लुम्बिनी। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् ।
लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबै निकायको जिम्मेवारी भएको उल्लेख गर्दै आवश्यक समन्वयका साथ अघि बढ्न निर्देशन दिएकी बैठकपछि प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए।
बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा प्रदेशभरको निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे छलफल भएको थियो। जिल्लास्थित सुरक्षा समितिलाई स्थानीय चुनौती पहिचान गरी सोहीअनुसार सुरक्षा रणनीति लागू गर्न भनिएको प्रमुख सचिव काप्रीले बताए।
मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा एकीकृत सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिइएको छ। प्रदेशका १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षा योजना तयार गरेको र निर्वाचन कमाण्ड सेलसँग समन्वय भइरहेको पनि उल्लेख गरिएको छ।
बैठकमा नेपाली सेनाका पृतनापति हिम्मतबहादुर विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरी बलका अधिकारी तथा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए।
प्रदेशका २६ निर्वाचन क्षेत्रमा विशेषगरी तराईका जिल्लामा रहेको खुला सीमाना प्रमुख चुनौतीका रूपमा रहेको विषयमा छलफल भएको छ। पश्चिम नवलपरासीदेखि बर्दियासम्म करिब ४१४ किलोमिटर खुला सीमाना रहेको छ। रुकुमपूर्वजस्तो हिमाली जिल्लामा सञ्चार पहुँच र सूचना व्यवस्थापनसम्बन्धी चुनौतीलाई पनि ध्यानमा राखिएको बताइएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त सूचनाका आधारमा आवश्यक सुरक्षा रणनीति तय गरिने बैठकमा उल्लेख गरिएको छ। प्रदेश सरकार, जिल्लास्थित निकाय र स्थानीय तहबीच समन्वय गर्दै निर्वाचन तयारी अघि बढाइएको जनाइएको छ।





























प्रतिक्रिया