काठमाडौं । नेपालको वामपन्थी राजनीतिमा राजेन्द्र पाण्डे एक स्थापित नाम हो । २०१३ सालमा धादिङको गजुरीमा जन्मिएका पाण्डेको राजनीतिक यात्रा विद्यार्थी आन्दोलन र शिक्षण पेसाबाट सुरु भएको थियो। ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन सम्भव छ’ भन्ने अठोटका साथ पूर्णकालीन राजनीतिमा होमिएका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्।
पाण्डेको राजनीतिक संघर्ष निकै लामो छ। २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गर्दा जेल परेका पाण्डेको भेट त्यहाँ झापाली राजबन्दीहरूसँग भयो, जसले उनको राजनीतिक दिशा नै बदलिदियो। २०३३ सालमा ‘राष्ट्र विप्लव’को मुद्दामा १० वर्ष जेल र १० हजार जरिवाना तोकिएका उनले आफ्नो जीवनका साढे ६ वर्षभन्दा बढी समय जेलभित्रै बिताएका छन्। २०३६, २०३८ र २०४२ सालका ऐतिहासिक शिक्षक आन्दोलनहरूको नेतृत्व गरेका पाण्डे तत्कालीन नेकपा मालेको सह(सचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति बनेका थिए।
संसदीय राजनीतिमा उनी एक अपराजित जनप्रतिनिधि हुन्। धादिङबाट २०४८, २०५१, २०५६ र २०७०, ०७४ मा प्रदेश सभा सदस्य र २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भए । उनी बागमती प्रदेशको मुख्यमन्त्री र संघीय सरकारको स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
नेकपा एमालेको अञ्चल सचिव र केन्द्रीय सदस्य हुँदै लामो समय काम गरेका पाण्डे, पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय उपाध्यक्ष बने । यतिबेला उनी नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट धादिङ क्षेत्र नं. १ मा चुनावी मैदानमा छन्। उनै अनुभवी नेता पाण्डेसँग उनको राजनीतिक विरासत, धादिङको विकासका अधुरा सपना र समसामयिक राजनीतिक मुद्दाहरूमा केन्द्रित रहेर गरिएको केन्द्रबिन्दु संवादको सम्पादित अंश-
अहिले निर्वाचनको माहोल तातिरहेको छ, घरदैलो कार्यक्रम र चुनावी तयारी कस्तो भइरहेको छ ? मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
-पार्टीले टिकट दिने निर्णय गरेपछि हामी तीव्र तयारीमा छौँ। मेरो निर्वाचन क्षेत्रमा ६ वटा पालिका र ५३ वटा वडाहरू छन्। ती सबैलाई परिचालित गर्न १५५ सदस्यीय मूल परिचालन कमिटी र पालिका स्तरमा पनि ५५ देखि १११ सदस्यसम्मका कमिटीहरू गठन गरेका छौँ। ५ वटा पालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भइसकेको छ, जहाँ उत्साहजनक सहभागिता थियो। अहिले म ५३ वटै वडाका कार्यकर्ता र मतदातासँग प्रत्यक्ष भेटघाटमा केन्द्रित छु।
राजेन्द्र पाण्डे ‘टेस्टेड’ मान्छे हो। मैले अधिकारका लागि जेलनेल भोगेँ, हत्कडी भिरेँ र त्यसपछि पूर्वाधार विकासमा लागेँ।
तपाईं २०४३ सालदेखि लगातार चुनाव लड्दै आउनुभएको छ। पञ्चायत कालदेखि अहिलेसम्मको चुनावी भोगाइ र अनुभवमा के फरक पाउनुभयो ?
-४३ सालमा म पञ्चायती व्यवस्था विरोधी ‘जनपक्षीय उम्मेदवार’ का रूपमा उभिएको थिएँ। त्यतिबेला हाम्रो मुख्य उद्देश्य नै पञ्चायतको भण्डाफोर गर्नु र बहुदलीय व्यवस्थाको आवश्यकता बुझाउनु थियो। त्यो बेला थोरै मतले पराजित भए पनि त्यसको एक वर्षभित्रै भएको स्थानीय चुनावमा मैले जिल्ला पञ्चायत सभापति जितेँ।
अहिले समय फेरिएको छ। सुरु(सुरुमा मानिसहरू विचार र पार्टी पद्धतिको पक्षमा जोडिने स्थिति थियो भने अहिले अलिकति लहैलहै र सामाजिक सञ्जालको प्रभाव बढी छ। प्रविधिको प्रयोगले चुनावी प्रचार र मतदाताको मनोविज्ञानमा नयाँ खालको परिस्थिति सिर्जना गरिदिएको छ।
धादिङ -१ मा लामो समयदेखि तपाईं नै उम्मेदवार हुनुहुन्छ। यसपटक मतदाताको परीक्षामा उत्रिँदा केही असहज महसुस भएको छैन ?
