काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेशका आठै जिल्लामा चुनावी सर्गमी उत्कर्षमा पुगेको छ । राजनीतिक दल हरू आ-आफ्नो अजेण्डा लिएर मैदानमा उत्रँदा यस पटकको प्रतिस्पर्धा विगतको भन्दा अझ रोचक र कडा देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री देखि सङ्घ सरकारका पुर्बमन्त्री र मधेश प्रदेश सरकारका पूर्व मन्त्रीहरूको ठुलो संख्या चुनावी मैदानमा रहेका छन् ।
प्रदेशबाट प्रतिनिधि सभामा ३२ जना सांसद प्रत्यक्ष निर्वाचन मार्फत निर्वाचित हुनेछन् । ३२ सिटमा ८ जिल्लामा प्रतिनिधि सभाका लागि ५५ भन्दा बढी पूर्व मन्त्रीहरू चुनावी दौडमा रहेका छन्, जसमा सत्तारुढ र प्रतिपक्षी दलका प्रभावशाली अनुहारसङै राजनीतिक शक्तिका दाबेदारहरू पनि छन् । अनुभवी नेताहरूको पुनरागमन र युवामुखी उम्मेदवारको चुनौतीले मतदाताबिच उत्सुकता बढेको छ भने दलहरू बिच प्रतिष्ठाको लडाईं समेत सुरु भएको छ ।
समग्र प्रदेशमा केही ४३ साल यताका सदाबहार उम्मेदवार देखि १८ पटक मन्त्री बनेका देखि केही समय अघि मन्त्रीबाट राजीनामा दिएका सम्म चुनावी मैदानमा रहेका छन् ।
हेरौँ, जिल्लागत रिपोर्ट
सप्तरी
सप्तरी जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय तथा प्रादेशिक राजनीतिको उच्च प्रोफाइल भएका पूर्व मन्त्रीहरू सहित ’हेभीवेट’ उम्मेदवारहरूका कारण चर्चाको केन्द्रमा छन्। सप्तरीबाट चुनावी मैदानमा उत्रिएका पूर्व मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरू ५ जना चुनावी मैदानमा छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र ३ बाट उम्मेदवारी दिएका छन् । उनी प्रचण्ड नेतृत्वको सरकार तथा केपी ओलीको नेतृत्वको सरकारमा यादव पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सहित स्वास्थ्य मन्त्री भई सकेका छन् ।२०७६ सालमा तत्कालीन केपी ओली सरकारको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री भएका थिए । केही समय अगाडी स्वास्थ्य बाट हेरफेर गरी यादव लाई जिम्मेवारी दिएको थियो । केही समय पछि यादव ले स्वतः राजीनामा बुझाएका थिए । यादवले सबै सरकारमा हुँदा उपप्रधानमन्त्री सहितको मन्त्री पद लिएका थिए ।
यसअघि सप्तरी–२ बाट निर्वाचन लडेका यादवले यस पटक सप्तरी–३ रोजेका छन्। उनी २०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए र पछि बारा–२ को उपनिर्वाचनबाट विजयी भएका थिए।
मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री हाल स्वाभिमान पार्टीका अध्यक्ष सतिश कुमार सिंहले सप्तरी क्षेत्र २ बाट उम्मेदवारी दिएका छन् । जनमत पार्टीबाट प्रदेशको मुख्यमन्त्री बनेका सिंहले पार्टी परित्याग गरी स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका छन्। उनले निर्वाचन लड्न प्रदेश सभा सदस्यबाट राजीनामा दिएर चुनाव लड्न आएका हुन् ।
पूर्व मन्त्री उमेश कुमार यादव सप्तरी क्षेत्र २ बाट चुनावी मैदानमा छ । २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा यादव नेकपा माओवादीको तर्फ बाट सिचाई मन्त्री बनेका थिए । उनी केही समयअघि मात्र नेकपा (एमाले) छोडेर जसपा नेपालमा प्रवेश गरेका थिए। पूर्व माओवादी नेता समेत रहेका यादवले ६५ वर्षको उमेरपछि निर्वाचन नलड्ने घोषणा गर्दै यस पटक अन्तिम पटक मैदानमा उत्रिएको बताएका छन्।
