कर्णाली। कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान सञ्चालन गर्ने विषयमा छ बुँदे संकल्पपत्र पारित गरिएको छ । प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गत सातौँ अधिवेशनको शुक्रबार बसेको छैटौँ बैठकले उक्त संकल्पपत्र पारित गरेको हो । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले संकल्पपत्र सभामा प्रस्तुत गरेका थिए ।
संकल्पपत्रमाथिको छलफलमा प्रदेशसभा सदस्य टेकराज पछाइ र उर्मिला विश्वकर्माले ढिलो भए पनि राम्रो कामको सुरुआत भएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले उठेका विषयमा जवाफ दिएपछि संकल्पपत्र सर्वसम्मत रूपमा पारित गरिएको हो ।
बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेश सरकारले सबै जिल्लामा समान रूपमा भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे । उनले प्रदेश सरकारका कामकारबाहीका कारण प्रदेश खारेजको प्रश्नसमेत उठ्ने गरेको बताए । साथै, सरकारले आफ्नै नीति तथा कार्यक्रमअनुसार बजेट कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
यसै बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिएका थिए । उनले सेवा लिने र दिनेबीचको सम्बन्धलाई सहज र मित्रवत बनाउन प्रयास भइरहेको बताएका छन् ।
त्यसैगरी, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको छ । उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य रनसिंह परियार, टेकराज पछाइ र जीतबहादुर मल्लले धारणा राखेका थिए ।





























प्रतिक्रिया