काठमाडौं। रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापाले ठूलो मतान्तरसहित प्रतिनिधिसभा निर्वाचन जितेका छन्। उनको जीत यति भारी रह्यो कि प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारको जमानत जफत भएको छ।
यस क्षेत्रमा करिब ९० हजार मत सदर भएको थियो। निर्वाचन नियमअनुसार जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत आवश्यक पर्छ। तर दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत मात्र पाए। तेस्रो स्थानका नेकपा एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरे।
डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनीबाहेक प्रतिस्पर्धामा रहेका अन्य ३५ उम्मेदवारले आवश्यक मत नपुगेकाले सबैको जमानत जफत भएको छ।
यो नतिजासँगै डा. थापाले नेपालको संसदीय निर्वाचनमा ठूलो मतान्तरले जित्ने नयाँ कीर्तिमान पनि कायम गरेका छन्। उनले दोस्रो स्थानका उम्मेदवारलाई ५० हजार ३७० मतले पछि पार्दै जीत हात पारे।
यसैबीच देशभर सबैभन्दा धेरै मत ल्याएर निर्वाचित हुने उम्मेदवार भने रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाह बने। उनले ६८ हजार ३४८ मत प्राप्त गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मत अन्तरले पराजित गरेका छन्।





























प्रतिक्रिया