नेपाली काँग्रेसको तर्फबाट सप्तरी–४ बाट पुनः पूर्व मन्त्री तेजुलाल चौधरी उम्मेदवार बनेका छ। उनी सो क्षेत्रका बहालवाला सांसद समेत हुन्। चौधरी यस अघिको केपी ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । जेन जी आन्दोलन पछि उनी राजीनामा दिएका थिए ।
मधेश प्रदेशकी पूर्व गृह तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सप्तरी–४ बाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएकी छिन् । उनी यस अघि प्रदेशको लाल बाबु राउत नेतृत्वको सरकारमा पहिला आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेकी थिइन् । केही समय पछि मन्त्रालय हेरफेर पछि गृह तथा सञ्चार राज्य बनेकी थिइन् ।
सिरहा
सिरहाका ४ वटै क्षेत्रमा यस पटक पूर्वमन्त्रीहरूको बाक्लो उपस्थिति छ। विशेष गरी क्षेत्र नं ४ मा ५ जना र क्षेत्र नं ३ मा २ जना पूर्व मन्त्री चुनावी मैदानमा उत्रिएका छन्।
क्षेत्र १ मा नेकपाबाट उम्मेदवारी दिएका रामचन्द्र यादव २०६४ सालमा गिरिजा प्रसाद कोइरालाको अन्तरिम सरकारमा सामान्य प्रशासन राज्यमन्त्री थिए । उनी तत्कालीन समयमा नेकपा एमालेसङ आबद्ध थिए ।
क्षेत्र १ बाट अर्का उम्मेदवार बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । २८ वर्षको उमेरमा मन्त्री बनेका उनी नेपालको इतिहासमै सबै भन्दा कम उमेरमा मन्त्री बन्ने व्यक्ति हुन्।
क्षेत्र नम्बर ३ मा दुई जना पूर्वमन्त्रीहरूको चुनावी भिडन्त हुँदै छ । नेकपा एमालेबाट लिलानाथ श्रेष्ठ यसअघि केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए । त्यो भन्दा अगाडी उनी थप ३ मन्त्रालय सम्हाली सकेका छन् । उनी यस क्षेत्रबाट ’ह्याट्रिक’ जित्ने दाउमा छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विश्वनाथ साहले चुनावी प्रतिस्पर्धामा रहेका छन् । साह २०६८ सालमा बनेका तत्कालीन झलनाथ खनालको सरकारमा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री थिए । उनी २०७९ को निर्वाचनमा श्रेष्ठसँग झिनो मतान्तरले पराजित भएका थिए।
सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ जना पूर्व मन्त्रीहरू चुनावी मैदानमा उत्रिएका छन्। यस क्षेत्रलाई जिल्लाकै सबैभन्दा “हेभीवेट“ र रोचक प्रतिस्पर्धा हुने क्षेत्रको रूपमा हेरिएको छ।
मिर्चैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयन अनुसार यहाँ ५ जना प्रभावशाली पूर्व मन्त्रीहरू एकअर्काविरुद्ध चुनाव लड्दैनन् । जसपा नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादव क्षेत्र ४ मा उम्मेदवारी दिएका छन् । उनी यसअघि सिरहा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए, तर यस पटक आफ्नै पुरानो क्षेत्र ४ मा फर्किएका हुन्।
जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो पनि यसै क्षेत्रबाट चुनाव लड्दै छन् । उनी पूर्व वन तथा वातावरण मन्त्री हुन् । महतो २०७९ को चुनावमा यसै क्षेत्रबाट जसपा नेपालको टिकटमा विजयी भएका थिए। तर, यस पटक चुनावको मुखमा जसपा नेपाल छोडेर जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । अजयशंकर नायक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका छन् । नायक पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुन् । उनी २०७४ को निर्वाचनमा राजकिशोर यादवसँग पराजित भएका थिए र यस पटक बदला लिने दाउमा छन्।
