धनगढी। नेकपा एमाले सुदूरपश्चिममा आन्तरिक विवाद बढ्दै जाँदा प्रदेश संसदीय दलको नेतृत्व परिवर्तनको विषय उठ्न थालेको छ । राजनीतिक नियुक्तिका विषयमा असन्तुष्टि बढेपछि प्रदेश कमिटीले दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टी केन्द्रको ध्यानाकर्षण गराएको छ । नेताहरुले नियुक्ति प्रक्रियामा समन्वय नहुनु र एकल निर्णय भएको आरोप लगाएका छन् ।
यही विवादबीच रावलसँग असन्तुष्ट समूहले दबाब बढाउन थालेको छ । केही कार्यकर्ताले त दलको कार्यालयमै तालाबन्दीसमेत गरेका छन् । रावलले भने आरोप अस्वीकार गर्दै नियुक्ति प्रक्रिया पार्टीकै सहमतिमा अघि बढेको दाबी गरेका छन् । स्वास्थ्य समस्याका कारण केही समय सम्पर्कमा नरहेको उनको भनाइ छ ।
विवाद बढेसँगै दलको नेतृत्वमा नयाँ अनुहार ल्याउने विषयमा पनि छलफल सुरु भएको छ । स्रोतका अनुसार केही सांसदहरु नयाँ नेतृत्वको पक्षमा खुलेका छन् । हाल दलको नेतामा उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सांसद धर्मराज पाठकको नाम चर्चामा रहेको छ । अन्तिम निर्णय भने पार्टी केन्द्रको निर्देशनपछि हुने देखिन्छ ।
एमाले सुदूरपश्चिममा देखिएको यो आन्तरिक विवादले प्रदेश राजनीतिमा नयाँ मोड ल्याउन सक्ने आकलन गरिएको छ ।





























प्रतिक्रिया