-विगतमा म फरक-फरक कालखण्डमा उम्मेदवार बनेँ। ४८ सालपछिको संसदीय राजनीतिमा होस् वा २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा, हामीले कम्युनिष्टहरूले सरकार चलाउँदा कस्तो काम गर्छन् भनेर प्रमाणित गरेर देखायौँ। ७४ सालपछि संविधान च्यात्ने र संसद विघटन गर्ने प्रवृत्तिका विरुद्ध विद्रोह गरेर हामीले एकीकृत समाजवादी निर्माण गर्यौं। अहिले हामी माओवादी केन्द्रसहितका विभिन्न घटकहरू मिलेर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’को तारा चिह्न लिएर नयाँ ढङ्गले जनताको बीचमा आएका छौँ। त्यसैले यो मेरो लागि नयाँ ऊर्जाको चुनाव हो।
यसपटक त पहिलेको जस्तो गठबन्धनको साथ छैन, कांग्रेस लगायतका दलले पनि आफ्नै उम्मेदवार उठाएका छन्। यसले तपाईंको जितमा कस्तो प्रभाव पार्ला ?
-अन्य उम्मेदवारहरूका लागि पहिलो पटक ठाउँ चिन्नु, मान्छे चिन्नु र समस्या बुझ्नुपर्ने चुनौती होला, तर मेरो हकमा त्यो छैन। म त्यही माटोमा भिजेको मान्छे हुँ। ४८ सालमा म सांसद हुँदा मेरो क्षेत्रमा पृथ्वी राजमार्ग बाहेक १ किलोमिटर पनि सडक थिएन। आज मेरो क्षेत्रमा मात्र ४००० किलोमिटर सडक पुगेको छ। विकास निर्माणका काममा मैले गरेको मिहिनेत जनताले देखेका छन्।
कुनै पनि वडाको मान्छे आएर‘म फलानो’ भन्नासाथ म उसको टोल, त्यहाँ भएको काम र बाँकी रहेका योजनाहरू खरर भन्न सक्छु। मतदातासँगको यो आत्मीयता र परिचय नै मेरो सबैभन्दा ठूलो शक्ति हो। त्यसैले अरूलाई भन्दा मलाई चुनावमा जान धेरै सहज छ।
लामो समयदेखि धादिङमा सक्रिय हुनुहुन्छ, यसपटक मतदाताबाट कस्तो प्रतिक्रिया र गुनासो पाउनुभएको छ ?
-मतदाताहरूका बीचमा जाँदा दुई-तीनवटा कुरा स्पष्ट छन्। ‘तपाईंले विकास नगरेको केही छैन’ भन्ने आम धारणा छ। अस्पताल, कलेज, विद्यालय भवन, खानेपानी, बिजुली, सडक र ठूला पुलहरू निर्माण भएका छन्। विकास निर्माणको मामलामा ममाथि प्रश्न उठाउने ठाउँ कमै छ। यद्यपि, केही दुर्गम गाउँहरूमा अझै विकास पुग्न बाँकी छ, तर‘राजेन्द्र पाण्डेले अवसर पाए भने यहाँ पनि पुर्याउँछन्’ भन्ने विश्वास मतदातामा देखिन्छ।
अहिले बजारमा ‘नयाँ’ पार्टीहरूको चर्चा छ, यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
-अहिले केही मानिसहरू ‘नयाँ पार्टी’को कुरा गर्छन्। वास्तवमा विचार, सिद्धान्त र लक्ष्य नयाँ छ कि छैन भन्ने मुख्य कुरा हो। जरा नभएको झार (आकाशबेली) जस्तो, लक्ष्य र गन्तव्य नभएको कुरालाई नयाँ भन्न सकिँदैन। हामीले हिजो निरंकुशता ढालेर बहुदलीय व्यवस्था ल्यायौँ, त्यो नयाँ थियो। संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्था (जहाँ महिला, दलित र पिछडिएका जातिको अनिवार्य प्रतिनिधित्व छ) ल्यायौँ, त्यो झन् नयाँ थियो। हामीले त संविधानमार्फत नयाँ युगको सुरुवात नै गरिसक्यौँ। त्यसैले विचार र परिवर्तनको संवाहकका रूपमा हामी नै सबैभन्दा ‘नयाँ’ हौँ।
कुनै पनि वडाको मान्छे आएर‘म फलानो’ भन्नासाथ म उसको टोल, त्यहाँ भएको काम र बाँकी रहेका योजनाहरू खरर भन्न सक्छु।
मतदाताले तीन पुस्तादेखि तपाईंलाई नै भोट हालिरहेका छन्, उनीहरूले नयाँ अनुहार किन नखोज्ने ?