धर्मनाथ साह नेकपा एमालेको तर्फबाट उम्मेदवार हुन् उनी २०६३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिए । साह जनआन्दोलनपछि गठित गिरिजा प्रसाद कोइरालाको संयुक्त सरकारमा मन्त्री भए । उनी नेकपा एकीकृत समाजवादी परित्याग गरी एमाले प्रवेश गरेर उम्मेदवारी दिएका हुन्।
विश्वेन्द्र पासवान बहुजन शक्ति पार्टीबाट उम्मेदवारी दिएका छन् । २०७२ सालको सरकारमा पासवान जनसङ्ख्या तथा वातावरण मन्त्री थिए । पछि मन्त्रालय हेरफेर पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाले । उनी दलित समुदायको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन्।
यी सबै पुराना र स्थापित पूर्वमन्त्रीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार तपेश्वर यादव ले चुनौती दिइरहेका छन् । त्यस्तै सिरहा–३ मा पनि क्षेत्र नं ४ जस्तै “पूर्वमन्त्री भर्सेस पूर्वमन्त्री“ को अवस्था रहेको छ। लिला नाथ श्रेष्ठ र विश्वनाथ साहको प्रतिस्पर्धालाई धेरैले चासोका साथ हेरेका छन्।
धनुषा
प्रतिनिधि सभा निर्वाचनका लागि धनुषाका ४ वटै निर्वाचन क्षेत्रमा पूर्व मन्त्री तथा प्रभावशाली नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।
धनुषा निर्वाचन क्षेत्र १ बाट उम्मेदवारी दिएका मातृका प्रसाद यादव नेकपा माओवादीबाट पटक पटक मन्त्री बनेका छन् । २०६३ को अन्तरिम सरकारमा वन तथा भू-संरक्षण मन्त्री थिए । २००६५ सालमा भुमि सुधार तथा व्यवस्था मन्त्री हुँदै २०७४ सालको सरकारमा उद्योग तथा आपूर्ति मन्त्री थिए । उनी आफ्नो कार्यकालमा निक्कै हक्की र कडा स्वभावका मन्त्रीका रूपमा चिनिन्थे । विशेष गरी बन मन्त्री हुँदा स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेको घटनाले उनी निकै चर्चामा आएका थिए । पूर्व मन्त्री मातृका यादव यस क्षेत्रबाट पुनः प्रतिस्पर्धामा उत्रिएका छन्।
धनुषा निर्वाचन क्षेत्र २ मा पूर्व मन्त्री हरूबिचमै प्रतिस्पर्धा देखिएको छ । पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झा (नेकपा)ले यस क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्। पूर्वमन्त्री रामकृष्ण यादव (नेपाली काँग्रेस) पनि यसै क्षेत्रबाट चुनावी मैदानमा छन् । २०७८ मा छोटो कार्यकालका लागि जसपाको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका उमाशंकर अरगरियाले एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् ।
धनुषा निर्वाचन क्षेत्र ३ लाई ’हेभीवेट’ नेताहरूको भिडन्त रहेको छ । उपप्रधानमन्त्री तथा गृह मन्त्री भैसकेका विमलेन्द्र निधि यस क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । निधि २०७० फागुनमा सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात बनेका थिए । २०७७ सालमा केपी ओली सरकारको नेतृत्वमा बनेका सरकारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेकी जुली कुमारी महतो एमालेबाट निधिसँग प्रतिस्पर्धा गर्दैछिन् ।
पूर्वप्रदेश मन्त्री प्रमेश्वर साहले पनि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनले २०७४ मा यसै क्षेत्रको ’ख’ बाट प्रदेश सभा जितेका थिए । धनुषा निर्वाचन क्षेत्र ४ मा रघुवीर महासेठ नेकपा एमाले महासेठले उम्मेदवारी दिएका छन् । महासेठ २०८० फागुनमा प्रचण्डको सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री थिए । त्यो भन्दा अगाडी ओलीको सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्री थिए ।
