यस्ता छन्, प्रधामन्त्री ओली र राष्ट्रपति भण्डारीले दिएका शहीद दिवसकाे सन्देश

यस्ता छन्, प्रधामन्त्री ओली र राष्ट्रपति भण्डारीले दिएका शहीद दिवसकाे सन्देश

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् ।

शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने-“सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकांक्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ”, सन्देशमा उनले भनेका छन्, “हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ । हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।”

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, “शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।”

शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपतिले भनेकी छन्, “शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने मैले विश्वास लिएको छु ।”

देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन शहीद दिवसले सबैलाई हौसला दिने राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

Logo