-भोट अधिकारको सुरक्षा, सुशासन र विकासका लागि हालिन्छ। जनताले आफ्नो आवाज संसदमा कसले सशक्त रूपमा उठाउन सक्छ भनेर हेर्छन्। राजेन्द्र पाण्डे ‘टेस्टेड’ मान्छे हो। मैले अधिकारका लागि जेलनेल भोगेँ, हत्कडी भिरेँ र त्यसपछि पूर्वाधार विकासमा लागेँ। अबको मेरो तेस्रो चरणको प्राथमिकता ‘युवा रोजगारी’ हो।
मैले बागमती प्रदेशको मुख्यमन्त्री हुँदा १० हजार युवालाई सीपमूलक तालिम दिन १५ करोड बजेट छुट्याएर काम सुरु गरेँ। नेपालमा इँटा पार्नेदेखि सुन पसलका कालिगढसम्म बाहिरबाट आउनुपर्ने अवस्था छ। यदि हाम्रा युवालाई दक्ष बनाउन सकियो भने उनीहरूले स्वदेशमै कमाउन सक्छन् र विदेश गए पनि अहिलेको भन्दा तीन गुणा बढी पारश्रमिक (रेमिट्यान्स) पाउँछन्।
अहिले जेन्जी आन्दोलन र पुस्तान्तरणको ठूलो चर्चा छ। तपाईं ४० वर्षदेखि चुनाव लडिरहनुभएको छ, यो आलोचनालाई कसरी लिनुहुन्छ?
युवाहरूले उठाएको भ्रष्टाचार नियन्त्रण र बेथितिको अन्त्यको माग अत्यन्तै जायज छ। उनीहरू सडकमा ओर्लनुअघि नै मैले संसदमा भ्रष्टाचारका विरुद्ध आवाज उठाएको थिएँ। तर, पुस्तान्तरणको नाममा उमेरलाई मात्र आधार मान्नु उचित हुँदैन। राजनीतिमा उमेरभन्दा पनि काम र अठोट मुख्य हो।
कांग्रेसभित्र पनि “संसदमा राजेन्द्र पाण्डे जस्तो मान्छे चाहिन्छ” भन्ने एउटा ठूलो तप्का छ।
मैले १७ वर्षको उमेरदेखि राजनीति सुरु गरेँ, १९ पटक जेल परेँ। यो मेरो व्यक्तिगत स्वार्थका लागि थिएन। यदि कसैले “तँ बुढो भइस्, अब तँ चाहिँदैन” भन्छ भने त्यसका लागि संविधानले रोक्नुपर्यो। मैले मेरो ड्युटी पूरा गरेँ कि गरिनँ भन्ने कुरामा जनताले खबरदारी गर्नुपर्छ। मेरो शरीरले साथ दिएसम्म र जनताले चाहेसम्म सेवा गर्नु मेरो अधिकार पनि हो।
तपाईंमाथि ‘आफ्नो उत्तराधिकारी तयार नगरेको’ आरोप पनि छ नि?
