विचार मिल्नेहरुसँग एकताका लागि नेकपाको ढोका खुल्ला छ : प्रचण्ड

विचार मिल्नेहरुसँग एकताका लागि नेकपाको ढोका खुल्ला छ : प्रचण्ड

केन्द्रबिन्दु
54
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताएका छन् ।

बागलुङको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले देशभर एकताको सन्देश दिने गरी बागलुङमा सहकार्य गरिएको बताए।

संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताए। “विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै आएका छौँ । यसपटक पनि देशलाई सङ्कटबाट टार्न कार्यगत एकता र गठबन्धन हुन्छ”, उनले भने,“गत भदौँ २३ र २४ मा भएको आन्दोलनपछिको अवस्थालाई हेरेर हामीले पार्टी एकता र सहकार्य अगाडि बढाएका छौँ । त्यही क्रममा जनमोर्चासँग सहकार्य भएको हो ।” प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी २६ घटकविच नयाँ विचार र नयाँ उद्देश्यका साथ निर्माण भएको भन्दै विचार मिल्ने पार्टीहरुसँग एकताको ढोका खुल्ला रहेको जिकिर गरे।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देश गम्भीर सङ्कटमा परेको र निर्वाचनले सही मार्गमा ल्याउने विश्वास व्यक्त गरे। उनले आगामी फागुन २१ मा हुने निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गर्दै देशको हितमा काम गर्नेलाई पहिचान गरेर मतदान गर्न आग्रह गरे।

यहाँ रहेका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा नेकपाले जनमार्चाका कृष्ण अधिकारी र क्षेत्र नं २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई सघाउने सहमतीका साथ चुनावी अभियान अगाडी बढेको छ ।

Logo