काठमाडौं। निर्वाचनको नतिजाले नेपाली कांग्रेसलाई केवल हराएको छैन, झस्काएको छ । कांग्रेसको जरै हल्लाईदिएको छ । यही झट्काको केन्द्रमा छन् सभापति गगन थापा । बद्लियो कांग्रेस बदल्छौँ देश भनेर विशेष महाधिवेशन पश्चात सभापति सम्हालेर चुनावी मैदानमा उत्रिएका थापा लज्जासस्पद पराजयपछि अन्ततः पद छाड्ने निर्णय लिएर पार्टीभित्र नयाँ समीकरणको ढोका खोलिदिएका छन् ।
थापाको राजीनामा केवल ‘नैतिक जिम्मेवारी’को औपचारिक कदम मात्र नभएर यो कांग्रेसभित्र चलिरहेको शक्ति संघर्षको नयाँ चरणको संकेत मान्न सकिन्छ। विशेष महाधिवेशनमार्फत स्थापित नेतृत्व, पुरानो गुटसँगको टकराव, र त्यसैबीच आएको चुनावी पराजय यी तीनवटै कारकले अहिले थापा र समग्र पार्टीलाई नै अनिश्चित मोडमा पु¥याएका छन् ।
भृकुटीमण्डपमा गरिएको विशेष महाधिवेशनले देउवा युगलाई विस्थापित गर्दै थापालाई अगाडि ल्याएको थियो । तर त्यो प्रक्रिया सुरुदेखि नै विवादित रह्यो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले नेतृत्वको वैधानिकतामाथि प्रश्नचिन्ह कायमै राखेको छ । त्यसमाथि, महाधिवेशनबाट ‘रूपान्तरण’को नारा दिएर चुनावमा गएको कांग्रेस अपेक्षाविपरीत कमजोर परिणाममा सीमित भयो ।
‘ बद्लियो कांग्रेस बदल्छौँ देश ’ को महत्वाकांक्षी नारा लिएर मैदानमा उत्रिएको कांग्रेस ३८ सिटमा खुम्चिनु हारमात्र नभएर रणनीतिक असफलता पनि हो । अझ, स्वयं सभापति थापा आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनु प्रतीकात्मक रूपमा ठूलो धक्का बनेको छ । यसले नेतृत्वको विश्वसनीयता मात्र होइन, नयाँ प्रयोगको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ ।
यही सन्दर्भमा आएको थापाको राजीनामा पार्टीभित्र दुई धारलाई झन् स्पष्ट बनाउने देखिन्छ । एकथरी यो कदमलाई जिम्मेवारीबोधको संकेत मानिरहेका छन् भने अर्काथरी यसलाई असफल प्रयोगको स्वीकृति ठानिरहेका छन् ।
अबको केन्द्रीय कार्यसमिति बैठक निर्णायक हुनेछ । त्यहाँ राजीनामा स्वीकृत गर्ने कि थापालाई नै सुधारको अर्को मौका दिने भन्ने बहस मात्र होइन, पार्टीको आगामी मार्गचित्र पनि तय हुनेछ ।
अर्कोतर्फ, देउवा समूहको मौनता र भौतिक अनुपस्थितिले स्थति अझ जटिल बनाएको छ । नेतृत्वविहीन जस्तो देखिएको संस्थापन पक्ष कुन रणनीतिमा उत्रिन्छ भन्ने अझै स्पष्ट छैन । तर, यो निश्चित छ-थापाको बहिर्गमनले उनीहरूलाई पुनः सक्रिय हुने अवसर दिएको छ ।
अब कांग्रेसको अगाडि दुई बाटा छन्या- त छिटो महाधिवेशन गरेर संगठनलाई पुनर्गठन गर्ने, या आन्तरिक द्वन्द्वलाई थप लम्ब्याएर झन् कमजोर बन्ने । वैशाख–जेठभित्र महाधिवेशन गर्ने चर्चा चलिरहेको छ, तर त्यसका लागि सबै गुटलाई एक ठाउँमा ल्याउनु सबैभन्दा ठूलो चुनौती हुनेछ ।
जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक तरंग, रास्वपाको उदय र पुराना दलप्रतिको अविश्वास यी सबैले कांग्रेसलाई पहिलेको राजनीति भन्दा बाहिर निस्कन बाध्य बनाएको छ । तर, परिवर्तनको नारा बोकेर आएको नेतृत्व नै परिणाम दिन नसकेपछि अहिले प्रश्न सीधा छ—कांग्रेस आफैं बदलिन सक्छ कि फेरि पुरानै चक्रमा फर्किन्छ?
थापाको राजीनामाले यो बहसलाई टुंग्याएको छैन, बरु अझ तीव्र बनाएको छ । अब निर्णय केवल उनको मात्र नभएर पार्टीको अस्तित्व र भविष्यसंग जोडिएको छ ।































प्रतिक्रिया