-यो पूर्णतः गलत आरोप हो। मैले ४८ सालमै मेरा सहकर्मीहरू गंगालाल तुलाधार र गुरुप्रसाद बुर्लाकोटीलाई स्थापित गरेँ। २०७४ मा मेरै विद्यार्थी भूमि त्रिपाठीलाई संघीय संसदमा टिकट दिलाएर जिताएँ। मैले सधैँ साथीहरूलाई अगाडि बढाउने कोसिस गरेको छु। अहिले पनि मैले शालिकराम जम्कट्टेल लगायतका साथीहरूलाई प्रस्ताव गरेको थिएँ, तर उहाँहरूले नै “अहिलेको लागि बलियो क्यान्डिडेट तपाईं नै हो” भनेर मलाई उठाउनुभएको हो। यो मेरो अन्तिम चुनाव हो। अब म योग्य र सक्षम साथीलाई जिम्मेवारी सुम्पन तयार छु।
रसुवा-गल्छी-मलेखु-ठोरी हुँदै चीन र भारत जोड्ने व्यापारिक करिडोर निर्माण गर्नु मेरो अर्को मुख्य अठोट हो।
तपाईंले यो मेरो ‘अन्तिम चुनाव’ भन्नुभयो, त्यसो भए धादिङ-१ का मतदाताले राजेन्द्र पाण्डेलाई नै किन फेरि मत हाल्ने ?
-२०७९ को निर्वाचनमा म गठबन्धनको साझा उम्मेदवार हुँदा केही महत्त्वपूर्ण विषयहरूमा प्रतिबद्धता व्यक्त गरेको थिएँ। तीमध्ये धेरै कामहरू प्रक्रियामा छन् तर पुरा हुन बाँकी छ। म ती अधुरा कामलाई एउटा तार्किक निष्कर्षमा पुर्याउन फेरि मैदानमा आएको हुँ।
बुढीगण्डकी जलविद्युत आयोजना (१२०० मेगावाट) राष्ट्रकै भाग्य र भविष्य बदल्ने आयोजना हो। मुआब्जा वितरणमा मात्रै ४३ अर्ब खर्च भइसकेको छ। ६२ किलोमिटर लामो ताल, जल यातायात र पर्यटनको प्रचुर सम्भावना बोकेको यो आयोजनाको निर्माण कार्य सुरु गराउन संसदमा मेरो आवाज आवश्यक छ।
पृथ्वी राजमार्गको चाप कम गर्न धार्के-सीतापाइला सडक बनिसकेको छ। अब गल्छीदेखि मुग्लिन हुँदै गैँडाकोटसम्म नदीको पारिपट्टिबाट अर्को ‘प्यारलल’ रोड बनाउनुछ, ताकि राजधानीको आवागमन कहिल्यै नरोकियोस्। उत्तरी धादिङ जोड्ने यो सडकका लागि मैले मुख्यमन्त्री हुँदा ७४ करोड हालेको थिएँ, तर अझै पुरा भएको छैन। रसुवा-गल्छी-मलेखु-ठोरी हुँदै चीन र भारत जोड्ने व्यापारिक करिडोर निर्माण गर्नु मेरो अर्को मुख्य अठोट हो।
२०७९ को निर्वाचनपछि तपाईंले के-के काम गर्नुभयो त ?
-निर्वाचित भएपछि मैले खासगरी सडक सञ्जालमा ध्यान दिएँ। सिद्धलेक, थाँक्रे, धुनीबेसी, बेनीघाट र गल्छीका विभिन्न गाउँ जोड्ने सडकहरू कालोपत्रे गर्न बजेट व्यवस्था गरेँ। चुनावका कारण अहिले केही ठाउँमा ५० करोड जतिका योजनाहरू रोकिएका छन्, तिनलाई सुचारु गर्नु मेरो दायित्व हो।
भौतिक पूर्वाधारमा त काम भयो होला, तर युवा स्वरोजगारका लागि केही गर्नुभएन भन्ने आरोप छ नि?
