यी हुन् चुनावमा आफैंले आफैंलाई भोट हाल्न नपाउने शीर्ष नेताहरु

यी हुन् चुनावमा आफैंले आफैंलाई भोट हाल्न नपाउने शीर्ष नेताहरु

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालको निर्वाचन कानुन अनुसार कुनै पनि उम्मेदवारले आफू उम्मेदवार भएको क्षेत्रमा मतदान गर्नका लागि सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । यदि कुनै उम्मेदवारको नाम एउटा निर्वाचन क्षेत्रमा छ तर उनले अर्को क्षेत्रबाट उम्मेदवारी दिएका छन् भने आफूलाई मतदान गर्न पाउँदैनन्।

निर्वाचन आयोगले हालसम्म मतदाता नामावलीमा नाम भएको ठाउँबाहेक अन्यत्रबाट मतदान गर्ने व्यवस्था मिलाएको छैन। यसपटक पनि प्रधानमन्त्रीको दाबेदारदेखि ठूलो संख्याका शीर्ष नेताहरुले आफू उम्मेदवार रहेकै क्षेत्रबाट मतदान गर्न नपाउने भएका छन् । जसका कारण उनीहरु आफैले आफैलाई मतदान गर्न नपाउने भएका हुन् ।

मतदाता नामावली एक ठाउँ र उम्मेदवारी अर्कै ठाउँ भएका कारण प्रधानमन्त्रीको दावीसहित मैदानमा उत्रिएका उम्मेदवारले आफैंलाई भने भोट दिन नपाउने भएका हुन् ।

निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार नागरिकले मतदान गर्न पाउने स्थान भनेको उसको नाम सूचीकृत भएको मतदान केन्द्र मात्र हो । उम्मेदवार बन्न देशको जुनसुकै निर्वाचन क्षेत्र रोज्न सकिने भए पनि मतदान भने आफ्नो नामावली रहेको स्थानमै गर्नुपर्ने प्रावधान छ । यही कानुनी प्रावधानका कारण फागुन २१ मा हुने निर्वाचनमा शीर्ष र चर्चित उम्मेदवारहरु आफ्नै नाममा मत हाल्नबाट वञ्चित हुने छ ।

यस्ता उम्मेदवारहरुको सूचीमा आउँछन्, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । उनको मतदाता नामावलीमा भक्तपुर २ मा नाम छ भने उम्मेदवारी दर्ता झापा ५ बाट दिइरहेका छन् । चितवन ३ को नामावलीमा नाम रहेको नेकपा संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ यसपटक रुकुम पूर्वबाट चुनाव लड्दै छन् ।

नेकपाका सह संयोजक माधव कुमार नेपाल काठमाडौँका बासिन्दा हुन्, तर उनले रौतहट -१ लाई चुनावी केन्द्र बनाएका छन् । त्यस्तै नेकपाकै नेता नारायणकाजी श्रेष्ठ काठमाडौँमा मतदाता नामावलीमा नाम रहेको यस पटकको चुनाव सर्लाही ३ बाट चुनाबी मैदानमा छन् । नेकपाका अर्का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन काठमाडौंको स्थायी बासिन्दा हुन् र यसपटक उनले रोल्पा १ बाट आफ्नो उम्मेदवारी दिएका छन् ।

रास्वपाका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने काठमाडौंका बासिन्दा हुन् भने उनले हालसम्म चितवन २ बाट चुनाव लड्दै आएका छन् । त्यस्तै, रास्वपाका वरिष्ठ बालेन शाहले यसपालिको चुनाव झापा ५ बाट उम्मेदवारी दिएका छन् । उनी काठमाडौंका बासिन्दा हुन् ।

रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ–१ बाट उम्मेदवार छन्, तर उनको नामावली गोरखा–१ मा छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं–१ बाट उम्मेदवार भए पनि मतदाता नामावली ललितपुरमा छ । एमाले सचिव भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार छन्, तर उनको नामावली मोरङ–३ मा छ।

नेपाली काँग्रेसका सभापति गगन थापा विगतको चुनावमा काठमाडौं -४ बाट निर्वाचित हुँदै आए पनि यस पटकको चुनावमा सर्लाही -४ बाट चुनावी मैदानमा होमिएका छन् । अर्का काँग्रेसका नेता प्रदीप पौडेल तनहुँको बासिन्दा भए पनि काठमाडौं ५ बाट चुनाव लड्दै छन् ।

यसैगरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सुनसरी ४ का स्थायी बासिन्दा हुन् भने यसपटकको चुनावमा सप्तरी ३ बाट उम्मेदवार बनेका छन् ।

पहिलोपटक आफ्नो उम्मेदवारी दिएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रामेछापका बासिन्दा हुन् भने काठमाडौं ४ बाट चुनाव लड्दै छन् । खोटाङ स्थायी बासिन्दा भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार महाविर पुन म्याग्दीबाट उम्मेदवार बनेका छन् । उनी काठमाडौं बासिन्दा हुन् ।

नेताहरूले आफ्नो प्रभाव रहेको वा जित्ने सुनिश्चितता महसुस गरेको क्षेत्र रोज्दा धेरैजसो आफ्नो स्थायी बसोबास वा नामावली भएको क्षेत्रभन्दा बाहिर पुग्ने धेरै छन् । समानुपातिकतर्फका उम्मेदवारहरूले भने सिंगो देशलाई एक निर्वाचन क्षेत्र मानिने हुनाले आफ्नो नाम जहाँ भए पनि सम्बन्धित दललाई मतदान गर्न पाउँछन् ।

Logo