहेका छन्। लहान नगरपालिकाको मत निर्णायक मानिने भएकाले सबै दलको ध्यान यसैमा केन्द्रित छ। यस पटक स्वतन्त्र उम्मेदवारहरूको संख्या (१८ जना) धेरै भएकाले परम्परागत दलहरूको मत काटिन सक्ने र नतिजा रोचक हुने अनुमान गरिएको छ।

सिरहा क्षेत्र नं. १ मा २०४६ सालयता नेपाली कांग्रेसले ३ पटक र एमालेले २ पटक जित हासिल गरेका छन्। यसपटक ‘पुरानो विरासत’ र ‘नयाँ लहर’ बीचको रोचक भिडन्तलाई समाचार माध्यमहरूले प्राथमिकताका साथ कभर गरिरहेका छन्।

सिरहा -२

यस क्षेत्रमा अघिल्लो पटकका प्रभावशाली नेताहरूको स्थान परिवर्तन र नयाँ अनुहारको आगमनले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । मुख्य रूपमा तीन–चार पक्षीय भिडन्त हुने देखिएको छ । यसपटक कांग्रेसले नयाँ रणनीतिका साथ चित्रलेखा यादवको स्थानमा नयाँ उम्मेदवार रामचन्द्र यादव लाई अवसर दिएको छ । एमालेले यस क्षेत्रमा आफ्नो प्रभाव बलियो बनाउन नबिन कुमार यादवलाई अघि सारेको छ । उनी चुनावी मैदानमा सक्रियताका साथ मतदाताको घरदैलोमा पुगिरहेका छन्।

सीके राउत नेतृत्वको जनमत पार्टीले विनोद कुमार यादवलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा तेस्रो स्थान हासिल गरेको यो पार्टी यसपटक जित्ने दाबीका साथ गाउँ–गाउँमा ’बजार’ बनाउँदैछ । रास्वपाले पनि यस क्षेत्रमा आफ्नो संगठन विस्तार गरेको छ र नयाँ पुस्ताको मत तान्न शिव शंकर यादवलाई उम्मेदवार बनाएको छ । औरही, बरियारपट्टी र सुखीपुर नगरपालिकाको मत यस क्षेत्रको हारजितमा निर्णायक हुने देखिन्छ।

सिरहा २ का ग्रामीण भेगमा कृषि मुख्य पेशा भएकाले किसानलाई समयमै मल, बीउ र वर्षैभरि सिँचाइको व्यवस्था गर्ने एजेण्डा सबैभन्दा अगाडि छ। हुलाकी राजमार्ग र सहायक सडकहरूको कालोपत्रे गर्ने तथा सुखीपुर, बरियारपट्टी जस्ता नगर र गाउँपालिकाहरूमा सहरी सुविधा विस्तार गर्ने,स्थानीय स्वास्थ्य चौकीहरूको स्तरोन्नति र विशेषज्ञ सेवाको पहुँच र स्थानीय निकायहरूमा हुने अनियमितता रोक्ने र पारदर्शी सेवा प्रवाह गर्ने प्रतिबद्धता सहितको एजेण्डाहरु लिएर उम्मेदवारहरु चुनावमा होमिएका छन् ।

यस क्षेत्रमा करिब १ लाख १५ हजार ७६० मतदाता रहेका छन् । निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा पारेको छ । सिरहामा करिब २,३०० सुरक्षाकर्मी र नेपाली सेनाको विशेष टोली परिचालन गरिएको छ । २०७९ को निर्वाचनमा यहाँबाट जसपाका राजकिशोर यादव विजयी हुनुभएको थियो, तर यसपटक उनी क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएकोले क्षेत्र नं. २ मा ‘नयाँ अनुहार’ बीचको प्रतिस्पर्धाले थप कौतूहल थपेको छ ।

सिरहा -३

२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी निकै बढेको छ । यस क्षेत्रमा पूर्वमन्त्रीहरू र नयाँ युवा उम्मेदवारहरूबीचको प्रतिस्पर्धालाई सञ्चारमाध्यमहरूले मुख्य आकर्षणका रूपमा हेरेका छन्। यस क्षेत्रमा ३ दर्जनभन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा छन्।

नेकपा (एमाले)बाट पूर्व कानुनमन्त्री लीलानाथ श्रेष्ठ पुनः उम्मेदवार छन् । उनी यस क्षेत्रबाट २०७४ र २०७९ का निर्वाचनमा विजयी भइसकेका छन् र यसपटक ’ह्याट्रिक’ गर्ने दाउमा छन् । कांग्रेसले यसपटक नयाँ अनुहारका रूपमा सुभाषचन्द्र यादवलाई उठाएको छ । उनी पूर्वमन्त्री सीतादेवी यादवका छोरा हुन् र कांग्रेसको बलियो संगठनको भरमा चुनाव जित्ने लक्ष्य राखेका छन् ।