-युवा स्वरोजगारको सवालमा राजेन्द्र पाण्डे एक्लैले भन्दा पनि राज्यले नै ठोस नीति लिनुपर्छ। अहिले दलालहरूले सर्टिफिकेट किनेर युवालाई अयोग्य अवस्थामै विदेश पठाइरहेका छन्, जसले गर्दा कार्यस्थलमा दुर्घटना हुने र न्यून पारिश्रमिक पाउने अवस्था छ। मैले बागमती प्रदेशबाट तालिमको सुरुवात गरेँ। यस्तै, कृषि प्रधान देश भनिए पनि हामीसँग आफ्नै मल कारखाना छैन। मैले सिन्धुलीको हरिहरपुरगढीमा वैदेशिक लगानीमा रासायनिक मल कारखाना स्थापनाको पहल सुरु गरेको छु, जसले २-३ वर्षमा उत्पादन दिनेछ।
मुख्यमन्त्री हुँदा धेरै बजेट धादिङमै खन्याउनुभयो, तर पनि मतदाताको गुनासो त कायमै छ नि?
-हाम्रो देशको अर्थतन्त्रको यथार्थ बुझ्न जरुरी छ। हामी १८-१९ खर्बको बजेट ल्याउँछौँ, तर राजस्व संकलन कमजोर छ। ऋणको किस्ता र ब्याज तिर्न तथा कर्मचारी पाल्नै पैसा पुग्दैन। शासनमा आउने बित्तिकै कोही जादुगर हुँदैन कि ढुङ्गालाई सुन बनाइदिने। हाम्रो अवस्था कमजोर छ, तर हामी गरिब होइनौँ। हामीसँग पशुपति र लुम्बिनी जस्ता तीर्थस्थल छन्, ८ वटा अग्ला हिमशिखर छन्। मात्र हामीलाई स्थिर राजनीति र सही योजनाको खाँचो छ।
यो अवस्था सिर्जना हुनुमा कसको दोष देख्नुहुन्छ?
-मुख्य कुरा राजनीतिक अस्थिरता हो। यो अस्थिरता कसले ल्यायो? ठूला दलहरूले नै ल्याए। दुई-तिहाइको सरकार हुँदा पनि उनीहरूले देशलाई यो अवस्थामा पुर्याए। यो उनीहरूकै कर्मको फल हो। त्यसैले अहिले मतदाताले असाध्यै गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।
आशिका मेरै ठाउँकी छोरी हुन्। उम्मेदवार बनेर मत माग्नु स्वभाविक प्रक्रिया हो, मैले यसलाई कुनै चुनौतीका रुपमा लिएको छैन ।
२०७९ को निर्वाचनमा गठबन्धनबाट जित्नुभयो, अहिले एक्लै चुनावमा होमिँदा लोकप्रियतामा मात्रै भर पर्नुपर्ने अवस्था हो ?
-७९ को निर्वाचनमा हामी तीन दल मिलेर ३६ हजार भोट ल्याएका थियौँ। अहिले कांग्रेस छुट्टै छ भने हामी (एकीकृत समाजवादी र माओवादी केन्द्र) मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ को रूपमा एक ठाउँमा छौँ। हिजो गठबन्धनको उम्मेदवार हुनु र आज आफ्नै कम्युनिष्ट कार्यकर्ताको बीचमा हुनुमा धेरै फरक छ, अहिले कार्यकर्तामा छुट्टै आत्मीयता र सक्रियता छ।
मेरो प्रतिस्पर्धी दल एमालेका साथीहरूले हिजोको २७ हजार भोट बाकसमा प्याक भएर बसेको ठानेका होलान्, तर आज स्थिति फरक छ। धादिङको एमाले संगठन पैदल हिँडेर गाउँ-गाउँमा मैले नै बनाएको हुँ। मैले नै राजनीति सिकाएका र शपथ गराएका हजारौँ साथीहरू एमालेमा हुनुहुन्छ। उहाँहरू मलाई माया गर्नुहुन्छ र भन्नुहुन्छ- “हामी पार्टीमा जे भए पनि भोट चाहिँ राजेन्द्र पाण्डेलाई नै दिन्छौँ।” त्यसैले मेरो विरासतको ‘भकारी’ सुरक्षित छ, त्यो सम्पत्ति म कहाँ नै आइपुग्छ। साथै, कांग्रेसभित्र पनि “संसदमा राजेन्द्र पाण्डे जस्तो मान्छे चाहिन्छ” भन्ने एउटा ठूलो तप्का छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आशिका तामाङ पनि मैदानमा हुनुहुन्छ, उहाँलाई कत्तिको चुनौती मान्नुहुन्छ ?
