रसुवामा नौ जनाको धरौटी जफत

रसुवामा नौ जनाको धरौटी जफत

केन्द्रबिन्दु
0
Shares

रसुवा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका नौ जनाको धरौटी जफत भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार छ दल र तीन स्वतन्त्र उम्मेदवारको धरौटी जफत भएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ अनुसार नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावा मिङ्मर तामाङ र नेकपा माओवादी (विप्लब) का होमप्रसाद आचार्यको धरौटी जफत भएको छ।

यसैगरी स्वतन्त्रतर्फ चित्रकुमारी देवकोटा, मिङ्मर तामाङ र सागर लामाको पनि धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए।

सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकामा सो प्रतिशत मत नपुगेपछि धरौटी जफत भएको हो। जफत भएको रकम राज्यकोषमा जम्मा हुने जनाइएको छ।

नियमानुसार महिला उम्मेदवारले पुरुषको तुलनामा ५० प्रतिशत कम शुल्क बुझाउने व्यवस्था छ। रसुवाबाट महिला उम्मेदवारका रूपमा एकमात्र चित्रकुमारी देवकोटाले पाँच हजार र अन्य पुरुष उम्मेदवारले प्रतिव्यक्ति १० हजारका दरले बुझाएको रकममध्ये कुल ९५ हजार रुपैयाँ राज्यकोषमा जाने भएको छ।

रसुवामा नौ दल र तीन स्वतन्त्र गरी कुल १२ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्। धरौटी फिर्ता पाउनेमा रास्वपाका वसन्त भट्ट र नेकपा एमालेका प्रेम तामाङ छन्।

निर्वाचन ऐनअनुसार सबै उम्मेदवारलाई चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउन आइतबार पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले जानकारी दिए।

Logo