चरीकोट । नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले ‘जेनजी’ आन्दोलनका क्रममा नेताहरूको घरमा भएको आगलागी र त्यहाँ भेटिएको भनिएको पैसाको विषयमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
शनिबार भीमेश्वर नगरपालिकाको रामकोटमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलको घरमा भेटिएको भनिएको पैसाको सत्यतथ्य बाहिर ल्याउन सरकार, अख्तियार, सीआईबी र प्रहरीले खोजतलास गर्नुपर्ने धारणा राखे।‘जसको जहाँ जति पैसा थियो, त्यो अब व्यक्तिगत रहेन, सार्वजनिक विषय बन्यो,’उनले भने।
शिवाकोटीले यस प्रक्रियामा नेपाली कांग्रेसले कुनै पनि अवरोध वा विरोध नगर्ने स्पष्ट पार्दै न्यायसंगत ढंगले र पूर्वाग्रह नराखी सार्वजनिक पदमा बसेका सबैको छानबिन हुनुपर्नेमा जोड दिए। उनले कांग्रेसले कहिल्यै पनि आफ्ना मान्छेलाई जोगाउने वा संरक्षण गर्ने पक्षमा नरहेको दाबीसमेत गरे।
आफ्नो पत्रकारिताको पृष्ठभूमिलाई स्मरण गर्दै शिवाकोटीले आफू जहिले पनि सत्ता र शक्तिको दुरुपयोगका विरुद्ध उभिएको बताए। तत्कालीन सभामुख कृष्णबहादुर महराको अनैतिक प्रकरण र तत्कालीन सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड घोटाला अडियो प्रकरण सार्वजनिक गर्दा आफूले ज्यानको जोखिम मोल्नुपरेको, भूमिगत हुनु परेको र घर छोडेर भाग्नुपरेको तीतो अनुभव उनले सुनाए ।
पत्रकार जहिले पनि सत्ताको विपक्षमा हुने र शक्तिमा हुनेहरूलाई नै प्रश्न गरिने उनको तर्क थियो । राजनीतिलाई मूलबाटै सफा गर्न सकिन्छ कि भन्ने उद्देश्यले आफू यस क्षेत्रमा लागेको भन्दै उनले पार्टीभित्र पनि केन्द्रीय समितिमा आफ्नो फरक मत राख्दै कतिपय अवस्थामा अप्ठ्यारोमा परेर पनि सत्यको पक्षमा लडिरहेको उल्लेख गरे।
दोलखाको विकासका लागि आफ्ना योजनाहरू सुनाउँदै उनले जिल्लालाई धार्मिक र प्राकृतिक पर्यटनको केन्द्र बनाउने सङ्कल्प गरे । बुद्ध धर्मसँग जोडिएका लप्ची, बिगु र जिरी जस्ता क्षेत्रहरूलाई बुद्ध सर्किटको रूपमा विकास गर्ने र श्रृङ्गी ऋषिले तपस्या गरेको क्षेत्रलाई रामायण सर्किटसँग जोड्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
साथै दोलखा भीमसेन, कालिन्चोक भगवती र सैलुङ जस्ता पर्यटकीयस्थलको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने तथा छोरोल्पा हिमतालमा हिउँदको समयमा’आइस हक्की’ खेलाउने योजनासमेत उनले अघि सारे ।





























प्रतिक्रिया