-बहुदलीय व्यवस्थामा सबैले प्रतिस्पर्धा गर्न पाउँछन्। उनी मेरै ठाउँकी छोरी हुन्। उम्मेदवार बनेर मत माग्नु स्वभाविक प्रक्रिया हो, मैले यसलाई अन्यथा लिएको छैन र मेरो लागि यो कुनै चुनौती पनि होइन। उम्मेदवारी दर्ताको दिन मैले एमालेका उम्मेदवारसँग हात मिलाएर सद्भाव साटासाट गरेँ, यदि रास्वपाका साथीहरू भेटिएको भए उहाँहरूलाई पनि निर्वाचनलाई एउटा पर्वको रूपमा लिऔँ भन्थेँ।
संसदमा मेरो आगामी भूमिका कृषकलाई अनुदान र आधुनिक प्रविधि दिलाउने दबाबमूलक कार्यमा केन्द्रित हुनेछ।
पुरानो दलप्रति युवाहरू निराश छन्, उनीहरूको विश्वास फर्काउने के योजना छ ?
हाम्रो पार्टीले यसपटक १६४ मध्ये १२० सिटमा युवाहरूलाई नै उठाएको छ। मैले एकीकृत समाजवादीको महाधिवेशनमा पनि युवाहरूलाई ४०% सिट दिनुपर्छ भनेर जोड गरेको थिएँ। मेरो प्रस्ताव त के छ भने— संविधान संशोधन गरेरै ५५ वटा क्षेत्र महिलाका लागि र निश्चित संख्यामा २८ देखि ४० वर्षका युवाहरूका लागि ‘क्लस्टर’ तोकेर निर्वाचन गरौँ। मन्त्रिपरिषद्मा पनि ४०% युवालाई ल्याउनुपर्छ। यो कुरा म संसदमा पुगेपछि कानुन निर्माणमार्फत लागू गराउन पहल गर्नेछु।
धादिङबाट वैदेशिक रोजगारमा जानेको संख्या ठूलो छ, जिल्लामै रोजगारी सिर्जना कसरी गर्ने ?
-बुढीगण्डकी जस्ता ठूला आयोजना सुरु हुनासाथ दैनिक १ लाख युवाले काम पाउँछन्। त्यसबाहेक धादिङ राष्ट्रिय राजमार्गले जोडिएको ठाउँ हो। यहाँ ढुङ्गा, गिट्टी र बालुवाको परम्परागत व्यापार मात्र छ। हामीले यसलाई आधुनिक उद्योगको रूपमा विकास गर्नुपर्छ। इटाली वा राजस्थानबाट मार्बल ल्याउनुको सट्टा हाम्रै डाँडाका ढुङ्गालाई रिफाइन गरेर सहर सजाउन सकिन्छ। कुनै समय धादिङका ‘स्लेट’ ढुङ्गाले घरका छाना छाइन्थ्यो, हामी त्यस्ता मौलिक उद्योगहरू पुनर्जीवित गर्न सक्छौँ।
कृषि र पर्यटनमा प्रगति हुन नसक्नुको कारण के देख्नुहुन्छ ?
-४० वर्षअघि हामी धान-चामल निर्यात गर्थ्यौँ, आज अर्बौँको आयात गर्छौँ। किसानलाई राज्यले माया नै गरेन। किसानलाई सम्मानजनक ‘परिचय पत्र’ दिनुपर्छ र हरेक सरकारी अड्डामा उनीहरूको कामलाई प्राथमिकता दिनुपर्छ। राज्यले मल, बिउ र बिजुलीमा अनुदान दिनुपर्छ र उत्पादनको ‘समर्थन मूल्य’ तोकिदिनुपर्छ। यदि गोलभेडा वा अन्य उत्पादनको न्यूनतम मूल्य सरकारले ग्यारेन्टी गरिदियो भने ३ खर्ब रुपैयाँ विदेशिनबाट जोगिन्छ। भारतको ‘अमुल’ जस्तै डेरी उद्योगहरूलाई राज्यले टिकाउन मद्दत गर्नुपर्छ। संसदमा मेरो आगामी भूमिका कृषकलाई अनुदान र आधुनिक प्रविधि दिलाउने दबाबमूलक कार्यमा केन्द्रित हुनेछ।
तपाईंले पटक-पटक पार्टी र चुनाव चिह्न परिवर्तन गर्दा मतदाता अन्योलमा छन् नि? के विश्वासमा मत दिने ?
