बागलुङमा पुराना उम्मेदवारलाई नयाँको चुनौती

बागलुङमा पुराना उम्मेदवारलाई नयाँको चुनौती

नेकपा-जनमोर्चा गठबन्धनले काँग्रेस -एमालेको निद्रा हराम

केन्द्रबिन्दु
27
Shares

बागलुङ। विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको प्रतिस्पर्धा बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा परिचित राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित भएको यो क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको समेत बलियो संगठन रहेको क्षेत्रका रूपमा चिनिन्छ ।

बागलुङ सदरमुकामसमेत रहेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ दलका ११ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दोहोरिएका उम्मेदवार एमालेका हीराबहादुर केसी हुन् ।

तेस्रो पटक संसद् प्रवेश गर्ने योजनामा रहेका केसी यसपटक जितको अपेक्षामा छन् । तर पुरानै दलका नयाँ उम्मेदवार र नयाँ दलका युवा उम्मेदवारबाट चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । यस निर्वाचन क्षेत्रमा आफ्नो प्रभाव कायम राख्ने योजनामा रहेको एमालेलाई कांग्रेस, जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका उम्मेदवार चुनौतीका रूपमा देखिएका छन् ।

यसअघि चुनावी पराजय बेहोरे पनि राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका केसी दोस्रो संविधानसभा र गण्डकी प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए । एमालेको विद्यार्थी संगठन हुँदै विभिन्न जिम्मेवारी सम्हालेका केसी विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग र विसं २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दीपेन्द्रबहादुर थापा मगरसँग एक हजार ४८० मतान्तरले पराजित भएका थिए ।

यस क्षेत्रमा अन्य दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् भने नेकपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरिएको छ । उक्त गठबन्धनअनुसार क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई नेकपाले सघाएको छ भने क्षेत्र नम्बर २ मा नेकपाका ज्ञामनाथ गैरेलाई जनमोर्चाले समर्थन गरेको छ ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भीमबहादुर श्रीस, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का र राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी उम्मेदवार छन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका श्रीस पूर्व स्ववियू सभापति समेत हुन् ।

बागलुङ क्षेत्र नम्बर १ लाई राष्ट्रिय जनमोर्चाको आधार क्षेत्रका रूपमा लिइन्छ । यस क्षेत्रबाट यसअघि चित्रबहादुर केसी सांसद निर्वाचित भएका थिए । उक्त राजनीतिक विरासत जोगाउने उद्देश्यसहित जनमोर्चाले पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारीले नेकपा मसाल र राष्ट्रिय जनमोर्चाका विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधि गर्दै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा उद्यमी सुशील खड्का उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याण विक्रम आचार्य, नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, मङ्गोल नेशनल अर्गनाइजेशनबाट गुमाकुमारी बुढा रानामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालबाट सहविर थापा, श्रम संस्कृति पार्टीबाट लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट टेकबहादुर केसी पनि चुनावी प्रतिस्पर्धामा छन् ।

Logo