महेन्द्र यादव काँग्रेसको तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसको सह–महामन्त्री यादव शेरबहादुर देउवाको सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेका थिए ।
सर्लाही
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक सरगर्मी निकै चुलिएको छ। यस क्षेत्रबाट विभिन्न समयमा मन्त्री पद सम्हालिसकेका र प्रभावशाली छवि बनाएका नेताहरू चुनावी मैदानमा उत्रिएका छन् ।
पूर्व विना विभागीय मन्त्री तथा यस क्षेत्रका पूर्व सांसद शम्भुलाल श्रेष्ठ काँग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । उनी २०७० को संविधान सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । पूर्व मन्त्री तथा २०७४ को प्रतिनिधि सभा सदस्य प्रमोद साह यस पटक माओवादी केन्द्र र एकीकृत समाजवादीको एकीकरणपछि बनेको ’नेपाली कम्युनिस्ट पार्टी’ को तर्फबाट प्रतिस्पर्धामा छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा निर्वाचनका लागि पूर्व मन्त्रीहरू र पुराना प्रतिद्वन्द्वीहरूबिच पुनः कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रबाट मुख्य उम्मेदवारका रूपमा पूर्व मन्त्री तथा ’नेपाली कम्युनिस्ट पार्टी’ का नेता महेन्द्र राय यादव ले मनोनयन दर्ता गराएको छ, जो यसअघि लगातार तीन पटक (२०७०, २०७४ र २०७९) यसै क्षेत्रबाट विजयी भइसकेको छ ।
यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए । उनको मुख्य प्रतिस्पर्धीका रूपमा पूर्व उपप्रधानमन्त्री तथा ’राष्ट्रिय मुक्ति पार्टी’ का अध्यक्ष राजेन्द्र महतो मैदानमा छन् उनी यसअघि २०७० र २०७९ को निर्वाचनमा पनि यादवसँगै प्रतिस्पर्धा गरेको थियो । महतो २०७८ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए । यस अघि उनी एक पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री (२०६८) र तीन पटक वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका छ ।
पूर्व मन्त्रीहरूबीचको यो ’ह्याट्रिक’ भिडन्त र नयाँ राजनीतिक शक्तिहरूको उपस्थितिले गर्दा सर्लाही–२ को निर्वाचनलाई यस पटक पनि निकै चासोका साथ हेरिएको छ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनका लागि पूर्व मन्त्रीहरूको उपस्थितिले प्रतिस्पर्धालाई निकै रोचक र बहुपक्षीय बनाएको छ। यस क्षेत्रबाट सबैभन्दा चर्चामा रहेका उम्मेदवार पूर्व उपप्रधान तथा गृह र भौतिक पुर्बधार मन्त्री तथा ’नेपाली कम्युनिस्ट पार्टी’ का शीर्ष नेता नारायणकाजी श्रेष्ठ छ , जसले यस पटक सर्लाही–३ रोज्ने भएपछि स्थानीय राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। श्रेष्ठलाई चुनौती दिन नेकपा एमालेबाट निवर्तमान सांसद तथा पूर्व मन्त्री हरिप्रसाद उप्रेती मैदानमा छ , जसले २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट जित हासिल गरेको थियो ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्व राज्यमन्त्री राम प्रीत पासवान लाई उम्मेदवारका रूपमा छ । पूर्व उपप्रधानमन्त्री श्रेष्ठ र निवर्तमान सांसद उप्रेतीबिचको मुख्य टक्करका साथै पूर्व राज्यमन्त्री पासवानको प्रभावले यो क्षेत्रको चुनावी नतिजा यस पटक निकै अनपेक्षित हुनसक्ने अनुमान गरिएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभा निर्वाचनका लागि पूर्व मन्त्रीहरू र राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरूबिचको प्रतिस्पर्धाले