नेकपाले पूर्व शान्तिमन्त्री विश्वनाथ साहलाई चुनावी मैदानमा उतारेको छ । उनी अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । उनको यस क्षेत्रमा पुरानो पकड रहेको मानिन्छ । रास्वपाले शम्भु यादवलाई उम्मेदवार बनाएको छ । युवा र परिवर्तन चाहने मतदाताहरूमाझ रास्वपाको चर्चा बढ्दो छ।

रोहित महतोले जनमत पार्टीबाट उम्मेदवारी दिएका छन्, जसले विशेष गरी किसान र श्रमिक वर्गको मत तान्ने कोसिस गरिरहेका छन् । मतदाताहरूले यसपटक ‘काम गर्ने’ नेतालाई प्राथमिकता दिने देखिएको छ ।

गोलबजार–लगदी–गदियानी सडक जस्ता अधुरा सडक आयोजनाहरूको निर्माण र धुलोमुक्त सडक,कमला नदीमा स्थायी पुल र तटबन्ध निर्माण, तथा सिँचाइ सुविधाको विस्तार,सिरहा क्याम्पसको स्तरोन्नति, प्राविधिक शिक्षाको व्यवस्था र स्थानीय अस्पतालहरूमा आधुनिक स्वास्थ्य उपकरणको व्यवस्था साथै ऐतिहासिक सलहेस फूलबारी र यस क्षेत्रका धार्मिक स्थलहरूको प्रवद्र्धन गरी रोजगारी सिर्जना गर्ने नेतालाई प्राथमिकता दिने उनीहरुको तयारी छ ।

एकातिर ‘ह्याट्रिक’ को तयारीमा रहेका अनुभवी नेताहरू छन् भने अर्कोतिर परिवर्तनको नारासहित आएका नयाँ अनुहारहरू छन् । अघिल्लो पटकको भन्दा यसपटकको दलीय समीकरण फेरिएकाले नतिजा अनुमान गर्न कठिन छ ।

सिरहा -४

यस क्षेत्रमा पनि निर्वाचनका लागि चुनावी प्रतिस्पर्धा निकै रोचक र ‘हेभिवेट’ भिडन्तको रूपमा चर्चामा छ । यस क्षेत्रमा यसपटक ५ जना पूर्वमन्त्रीहरू प्रत्यक्ष चुनावी मैदानमा होमिएकाले यसलाई ‘प्रतिष्ठाको लडाइँ’ भनिएको छ । जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव यस क्षेत्रका अनुभवी खेलाडी हुन्। उनी आफ्नो पकड जोगाउने प्रयासमा छन्।

डा. वीरेन्द्र महतो जनमत पार्टीबाट उम्मेदवारी दिएको छ । २०७९ मा जसपाबाट निर्वाचित भएका महतो यसपटक निर्वाचनको मुखमा जनमत पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका छन्। उनले सीके राउतको पार्टीको बढ्दो प्रभावलाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्।

नेकपाबाट पूर्वमन्त्री अजयशंकर नायक कम्युनिष्ट संगठनको बलमा प्रतिस्पर्धामा छन्। अर्का पूर्वमन्त्री धर्मनाथ साहले एमालेको बलियो संगठन र आफ्नो व्यक्तिगत प्रभावका आधारमा चुनावी अभियान चलाइरहेका छन्। नेपाली कांग्रेसले चन्द्रकला देवी यादवलाई अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तपेश्वर यादवले ’घण्टी’ चिन्हका साथ चुनौती दिइरहेका छन्।

गाउँ–गाउँमा उम्मेदवारहरू पुग्दा मतदाताले खानेपानीको हाहाकारलाई मुख्य समस्याको रूपमा उठाएका छन्। ‘जसले पानी दिन्छ, उसैलाई भोट’ भन्ने जनमत विकास भइरहेको स्थानीयहरूले जनाएका छन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट जसपा नेपालका बिरेन्द्र प्रसाद महतो विजयी भएका थिए । उनले कुल २४१०२ मत ल्याउँदै उनको प्रतिद्वन्दी जनमतका बिरेन्द्र प्रसाद साह १६२९४ मत ल्याएको तथ्यांकमा उल्लेख छ ।

यस क्षेत्रमा कुल १,०६,६८६ मतदाता रहेका छन् जसमा ५६,७१७ पुरुष र ४९,९६९ महिला रहेको छ । निर्वाचनका लागि १२९ मतदान केन्द्रहरू तोकिएका छन्। यस क्षेत्रमा विगतमा कुनै एक दलको मात्र वर्चस्व रहेको देखिँदैन। २०७४ मा यहाँबाट राजकिशोर यादव विजयी भएका थिए भने त्यसअघि विभिन्न समयमा कांग्रेस, एमाले र माओवादीका उम्मेदवारहरूले पालैपालो जित हासिल गरेका छन्।

५ पूर्वमन्त्रीहरूको भिडन्त र ‘बालेन फ्याक्टर’ भन्दै चर्चामा रहेको रास्वपाको उपस्थितिले गर्दा यहाँको चुनावी नतिजा पूर्वानुमान गर्न कठिन रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Logo