-पार्टी परिवर्तनको कुरा गर्दा, एमाले मैले नै बनाएको संगठन हो। तर जब कुनै घरले आफैँलाई चेप्न थाल्छ र जनहितमा काम गर्न छोड्छ, तब ज्यान जोगाउन र विचार बचाउन बाहिर निस्कनै पर्छ। हामीले हिजो ‘कलम’ चिह्न बनायौँ, तर अहिले देशको राष्ट्रियता र आन्दोलनलाई बलियो बनाउन २०-२२ वटा घटकहरू मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गरेका छौँ।
हिजो माओवादी केन्द्रको ‘हँसिया हथौडा’ र हाम्रो ‘कलम’ चिह्न छोडेर हामी अहिले तारा चिह्न लिएर आएका छौँ। यो अलमल केही दिनका लागि मात्र हो। मलाई लाग्छ, “किन पार्टी बदलिरह्यौ?” भन्ने प्रश्नहरू कतिपय ठाउँमा ‘प्लान्टेड’ (सिकाइएका) पनि हुन्छन्।
जब कुनै घरले आफैँलाई चेप्न थाल्छ, तब ज्यान जोगाउन र विचार बचाउन बाहिर निस्कनै पर्छ । मैले एमालेबाट त्यही गरें ।
तथ्याङ्क हेर्दा समानुपातिकतर्फ तपाईंको पार्टीको मत कमजोर देखिन्छ, यसलाई कसरी सुधार्नुहुन्छ ?
-२०७९ मा हामी प्रत्यक्ष जित्न केन्द्रित थियौँ, त्यसैले समानुपातिकमा खासै जोड दिएनौँ। तर अहिले माओवादी केन्द्र र अन्य घटकहरू मिसिएपछि हाम्रो शक्ति करिब २२ हजारभन्दा माथि पुगिसकेको छ। अहिले संगठन कमजोर छैन, हामी धेरै बलियो भइसकेका छौँ।
सुशासन र सेवा प्रवाहमा तपाईंले गर्ने ‘नयाँ काम’ के हो ?
-मैले मुख्यमन्त्री हुँदा सार्वजनिक यातायातमा ‘क्यासलेस’ (कार्ड) सिस्टम सुरु गर्न खोजेको थिएँ। अब मेरो प्राथमिकता नेपाललाई ‘आईटी फ्रेन्ड्ली’ मुलुक बनाउने हो। मान्छेले अनुहार देखाएर वा चाकरी गरेर काम गराउने प्रथा अन्त्य हुनुपर्छ। घरमै बसेर निवेदन दिने, जग्गा दर्ता गर्ने र प्रमाणपत्रहरू स्वीकृत गराउने डिजिटल प्रणालीको विकासमा मेरो जोड हुनेछ।
जनताले अब अनुभव मात्र होइन, परिणाम खोजिरहेका छन्। तपाईंले दिने परिणाम के-के हुन् ?
-हाम्रो पार्टी ठूलो बनेर सरकारमा गयो भने युवा रोजगारी, कृषिमा आमूल परिवर्तन र शिक्षा क्षेत्रको सुधार हाम्रो पहिलो प्राथमिकता हुनेछ। माटो नछुने अहिलेको ‘कृषि शिक्षा’ बदल्नुपर्छ। हामीले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि, पर्यटन र जलविद्युतलाई एकीकृत रूपमा अगाडि बढाउनेछौँ।
वर्तमान राष्ट्रिय राजनीतिबारे तपाईंको दृष्टिकोण के छ ?
-अहिले राजनीति अत्यन्तै तरल र सङ्कटपूर्ण अवस्थामा छ। संविधान च्यातिएको जस्तै छ, बल्लबल्ल अडिएको छ । तर यो निर्वाचनले जनमतमार्फत नयाँ प्रतिनिधिहरू संसदमा पुर्याएर राष्ट्रलाई नयाँ कोर्समा लैजानेछ भन्ने मेरो विश्वास छ।































प्रतिक्रिया