देशकै ध्यान केन्द्रित गरेको छ। यस क्षेत्रबाट काँग्रेसका नवनिर्वाचित सभापति तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा उम्मेदवार बनेको छ, जसले आफ्नो परम्परागत क्षेत्र काठमाडौँ–४ छाडेर मधेश झरेपछि राजनीतिक वृत्तमा निकै चर्चा छ । थापालाई कडा टक्कर दिन निवर्तमान सांसद डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका छन्, जसले यसअघि यसै क्षेत्रबाट लगातार तीन पटक निर्वाचन जितिसकेका छन् । यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्व राज्यमन्त्री उदयकान्त मिश्र लाई उम्मेदवारका रूपमा अघि सारेको छ भने नेकपा एमाले र अन्य दलहरूले पनि आफ्ना प्रभावशाली स्थानीय नेताहरूलाई मैदानमा उतारेका छन् ।
काँग्रेस सभापति थापा र रास्वपाका उम्मेदवार सिंहबिचको यो ’हाई–प्रोफाइल’ भिडन्तलाई यस पटकको निर्वाचनको रोचक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
महोत्तरी
महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचनका लागि पूर्व मन्त्रीहरू र स्थापित नेताहरूबिचको भिडन्त हुने देखिएको छ । यस क्षेत्रबाट पूर्व स्वास्थ्य तथा जनसङ्ख्या साथै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल ले ’नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) को तर्फबाट उम्मेदवारी दर्ता गराएको छ, जो यसअघि यसै क्षेत्रबाट तीन पटक निर्वाचित भइसकेको छ । पोख्रेलको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका निवर्तमान सांसद लक्ष्मी महतो कोइरीसँग हुने छ, जसले २०७९ को निर्वाचनमा पोखरेललाई पराजित गरेको थियो ।
२७ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेको यस क्षेत्रमा पूर्व मन्त्री पोखरेलको विरासत फर्काउने दाउ र नयाँ उम्मेदवारहरूको चुनौतीले निर्वाचनको नतिजा निकै प्रतीक्षित बनेको छ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचनका लागि पूर्व मन्त्रीहरू र पुराना प्रतिस्पर्धीहरूबिच निकै रोचक भिडन्त हुने देखिएको छ । यस क्षेत्रबाट सबैभन्दा प्रमुख उम्मेदवारका रूपमा २० पटक मन्त्री भएर रेकर्ड कायम गरिसकेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी पुनः मैदानमा छ । उसलाई चुनौती दिन काँग्रेसले पूर्व सांसद किरण यादव लाई उम्मेदवार बनाएको छ ।
यस क्षेत्रमा भण्डारी, यादव र नदाफबीचको पुरानै त्रिकोणात्मक प्रतिस्पर्धा दोहोरिएको छ। कुल ३७ जना उम्मेदवारहरू रहेको यस क्षेत्रमा स्थापित ’हेभीवेट’ नेताहरूलाई स्वतन्त्र र नयाँ दलका उम्मेदवारहरूले समेत कडा टक्कर दिने अनुमान गरिएको छ, जसका कारण महोत्तरी–२ को चुनावी नतिजा यस पटक निकै अर्थपूर्ण हुने देखिएको छ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ निर्वाचनका लागि पूर्व मन्त्री र प्रभावशाली नेताहरूबिचको प्रतिस्पर्धाले नयाँ मोड लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको यस निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्व कृषि मन्त्री हरिनारायण यादव ले ’परिवारवाद’ को विरोधमा स्वतन्त्र रूपमा बागी उम्मेदवारी दर्ता गराएको छ, जसले गर्दा यहाँ पूर्व मन्त्री यादव र डा. ठाकुर बिचको भिडन्त रोचक बनेको छ ।
