काठमाडौं । रास्वपाका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेन शाहले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्न गएको पितृशोकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश प्रवाह गर्दै शाहले भनेका छन्, “पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन । पात्र एक, भूमिका अनेक।”
केही समयअघि मात्र आफ्नै पिता गुमाएका शाहले आफ्नो व्यक्तिगत पीडा र अनुभवलाई जोड्दै पिताको अभावले जीवनमा ल्याउने रिक्तताको चर्चा गरेका छन् । उनले भनेका छन्, “मलाई महसुस छ—पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।”
शाहले शोकको यस घडीमा अध्यक्ष ओली र उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत पिताजीको आत्माको शान्तिको कामना गरेका छन् । उनले भने, “पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।”
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो ।































प्रतिक्रिया