म्याग्दीका सुवासले पाए ११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

म्याग्दीका सुवासले पाए ११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

केन्द्रबिन्दु
15
Shares

म्याग्दी। बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरे ।

बुवाको पहिचान नखुलेका कारण घिमिरेले लामो समय नागरिकता प्राप्त गर्न सकेका थिएनन् । १६ वर्षको उमेरदेखि सुरु गरेको प्रयास सफल भएपछि उनले सन्तुष्टि व्यक्त गरे ।

सुवासलाई उनकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए । नागरिकताका लागि सुवासले तीन वर्षअघि सबै प्रक्रिया पूरा गरी आवेदन दिएका थिए ।

नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन २०८२ तथा नियमावलीको चौथो संशोधन, २०८२ अनुसार सुवासलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

नागरिकता प्राप्त भएपछि आफूलाई नागरिक भएको अनुभूति भएको सुवासले बताए । शारीरिक रूपमा अपाङ्गता भएका सुवास नागरिकता नहुँदा सरकारी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित थिए ।

रोजगारीका अवसर र बैंक खाता सञ्चालन गर्न नपाउँदा उनको दैनिकी असहज हुँदै आएको थियो । सुवास र उनकी आमा कमला आफन्तको घरमा आश्रय लिएर बस्दै आएका छन् । सुवास कमलाका कान्छा छोरा हुन् । हाल भारतमा कार्यरत कमलाका जेठा र माइला छोराले नागरिकता बनाइसकेका छन् भने साइला छोराले अझै नागरिकता पाएका छैनन् ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन भएसँगै नागरिकता ऐन, २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि बेनीका मिर खान, यास्मीन बेगम र मालिका गाउँपालिका–५ देवीस्थानकी सीमा पुनलाई पनि आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो ।

थप केही सेवाग्राहीले आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि आवेदन पेस गरेका छन् । प्राप्त आवेदनको छानबिन र आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

Logo