सरकारको ध्यान निर्वाचनमा केन्द्रित

सरकारको ध्यान निर्वाचनमा केन्द्रित

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सहरी विकासमन्त्री कुमार इङ्नामले सरकारको ध्यान निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।

प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राज्य र समाजप्रति उत्तरदायी भई निर्वाचनमैत्री वातावरण बनाउन सञ्चार क्षेत्रलाई आह्वान गरे। उनका अनुसार स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सञ्चार क्षेत्रबाट सहयोग भइरहेको छ र मौन अवधिसम्बन्धी जानकारी प्रवाह तथा आचारसंहिता पालना गराउन थप सहयोग अपेक्षित छ।

भण्डारीले मौन अवधिमा उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत आर्थिक गतिविधि गरेमा उम्मेदवारी खारेजदेखि छ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको जानकारी दिए।

प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्माले आमसञ्चार माध्यमको हकअधिकार र पत्रकार आचारसंहिताको पालना सम्बन्धी काउन्सिलको भूमिकाबारे जानकारी दिए। नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनमा सञ्चारकर्मी संवेदनशील हुनुपर्ने बताए।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि फागुन १८ गते राति १२ बजेदेखि लागू हुनेछ। यो अवधि मतदान सम्पन्न नभएसम्म कायम रहनेछ। मौन अवधिमा मत माग्न, भेला गर्न र छलफल गर्न पाइँदैन। उम्मेदवार र राजनीतिक दलले मौन अवधिको पालना गर्नुपर्ने आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनु अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्नेछ। छोटा सन्देश (एसएमएस), सामाजिक सञ्जाल, भाइबर लगायत विद्युतीय माध्यमबाट मत माग्न पाइँदैन। उम्मेदवार वा दलको प्रचार हुने समाचार वा सूचना प्रकाशन–प्रसारण गर्न पनि रोक लगाइएको छ।

बिहीबार हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। यस प्रणालीअन्तर्गत तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार छन्। समानुपातिक प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुनेछ।

यस निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम रहेको आयोगले जनाएको छ।

Skip This
Skip This
Logo