४१ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा पूर्व मन्त्री हरिनारायण यादवको कडा चुनौती र पुराना स्थापित दलहरूबिचको रस्साकस्सीले महोत्तरी–३ को चुनावी नतिजा यस पटक निकै अनपेक्षित हुनसक्ने अनुमान गरिएको छ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा सभा निर्वाचनका लागि पूर्व मन्त्री र प्रभावशाली नेताहरूबिचको प्रतिस्पर्धा रोचक बनेको छ। यस क्षेत्रबाट काँग्रेसले निवर्तमान सांसद तथा पार्टीका प्रभावशाली नेता महेन्द्र कुमार राय लाई पुनः मैदानमा उतारेको छ, जसले २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट जित हासिल गरेको थियो। उसको मुख्य प्रतिस्पर्धीका रूपमा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट चुनावी मैदानमा छन् ।
जनमत पार्टीबाट मनोज कुमार साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको उपस्थितिले यो क्षेत्रको चुनावी समीकरणलाई थप चुनौतीपूर्ण बनाएको छ। खास गरी पूर्व राज्यमन्त्री डा. यादव र निवर्तमान सांसद रायबिचको पुरानै प्रतिद्वन्द्वयता र नयाँ शक्तिहरूको उदयले महोत्तरी–४ को चुनावी नतिजा यस पटक निकै अर्थपूर्ण हुने देखिएको छ।
रौतहट
रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचनका लागि पूर्व प्रधानमन्त्री तथा पूर्व मन्त्रीहरूबीचको प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमा ठुलो चर्चा पाएको छ। यस क्षेत्रबाट मुख्य उम्मेदवारका रूपमा पूर्व प्रधानमन्त्री तथा ’नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) का सह–संयोजक माधवकुमार नेपाल रौतहट १ मा चुनाव लड्दै छन् । यसै गरी, यस क्षेत्रमा अर्का प्रभावशाली नेता तथा पूर्व मन्त्री अनिलकुमार झा चुनावी प्रतिस्पर्धामा हुने छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेसले पूर्व मन्त्री मोहम्मद आफताब आलमका छोरा डा. फिरदोस आलम लाई उम्मेदवार बनाएको छ, जसले आफ्नो पारिवारिक राजनीतिक विरासत जोगाउने प्रयास गरिरहेको छ। उसलाई मुख्य चुनौती दिन निवर्तमान एमालेका सांसद किरण कुमार साह मैदानमा छन् , जसले २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेको थियो।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनका लागि पूर्व मन्त्री र प्रभावशाली नेताहरूबिचको प्रतिस्पर्धा निकै पेचिलो बनेको छ। यस क्षेत्रबाट आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री प्रभु साह पुनः चुनावी मैदानमा छन् । साहले २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा यसै क्षेत्रबाट जित हासिल गरेको थियो र यस क्षेत्रका निकै प्रभावशाली नेता मानिन्छ । साहलाई चुनौती दिन नेकपा एमालेले पूर्व प्रदेश मन्त्री तथा निवर्तमान प्रदेश सभा सदस्य कुन्दन कुशवाहक लाई उम्मेदवार बनाएको छ, जसले गर्दा यो निर्वाचन ’पूर्व सहकर्मी’ बिचको रोचक भिडन्तमा परिणत भएको छ। कुल ४१ जना उम्मेदवारहरू रहेका छन् ।
बारा
बारा निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनका लागि पूर्व मन्त्री र प्रभावशाली नेताहरूबिचको चुनावी प्रतिस्पर्धा रहेका छ । यस क्षेत्रबाट नेकपा एमालेकी नेतृ तथा पूर्व कृषि मन्त्री ज्वालाकुमारी साह पुनः चुनावी मैदानमा उत्रिएकी छन्, जो यसअघि २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् । उनलाई चुनौती दिन ’नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) बाट पूर्व राज्यमन्त्री तथा जनता समाजवादी पार्टीका पूर्व नेता रामबाबु कुमार यादव उम्मेदवार बनेको छ।
