काठमाडाैं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू आफ्नो–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् । यहीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र साह (बालेन)लाई भावी प्रधानमन्त्रीको उम्मेदवार तथा पार्टीको दोस्रो वरियताको नेताका रूपमा अगाडि सारेपछि नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । बालेनको औपचारिक प्रवेशले रास्वपामा ऊर्जा थपिएको देखिन्छ । सडक–सभादेखि सामाजिक सञ्जालसम्म उनको लोकप्रियता उकालो लागेको छ । अर्कोतर्फ, पार्टीका सभापति रवि लामिछाने विभिन्न कानुनी जटिलता र स्वास्थ्य समस्याका कारण पूर्ववत् सक्रिय देखिँदैनन् । सहकारी प्रकरणले उनलाई लामो समय प्रतिरक्षात्मक अवस्थामा राख्यो, जसको प्रभाव पार्टीको आन्तरिक शक्ति–सन्तुलनमा समेत परेको छ ।
अहिले धरौटीमा रिहा भएपछि सभापति लामिछाने पार्टीको राजनीतिमा सक्रिय छन् र निर्वाचन पनि लडदैछन् । २०७९ सालको आम निर्वाचनअघि स्थापना भएको रास्वपा मुख्यतः लामिछानेको व्यक्तिगत लोकप्रियतामै उभिएको पार्टी थियो। पार्टीले सफलता पाउनुको मुख्य कारण उनको व्यक्तिगत लोकप्रियता नै हो । त्यसैले जेलमा रहँदा पनि उनले पार्टीको सभापति छोडेनन्, कार्यवाहक जिम्मेवारी समेत अरुलाई दिन चाहेनन् । तर, समयक्रमसँगै पार्टीभित्र नयाँ नेतृत्व उदाउने संकेत देखिएका छन्। यही सन्दर्भमा प्रश्न उठ्छ- के एउटै राजनीतिक मञ्चमा दुई उच्च महत्वाकांक्षी र लोकप्रिय व्यक्तित्व दीर्घकालीन रूपमा सहकार्य गर्न सक्छन् ? वा शान्त सतहभित्र ‘शीतयुद्ध’को सम्भावना पनि छ ?
वैचारिक आधारको अभावः द्वन्द्वको सम्भावना न्यून
रास्वपाको कुनै स्पष्ट वैचारिक धार छैन । न त यो परम्परागत वाम–दक्षिण ध्रुवीकरणमा उभिएको दल हो, न त यसले स्पष्टरुपमा सामाजिक–आर्थिक दर्शन प्रस्तुत गरेको छ । यसको मूल एजेण्डा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियान हो । बालेन र रवि दुवैको राजनीतिक भाषा ‘सिस्टम परिवर्तन’ र ‘दण्डहीनताको अन्त्य’ वरिपरि घुम्छ । त्यसैले कम्युनिष्ट वा काँग्रेसभित्र देखिने प्रकारको वैचारिक विभाजन यहाँ तत्कालै देखिने सम्भावना न्यून छ । वैचारिक रेखाभन्दा व्यक्तित्व–आधारित राजनीति हाबी भएकाले प्रारम्भिक चरणमा द्वन्द्वको जोखिम कम देखिन्छ ।
समान एजेण्डा, समान शैली
दुवै नेताले भ्रष्टाचारविरुद्ध कठोर भाषा प्रयोग गर्दै आएका छन्। राज्यका निकायहरूलाई दवावमार्फत काम गर्न बाध्य बनाउने शैली उनीहरूमा समान देखिन्छ । यही ‘एण्टी–एस्ट्याब्लिसमेन्ट’ छविले उनीहरूलाई युवापुस्तामा लोकप्रिय बनाएको हो। तर यही समानता भविष्यमा प्रतिस्पर्धाको कारण पनि बन्न सक्छ । जब एजेण्डा एउटै हुन्छ, त्यसको श्रेय कसले लिन्छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । त्यसैगरी दुवैको आधारभूमि पनि एउटै हो– परम्परागत राजनीतिक दलहरुसँथ वाक्कदिक्क भएका युवाहरुले दुवैलाई मन पराउँछन् । त्यही युवा भोली रवी र बालेनको पक्षमा विभाजित हुनसक्छन् ।
सम्भावित द्धन्द्धका कारणहरु–
पार्टी नेतृत्वको प्रतिस्पर्धा
