साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

केन्द्रबिन्दु
6
Shares

मुस्ताङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकको हिउँ मंगलबारदेखि पन्छ्याउन सुरु गरिएको छ।

हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरूपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालन गर्न हिउँ हटाउने काम थालिएको वडा कार्यालयले जनाएको छ।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर–पश्चिमतर्फ समुद्री सतहबाट करिब चार हजार ५०० मिटर उचाइमा रहेको साङ्ता गाउँ जिल्लाकै सबैभन्दा पछिल्लो पटक पत्ता लागेको बस्ती मानिन्छ। यहाँ ३९ जना मतदाता छन्। गाउँमा रहेको हिमाली आधारभूत विद्यालय मतदान केन्द्र जोमसोमबाट करिब ४० किलोमिटर टाढा पर्छ।

भौगोलिक रूपमा विकट साङ्ता गाउँका अधिकांश बासिन्दा जाडो छल्न मङ्सिरअघिनै गाउँ छोडेर जोमसोम आसपासका बस्तीमा आफन्तकहाँ बसेका छन्। केही पोखरा र काठमाडौं झरेका छन्। गाउँमा पशुचौपाया हेर्ने गोठालाबाहेक अन्य घरमा ताला लगाइएको छ।

साङ्तामा १३ घरधुरी मात्रै छन्। सामान्यतया यहाँका बासिन्दा चैत–वैशाखमा गाउँ फर्कने गर्छन्। तर, यसपटक निर्वाचनमा मतदान गर्न फागुन २१ अगावै गाउँ पुग्नुपर्ने अवस्था छ।

केही दिनअघि जिल्ला सुरक्षा समितिको टोली मतदान केन्द्रको अवलोकनका लागि जाँदा हिउँका कारण आधा बाटोबाटै फर्किएको थियो। अधिकांश मतदान केन्द्रको स्थलगत अनुगमन भए पनि साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र भने सडक अवरुद्ध हुँदा अनुगमन हुन सकेको छैन।

Skip This
Skip This
Logo