पूर्व मन्त्री साहको विरासत जोगाउने प्रयास र पूर्व राज्यमन्त्री यादवको बलियो चुनौतीका कारण बारा–३ को निर्वाचन प्रदेशकै चासोको क्षेत्र बनेको छ।
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचनका लागि पूर्व मन्त्री र प्रभावशाली नेताहरूबिचको चुनावी प्रतिस्पर्धा रहेको छ । यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी का नेता तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले उम्मेदवारी रहेका छन् उनी यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएको थियो। श्रेष्ठ २०७८ सालमा गठित शेर बहादुर देउवाको सरकारमा नेकपा एस को तर्फबाट मन्त्री बनेका थिए । समाजवादी छोडी उनी एमालेबाट उम्मेदवार बनेका हुन् । उनलाई चुनौती दिँदै नेकपा एमालेले पूर्व सांसद एकवाल मियाँ लाई चुनावी मैदानमा उतारेको छ ।
अर्कोतिर यसअघि प्रदेश सरकारको राज्यमन्त्रीसमेत बनिसकेका हाल रास्वपा बाट उम्मेदवारी दर्ता गरेका रह्बर अन्सारी पनि यसै क्षेत्रमा चुनावी उठेका छन् । अन्सारी उद्योग पर्यटन तथा वन मन्त्रालयका राज्मंत्री पदमा २०७९ सालको माघ २४ गते शपथ लिएका थिए । अन्सारी रास्वपाका उम्मेदवार हुन् ।
पर्सा
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचनका लागि पूर्व मन्त्री र स्थापित नेताहरूबिचको प्रतिस्पर्धाले चुनावी सरगर्मी बढाएको छ। यस क्षेत्रबाट मुख्य उम्मेदवारका रूपमा पूर्व स्वास्थ्य तथा वन मन्त्री प्रदीप यादव जसपा छोडी एमालेबाट उम्मेदवार बनेका छन् । यादव २०७९ सालमा गठित शेर बहादुर देउवाको नेतृत्वमा गठित सरकारमा वन तथा वातावरण थिए । लगतै प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सरे । पछि काँग्रेस र एमाले को संयुक्त सरकारमा खानेपानी मन्त्री भए । जेन जी आन्दोलन पछि राजीनामा दिए । उनलाई चुनौती दिन काँग्रेसले पूर्व सांसद अनिल कुमार रुङ्गटा लाई मैदानमा उतारेको छ पूर्व मन्त्री यादवको दल परिवर्तन र पुरानै प्रतिद्वन्द्वी रुङ्गटाबीचको यो भिडन्तलाई पर्सा–१ को निर्वाचनमा निकै चासोका साथ हेरिएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचनका लागि पूर्व मन्त्री र नयाँ उम्मेदवारहरूबिचको प्रतिस्पर्धा हुँदै छ । यस क्षेत्रबाट काँग्रेसले पूर्व कानुन मन्त्री अजयकुमार चौरसिया लाई पुनः मैदानमा उतारेको छ, नेकपा एमालेले मधेसवादी राजनीतिबाट भर्खरै पार्टी प्रवेश गरेकी युवा नेतृ रिमाकुमारी यादव लाई उम्मेदवार बनाएको छ, जसलाई एमालेले जिल्लाकै कान्छो र बलियो उम्मेदवार बनाएको हो ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनका लागि पूर्व मन्त्री र अनुभवी नेताहरूबिचको भिडन्त निकै कडा हुने देखिएको छ। यस क्षेत्रबाट काँग्रेसले पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी लाई पुनः उम्मेदवार बनाएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि पूर्व मन्त्री र अनुभवी नेताहरूबिचको कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रबाट काँग्रेसले २०७९ सालमा प्रचण्डको नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल लाई पुनः चुनावी मैदानमा उतारेको छ, जसले २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट जित हासिल गरेको थिए ।
२४ जना उम्मेदवारहरू रहेको यस क्षेत्रमा पूर्व मन्त्री रिजालले आफ्नो सातौँ पटकको संसदीय यात्रामा रहेका छन् ।































प्रतिक्रिया