महावीरको संसद याात्रा

महावीरको संसद याात्रा

केन्द्रबिन्दु
18
Shares

म्याग्दी। सामाजिक अभियन्ताका रूपमा परिचित महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन्। हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो। अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले गत माघ ४ गते पदबाट राजीनामा दिएर जन्मथलोबाट चुनाव लडेका थिए।

अमेरिकाको ‘नेब्रास्का युनिभर्सिटी’बाट विसं २०४९ मा स्नातकोत्तर गरेका पुनको म्याग्दीमा सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा उल्लेखनीय योगदान रहेको अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माविका प्रअ प्रदीप पुनले बताएका छन्। विसं २०५८–६४ को समयमा पोखरा, काठमाडौँलगायत सहरमा सहज रूपमा कम्प्युटर र इन्टरनेट सुविधा उपलब्ध नभएको अवस्थामा पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयमा कम्प्युटर शिक्षाको सुरुआत र ताररहित इन्टरनेट सुविधा विस्तार गरेका थिए।

ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तारमा योगदान गरेबापत सन् २००७ मा एसियाको नोबेल पुरस्कारका रूपमा चिनिने ५० हजार डलर राशिको म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए। चौरीपालन, माछापालन र तरकारी खेतीमार्फत ग्रामीण क्षेत्रका विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने अवधारणा विकास गरेका पुनको अगुवाइमा अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग तथा नागी, मोहरेडाँडा, टिकोट, डाँडाखर्क र खोप्रा लेकमा सामुदायिक लज सञ्चालन भएका छन्। चौरी र सामुदायिक लजबाट प्राप्त आम्दानी विद्यालय सञ्चालनमा प्रयोग हुँदै आएको छ।

पुनको पहलमा विसं २०६० को दशकमा टेलिमेडिसिन सेवा सञ्चालन गरी गाउँका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई सहरका चिकित्सकसँग परामर्शमा सेवा दिने अभ्यास सुरु गरिएको थियो। नागीमा नेपाली हाते कागज उद्योग पनि सञ्चालन गरिएको थियो।

उनले नेतृत्व गरेको हिमालयन संरक्षण संस्थाले नागी, बरङजा, झिँलगायत स्थानमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन र वृक्षरोपण गर्दै आएको छ। राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवा वैज्ञानिकलाई प्रोत्साहन र सहयोग गर्न व्यक्तिगत रूपमा लेखनाथ र पोखरामा रहेको २८ रोपनी जग्गा बिक्री गरेर स्रोत जुटाएका थिए। आफ्नै जीवनकथाको पुस्तक बिक्रीबाट प्राप्त करिब १२ करोड रुपैयाँ वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा प्रयोग गरेका छन्।

पुनले सन् २००२ मा अशोका फेलोसिप, २००७ मा रोमन म्यागासेसे पुरस्कार, इन्टरनेट हल अफ फेम, नेपाल सरकारबाट भवन कृतिरत्नसहित १० लाख रुपैयाँ नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गरेका छन्।

पुनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि र व्यक्तित्वले परिवर्तनको खोजीमा रहेका म्याग्देली मतदाताको मन जित्दै राजनीतिक दलको संगठनात्मक शक्तिलाई पछि पारेर फराकिलो मतान्तरसहित ऐतिहासिक जित हासिल गरेको म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विष्णुप्रसाद आचार्यले बताएका छन्।

एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पराजित गर्दै पुनले २२ हजार ८५० मतसहित विजय हासिल गरेका छन्। “राजनीतिक कार्यकर्ताको दबदवा, नेता–कार्यकर्तासँगको सम्बन्ध र पुराना राजनीतिक सञ्जालका कारण मतदाता खुल्न नसक्ने अनुमान गरिएको थियो,” सहायक प्राध्यापक आचार्यले भने, “तर यसपटक लोभ, आश्वासन, डर, धम्की र भ्रमले अपेक्षाकृत प्रभाव नपार्दा महावीरको जित सहज बनेको देखियो।”

महावीरको जितले म्याग्दीमा राजनीतिक दल र नेताहरूलाई समाजमा कार्यकर्ता बाहेक पनि मतदाता रहेको सन्देश दिएको आचार्यले बताएका छन्। अब गठन हुने प्रतिनिधिसभामा दलविहीन सांसदका रूपमा पुन मात्र निर्वाचित भएका छन्।

पुनले विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षामा देखिएको राजनीतिकरण तथा स्वार्थ समूहको प्रभाव अन्त्य गर्दै शैक्षिक सुधारका लागि नीति निर्माणमा पहल गर्ने बताएका छन्।

सामान्य शैलीमा मतदातासँग अनौपचारिक संवाद तथा सामाजिक सञ्जालमार्फत चुनाव प्रचार गरेका पुनले विजय उत्सवका नाममा तडकभडक प्रदर्शन र अनावश्यक खर्च नगर्न अनुरोध गरेका छन्। फरक शैलीको चुनाव प्रचार र मतदाताबाट आर्थिक सहयोग संकलन गरेको विषयले पनि चर्चा पाएको छ।

Logo