बझाङ । नेकपा एमालेका ऐन महर बझाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका प्रकाश रसाइली लाई २ हजार २२९ मतान्तरले पराजित गर्दै दोस्रो प्रयासमा संसद् यात्रा तय गरेका हुन्।
निर्वाचन परिणाम अनुसार रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कुल ५७ हजार ९९४ मत खसेको थियो। अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवरले ९ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेसकुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका छन्।
चुनावअघि एमालेभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि देखिए पनि अन्ततः नेता–कार्यकर्ताको एकताले महरको पक्षमा माहोल बनेको विश्लेषण गरिएको छ।
विद्यार्थी राजनीतिबाट उदाएका महरले अनेरास्ववियु मार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। संगठनको विभिन्न जिम्मेवारी सम्हाल्दै उनी अध्यक्षसम्म बनेका थिए भने एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका छन्।
निर्वाचनपछि आयोजित विजय सभामा महरले यो जित व्यक्तिगत नभई बझाङका जनताको जित भएको बताएका छन्। उनले सडक, सञ्चार, जलविद्युत्, पर्यटन तथा कृषि विकासमार्फत जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।































प्रतिक्रिया