रास्वपाको औपचारिक महाधिवेशन भइसकेको छैन। हाल पार्टी नेतृत्व रवि लामिछानेकै हातमा छ। तर बालेनको लोकप्रियता र जन–आधार निरन्तर विस्तार हुँदै गयो भने भविष्यमा पार्टी अध्यक्षको दौडमा उनी स्वाभाविक दावेदार बन्न सक्छन्।महाधिवेशनको क्षण नै शक्ति–सन्तुलन परीक्षणको थलो बन्न सक्छ । यदि बालेन पक्षले संगठनात्मक रूपमा गुट निर्माण गर्यो भने आन्तरिक प्रतिस्पर्धा तीव्र हुन सक्छ । हुन पनि बालेन समूहले अब आन्तरिक रुपमा संगठन निर्माणमा लाग्नसक्छन जसले रवी पक्षलाई शशंकित बनाउन सक्छ ।
प्रधानमन्त्री पदको आकांक्षा
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ । हालका कानुनी जटिलताका कारण रवि लामिछाने स्वयं प्रधानमन्त्रीको दाबी गर्ने अवस्थामा देखिँदैनन्। तर भविष्यमा परिस्थितिमा परिवर्तन आयो भने नेतृत्व–दाबीको प्रश्न पुनः उठ्न सक्छ । किनकी भोली रवीको मुद्धा फिर्ता भयो भने उनले प्रधानमन्त्री पद पक्कै छोड्दैनन् । संसदीय राजनीतिमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबीच सन्तुलन जोगाउन नसक्दा नेपालमा विगतमा पनि अस्थिरता देखिएको छ । २००७ सालपछिको सत्ता–संघर्षदेखि लिएर २०५० दशकका सरकार परिवर्तन र पछिल्लो केपी शर्मा ओली नेतृत्वकालीन नेपाल कम्युनिष्ट पार्टीको विभाजनसम्म यसका केही उदाहरण हुन् ।
सरकार र पार्टीबीचको शक्ति–सन्तुलन
यदि रास्वपा सरकार गठनको स्थितिमा पुग्यो र बालेन प्रधानमन्त्री बने, तर पार्टी संगठन रवि लामिछानेकै नियन्त्रणमा रह्यो भने दुईवटा पावर सेन्टरको को अवस्था सिर्जना हुनसक्छ । नेपालमा पार्टी र सरकारबीच समन्वय अभाव हुँदा सरकार ढल्ने परम्परा पुरानै हो। जुन रोगले बालेन र रविलाई पनि गाँज्नसक्छ । नेपालको इतिहासमा सरकार र पार्टीको बिचमा समन्वय हुन नसक्दा द्धन्द्धको बिउ रोपिएका उदाहरणहरु छरपष्ट छन् ।
निर्वाचनपछिको गठबन्धन राजनीति
बहुमत नआएको अवस्थामा कससँग गठबन्धन गर्ने भन्ने प्रश्न निर्णायक हुन्छ । रवि लामिछाने व्यावहारिक राजनीतिक समझदारीतर्फ झुक्न सक्छन्, तर बालेनको ‘एण्टी–सिस्टम’ छविले परम्परागत दलहरूसँग सहकार्य गर्न हिच्किचाहट देखाउन सक्छ । यही रणनीतिक असहमति द्वन्द्वको बीउ बन्न सक्छ । त्यतिवेला पार्टीमा विभाजन आउनसक्छ । कोसँग गठबन्धन गरेर सरकार निर्माण गर्ने वा नगर्ने सम्बन्धमा द्धन्द्ध हुनसक्छ ।
सहकार्य कि प्रतिस्पर्धा ?
हालको अवस्थामा रवि र बालेनबीच खुला द्वन्द्व देखिँदैन। दुवैको साझा लक्ष्य पार्टीलाई सुदृढ बनाउनु र आगामी निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्नु नै हो। तर दीर्घकालीन रूपमा नेतृत्व, शक्ति–सन्तुलन र महत्वाकांक्षाको प्रश्न भने उठ्नेछ । राजनीतिमा व्यक्तित्व–केन्द्रित दलहरू प्रायः शक्ति–संघर्षका कारण कमजोर भएका उदाहरण धेरै छन्। रास्वपाको भविष्य पनि यही प्रश्नमा निर्भर रहनेछ—के यसले संस्थागत संरचना बलियो बनाउँछ, वा व्यक्तित्व–प्रतिस्पर्धाको जालमा अल्झिन्छ ? अन्ततः, एउटै जंगलमा दुई सिंह बस्न नसक्ने भन्ने उक्ति राजनीतिमा सधैं सत्य हुँदैन। तर ती दुई सिंहले आफ्नो क्षेत्र, भूमिका र दायित्व स्पष्ट रूपमा निर्धारण गर्न सकेनन् भने शीतयुद्धको सम्भावना भने सधैं रहिरहन्छ ।































प्रतिक्रिया