गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकीमा चुनावको तयारी तीव्र

केन्द्रबिन्दु
12
Shares

गण्डकी। मतदानको दिन आउन नौ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ। सुरक्षादेखि व्यवस्थापकीय प्रबन्धसम्मका कामलाई गति दिइएको छ।

प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ। सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतका कार्यालयहरू अन्तिम तयारीमा जुटेका छन्। मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कर्मचारी व्यवस्थापन र खटनपटनको काम भइरहेको छ। कतिपय जिल्लामा तालिम सम्पन्न भइसकेको छ भने केहीमा सञ्चालनको तयारी छ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार बुधबार र बिहीबार तालिम सञ्चालन गरिनेछ। तालिमपछि फागुन १८ गते कर्मचारी सम्बन्धित मतदानस्थलमा पुग्नेछन्। गण्डकीमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन्। बागलुङमा करिब ९० प्रतिशत तयारी पूरा भइसकेको जनाइएको छ। अब मतदानस्थल केन्द्रित तयारी अघि बढाइनेछ।

प्रदेशका प्रत्येक वडामा एक/एक जना स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा सञ्चालन भइरहेको छ। सही मतदान विधि सिकाई बदर मत घटाउने उद्देश्य राखिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ। हरेक जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको छ। जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी आवश्यक रणनीति बनाएको छ। मतदानस्थलको नियमित अनुगमन भइरहेको जनाइएको छ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालित छन्। नेपाल प्रहरी मतदानस्थलको भित्री घेरामा रहनेछ भने सशस्त्र प्रहरी दोस्रो घेरामा र नेपाली सेना बाहिरी सुरक्षा घेरामा खटिनेछन्।

गण्डकी प्रदेशमा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र छन्। कुल मतदाता संख्या १८ लाख ७० हजार ६५ पुगेको छ। विसं २०७९ को निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए। यस पटक दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका छन्। प्रदेशमा १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्।

Logo