आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी

आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय भएका छन्। आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मत आफ्नो पक्षमा पार्न प्रयास भइरहेका छन्। यसले गाउँघरमा चुनावी चहलपहल बढाएको छ।

प्रचार शैलीमा विविधता देखिएको छ। प्रत्यक्ष चिनजान नभएका केही उम्मेदवार मतदाताका खेतबारी जोत्न, मल बोक्न, सागसब्जी केलाउनदेखि बिरामी बोक्नेसम्मका काममा संलग्न भएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

कतिपय उम्मेदवारले पहिले भेट भएको, चिनजान वा नातासम्बन्ध रहेको उल्लेख गर्दै मत मागिरहेका दृश्य पनि सामाजिक सञ्जालमा देखिन्छन्। उम्मेदवारहरूले मुलुकको राजनीतिक अवस्था र आगामी योजनाबारे धारणा राख्दै निर्वाचित भएमा अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन्।

नेपाली कांग्रेसका गगनकुमार थापा, नेकपा (एमाले)का केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहलगायत उम्मेदवारले अपनाएका फरक प्रचार शैली र अभिव्यक्ति राजनीतिक वृत्तमा बहसको विषय बनेका छन्।

ऋषि धमला, महावीर पुन, सूर्यबहादुर थापा, हर्कराज राई, ज्ञानबहादुर शाहीलगायत उम्मेदवार पनि फरक शैलीका कारण चर्चामा छन्। केही उम्मेदवार मतदातासँग प्रत्यक्ष साक्षात्कारमा केन्द्रित छन् भने केहीले सामाजिक सञ्जाललाई मुख्य माध्यम बनाएका छन्।

विसं २०७९ को निर्वाचनपछि प्रमुख दलका रूपमा देखिएका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा आमसभा आयोजना गरिरहेका छन्।

पत्रकार राजेन्द्र दाहालका अनुसार प्रविधिले उम्मेदवारलाई मतदातामाझ पुग्न सहज बनाएको छ। उनका अनुसार लक्ष्य मतदाताको मत प्राप्त गर्नु नै हो।

फागुन २१ गते १६५ स्थानका लागि हुने निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार छन्। निर्वाचन आयोगका अनुसार एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ। १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।

पूर्वप्रशासक देवकुमारी गुरागाईंले प्रचार शैली सभ्य हुनुपर्ने बताएकी छन्। उनका अनुसार लोकप्रियताका लागि अपनाइने केही शैलीले परिपक्वताको अभाव देखाएको छ।

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)का महासचिव कृष्णमान प्रधानले प्रचार शैली मतदातालाई स्पष्ट मार्गचित्र दिनुभन्दा अन्योलमा पार्ने खालको देखिएको टिप्पणी गरेका छन्। उनका अनुसार उम्मेदवारले स्पष्ट योजना प्रस्तुत गर्न आवश्यक छ।

Logo