जनताको विश्वासमाथि कुनै सम्झौता हुँदैन,हाम्रालाई होइन, राम्रालाई छान्नुस् : मनहरि तिमिल्सिना

जनताको विश्वासमाथि कुनै सम्झौता हुँदैन,हाम्रालाई होइन, राम्रालाई छान्नुस् : मनहरि तिमिल्सिना

केन्द्रबिन्दु
48
Shares

पर्वत । प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाले निर्वाचन अभियानका क्रममा फलेवास क्षेत्रका मतदातामा देखिएको जागरण, सचेतता र विवेकपूर्ण सहभागिताले आफूलाई थप जिम्मेवार बनाएको बताएका छन्। फलेवास नगरपालिका १ कार्किनेटामा भएको चुनावी सभालाई सम्वोधन गर्दै सवैभन्दा कान्छा उम्मेदवार तिमिल्सिनाले जनताको विश्वास र आत्मीयताले उर्जा थपेको बताए। हातेमालो बाट परिवर्तन सम्भव रहेको भन्दै उनले पर्वतको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।
उनले भने, “जनताको विवेकपूर्ण सहभागिता नै स्वस्थ लोकतन्त्रको बल हो। यहाँहरूले देखाउनुभएको विश्वास र आत्मीयताले मलाई अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्ने प्रेरणा दिएको छ। यो विश्वासलाई परिणाममा बदल्नु अब मेरो कर्तव्य हुनेछ ।”

उनले आफू झुटा आश्वासन नभई ठोस कार्ययोजना लिएर मतदातासामु आएको उल्लेख गर्दै भने, “म भाषण गर्न होइन, काम गर्न आएको हुँ। हुन सक्ने र गर्न सकिने कार्यक्रमको स्पष्ट खाका तयार गरेको छु । आफ्नै कार्यकालमा देखिने गरी परिणाममुखी काम गर्ने मेरो प्रतिबद्धता छ ।”

युवा उम्मेदवारका रूपमा आफू पर्वतको भविष्यसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले भने, “म यही माटोमा जन्मिएको, यही हुर्किएको तपाईंहरूकै छोरा हुँ। जिल्लाको पीडा, सम्भावना र आवश्यकता नजिकबाट बुझेको छु। पर्वतलाई समृद्ध र आत्मनिर्भर बनाउने अभियानमा तपाईंहरूको साथ चाहिन्छ।”

उनले युवाहरूको भविष्य सुरक्षित बनाउन विशेष योजना अघि सारेको जानकारी दिँदै भने, “अब युवाले बाध्य भएर विदेशिनु पर्ने अवस्था अन्त्य गर्नुपर्छ। पर्वतमै सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना, आईसीटी हब स्थापना र डिजिटल आयका अवसर विस्तार गर्ने मेरो प्राथमिकता हो। युवाको क्षमता यहीँ प्रयोग हुने वातावरण बनाउनेछु।”

तिमिल्सिनाले भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता जनाउँदै भने, “म भ्रष्टाचार, भनसुन र नातावादको विरुद्ध छु। योग्यता र क्षमताका आधारमा अवसर पाइने प्रणाली स्थापना गर्न संसदमा सशक्त आवाज उठाउनेछु। जनताको विश्वासमाथि कुनै सम्झौता हुने छैन।”

उनले मतदातासँग भावनात्मक अपिल गर्दै थपे, “यसपटक पार्टी मात्र होइन, उम्मेदवारलाई पनि हेरेर मत दिनुहोस्। हाम्रालाई होइन, राम्रालाई छान्नुस्। तारा चिन्हमा तपाईंहरूको अमूल्य मत दिएर पर्वतको भविष्य बदल्ने अवसर प्रदान गर्नुहोस्। तपाईंहरूको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”

उनले पर्वतको विकास, रोजगारी सिर्जना, डिजिटल पूर्वाधार विस्तार र समावेशी समृद्धिका लागि आफूले स्पष्ट योजना बनाएको उल्लेख गर्दै जनताको साथ र समर्थनले नयाँ परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo